अपाङ्गता भएकाप्रति अझै किन हेयदृष्टि ?

अपाङ्गता भएकाप्रति अझै किन हेयदृष्टि ?


✍ तिलक बटाला

अपाङ्गता भएका ब्यक्तिहरू गरिबीबाट बढी प्रभावित भएका छन् । उनीहरूलाई हेरिने सामाजिक दृष्टकोण फरक हुनु नै यसको मुल कारण हो । व्यक्ति-व्यक्तिबीचको असमानता राज्य समाज समुदाय र परिवारका विभेदकारी असमान नीति तथा व्यवहारका कारण अपाङ्गता भएका ब्यक्तिले गरिवीको थप भार सहनु परेको छ । अपाङ्गता भएका कारण उनीहरूले राज्यको स्रोत, साधन तथा अवसरको उपभोग र सदुपयोग गर्नबाट वञ्चित हुने हो भने व्यक्तिको क्षमता विकासमा अत्यन्त नकारात्मक प्रभाव पर्छ नै !

नेपालमा बेरोजगारीको समस्या विकाराल बन्दै गएको छ, त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू समानुपातिक रूपमा बढी प्रभावित छन् । अपाङ्गता भएका ब्यक्तिमध्ये करिव ९० प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको अनुमान छ । त्यसले गर्दा दैनिक जीवनमा आइपर्ने सबै अवसर सेवा-सुविधाबाट उनीहरू वञ्चित छन् ।

अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टकोण :

अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैन र उनीहरूलाई सबैले दया गर्नुपर्छ भन्ने नकारात्मक धारणा वा अन्धविश्वास नेपाली समाजमा गडेको छ । सामाजिक मूल्य-मान्यता बन्न पुगेको यस भ्रमलाई अझै हटाउन सकिएको छैन । अपाङ्गता भएका व्यक्तिहरू अझै पनि आर्थिक, सामाजिक, राजनीतिक, भौतिक, सांस्कृतिक, नागरिक लगायत अधिकार प्रयोग गर्नबाट वञ्चित छन् ।

कतिपय यस्ता ठाउँ छन् जहाँ अपाङ्गता भने शब्द नै पहिचानमा आउन सकेको छैन । यस विषयले संघ, प्रदेश र स्थानीय तहसामु प्रश्न खडा गरेको छ । समावेशी विकाशका लागि राज्य स्थानीय निकायले व्यवहारमा ध्यान दिनु जरुरी छ । एउटा सामाजिक परम्परागत अवधारणालाई नबुझिकन हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिलाई धर्म र सांस्कृतिक सामाजिक मूल्य–मान्यता र रीतिरिवाजको आधारमा ब्याख्या गर्छ । जसअनुसार उनीहरूलाई समाजमा कमजोर वर्ग, केही गर्न नसक्ने, अरूको सहयोग र दानमा मात्र बाँच्न बाध्य दयाको पात्रको रूपमा व्याख्या गरिन्छ । यस अवधारणाले अपाङ्गता अवस्था भएका व्यक्तिको शारीरिक वा मानसिक अवस्थासँग मात्र जोडेर व्याख्या गर्ने भएको हुनाले अपाङ्गता भनेको व्यक्तिले भोग्ने व्यक्तिगत समस्या नियमित वा भाग्यको खेल हो भने प्रतिक्रिया प्राप्त हुँदै आइरहेका छन् । त्यसैले यस अवधारणालाई अपाङ्गता अवस्था भएका व्यक्तिलाई समाजमा अरुसरह सक्रिय सदस्यको रुपमा सामाजिक समावेशी र सहभागितामूलक तथा समावेशीमुलक प्रतिनिधित्व गरेका देखिँदैनन् ।

अपाङ्गता अवस्थाका व्यक्तिको कसरी पहिचान गर्ने ?

अपाङ्गता अवस्था भएका व्यक्तिहरूको पहिचानका लागि नेपाल सरकारले गरेको परिभाषा र वर्गीकरणलाई बुझ्नु जरूरी हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अवधारणालाई नबुझिकन अपाङ्गता भएका ब्यक्तिहरूसँग कसरी घुलमिल र काम गर्ने अनि उनीहरूका लागि के गर्ने भने विषयमा थाहा पाउन सकिँदैन ।

सरकारले अपाङ्गताको परिभाषा र वर्गीकरण गर्न थालेको सन् २०३९ सालदेखि हो । अपाङ्गताको परिभाषा र वर्गीकरणलाई नेपाल सरकारले समयसापेक्ष परिवर्तन गर्दै आइरहेको छ । सन् २०३९ पछि २०६३ र त्यसपछि २०७४ सालमा नेपाल सरकारले अपाङ्गताको परिभाषा र वर्गीकरणमा संशोधन वा परिमार्जन गरेको छ । नेपाल सरकारले गरेको सबैभन्दा पछिल्लो परिभाषा अपाङ्गता भएका व्यक्तिको अधिकार महासन्धि २००६ सँग धेरै हदसम्म नजिक रही सोहीबमोजिम कार्यान्यन गर्दै आइरहेको छ ।

अपाङ्गता भएका अवस्थाको बारेमा सबैलाई थाहा हुन जरूरी छ अपाङ्गताको वर्गीकरण हरेक राष्ट्र वा देशअनुशार फरक हुन्छ, तर नेपाल सरकारले अपाङ्गता अवस्था भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गतालाई प्रकृतिको आधारमा दश प्रकारमा र गम्भीरताको आधारमा चार प्रकारमा विभाजन गरेको छ । शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्तिलाई समेटिन्छ ।

१. शारीरिक अपाङ्गता : स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवम् सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तै- बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्डसम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डीसम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।

२. दृष्टिसम्बन्धी अपाङ्गता : दृष्टिसम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने,

(क) दृष्टि विहीनता : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुबै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३/६०) मा पढ्न नसक्ने व्यक्ति ।
(ख) न्यून दृष्टियुक्त : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सका प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६/१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीन : पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।

३. सुनाइसम्बन्धी अपाङ्गता : सुनाइका अङ्गको बनावट एवम् स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति ।
(क) बहिरा : असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति । (ख) सुस्तश्रवण : सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।

४. श्रवण दृष्टिविहीन अपाङ्गता : सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।

५. स्वर र बोलाइसम्बन्धी अपाङ्गता : स्वर र बोलाइ सम्बन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहो¥याउने व्यक्ति ।

६. मानसिक वा मनोसामाजिक अपाङ्गता : मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।

७. बौद्धिक अपाङ्गता : उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)

८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता : अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।

९. अटिज्मसम्बन्धी अपाङ्गता : जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोऱ्याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)

१०. बहुअपाङ्गता : एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको व्यक्ति । (जस्तै– मस्तिष्क पक्षघात आदि)
माथि प्रस्तुत गरिएका हरेक प्रकृतिका आधारमा फरक हुन्छन् भने गम्भीरताको अवस्थाका आधारमा नेपाल सरकारले अपाङ्गतालाई पुर्ण अपाङ्गता, मध्यम अपाङ्गता, अतिअसक्त अपाङ्गता, सामान्य अपाङ्गता गरी चार भागमा विभाजन गरेको छ ।

(१) पूर्ण अशक्त अपाङ्गता : आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।

(२) अति अशक्त अपाङ्गता : वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।

(३) मध्यम अपाङ्गता : भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।

(४) सामान्य अपाङ्गता : सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।

उल्लिखित संवैधानिक तथा कानुन प्रावधानका आधारमा जे–जस्ता लेखिएता पनि हाम्रो समाजमा अपाङ्गता अवस्थाको बारेमा जानकारी छैन जो-कोही वा सम्बन्धित व्यक्तिलाई मात्र थाहा हुने र अविभावक ज्युहरू बाट आफ्नो बालबालिका अथवा जो कोही अपाङ्गता छ भने एक बाट अर्काे व्यक्तिमा जानकारी नदिने समाज हरू पनि थुप्रै छन् । कूनै पनि शारिरिक मानशिक वा इन्द्रियसम्बन्धी अवस्थाका आधारमा कसैलाई भेदभाव गर्नु हुन भने बाह्य धारणा व्यक्त गर्छन् तर आफ्नो घर–परिवार र सदस्यबाट नै अपमानजनक शब्दहरू प्रयोग गरी एक अर्काको अमयार्दित व्यवहारमा ठेस पु¥याएका हुन्छन् । यसका लागि तपाईं–हामी जानेर वा नजानेर अपाङ्गता भएका ब्यक्तिहरूको मन दुख्ने गरी एक अर्काको मर्यादालाई आत्मसम्मानमा ठेस पुग्ने गरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुन सक्छौँ, यसबारेमा अलि सचेत भएर मात्र सम्बोधन गर्नुपर्छ । नेपाल सरकारका दातृनिकायले बुझ्न जरूरी छ । अपाङ्गता परिचयपत्र प्राप्त गर्ने विधि, प्रणाली र परिचयपत्रको दूरुपयोग बारे जानकारी लिनुपर्छ । यसका लागि पहुँचयुक्त वातावरण सिर्जना गर्ने, सहभागिता र क्षमता विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने, स्थानीय तहमा समूह, अविभावक, समाज र समुदायहरूमा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा अपाङ्गता भएका व्यक्तिका संस्था र सेवा प्रदायक सम्म सुचना प्रवाह, साधन श्रोत ज्ञान सीप र सुचनाको प्रवाह र समावेशी कानुन नीति योजना बजेटलगायतका विषबस्तु स्थानीय तहसम्म पुग्दैन तबसम्म एक अर्कामा अपाङ्गता अवस्था भएका व्यक्तिहरूको जानकारी र चेतनको विकास हुँदैन ।