अमेरिकामा सुनौलो सपना बोकेका बेल्जियन आप्रवासीहरू

अमेरिकामा सुनौलो सपना बोकेका बेल्जियन आप्रवासीहरू


✍ डिल्लीराम अम्माई
परिवेश :

गत मार्च १०, ११ र १२ का दिन अमेरिकाको बोस्टनमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलनले पङ्क्तिकारलाई अमेरिका जाने साइत जुराइदियो । म त्यहाँ पुगेर सम्मेलनमा भाग लिएँ र, न्युयोर्कको शहर घुम्न फिलिक्स बस चढेर निस्किएँ । बसभित्र एक बेल्जियन आफ्ना आफन्त भेट्न लंग आइल्याण्ड जाँदै गरेका रहेछन् । संयोगले हामी दुवै सँगै बसियो । उनले मलाई भारतीय सम्झेर होला ‘इन्डियाबाट आउनुभएको ?’ भनेर सोधे । मैले ‘हैन, म बेल्जियम बस्छु र एउटा साहित्यिक कार्यक्रममा भाग लिन बोस्टन आएको थिएँ । कार्यक्रम सकियो, न्युयोर्क घुम्न निस्केको’ भनेर जवाफ दिएँ । उनले ‘हाम्रा पुर्खाहरूका सन्तान पनि बेल्जियमबाट लंग आइल्याण्डतिर बस्छन्, उनीहरू धेरै अगाडि यतै आएर बसेका छन्, म पनि भेट्न आएको’ भनेपछि हाम्रो कुराकानी लम्बियो । हामी न्युयोर्कको चाइना टाउन नआउन्जेल विभिन्न विषयमा कुरा गरिरह्यौँ । एरिकको गफले मलाई बेल्जियनहरूको अमेरिका बसाइँसराइको कारण र अवधिबारे धेरै जानकारी दियो ।

बेल्जियमको अन्त्वेर्पेनमा रहेको एउटा बन्दरगाह जसबाट धेरै बेल्जियनलगायत युरोपियनहरू अमेरिका पुगेका रहेछन् । त्यो बन्दरगाहमा आउने पानीजहाज कम्पनीको नाम ‘रेड स्टार’ रहेछ । त्यही पानी जहाज कम्पनीको नाममा अहिले त्यहाँ बेल्जियन बसाइँसराइको म्युजियम (Red Star Line Museum) बनाइएको छ । अन्त्वेर्पेनमा रहेको विश्वप्रसिद्ध रेड स्टार म्युजियमबाट बेल्जियनहरू कसरी र कुन समयमा संयुक्त राज्य अमेरिका बसाइँ सरे भन्ने विषयमा धेरै जानकारी मिल्छ । एरिकले भनेका, रेड स्टार म्युजियमबाट प्राप्त र आफूले अमेरिका बस्दा खोजेका कैयौँ तथ्यहरूबारे लेख लेख्ने सोच बनाएर एउटा टिप्पणी तयार गरेँ । तिनै टिप्पणी र खोजलाई आधार बनाएर मैले यो आलेख तयार पारेको हुँ ।

विषय प्रवेश :

कोलम्बसले नयाँ जमिन खोज्न थालेको युगलाई खोजको युग भनिन्छ । त्यही खोजले नयाँ जमिन कब्जा गर्ने औपनिवेशिक युगको जन्म गरायो । कोलम्बसले अमेरिका पत्ता लगाएपछि सन् १४९२ देखि १८०० सम्म युरोपियनहरूले पृथ्वीका अधिकतम् जमिनहरूमा आफ्नो नियन्त्रण कायम गरे । जमिन कब्जा गर्ने क्रममा बेलायत अग्रपङ्क्तिमा थियो भने त्यसको पछि–पछि अन्य युरोपियन देशहरूले पनि आफूले कब्जा गरेको जमिनमा आफ्नो नियन्त्रण कायम गरे । त्यो अवधिमा बेल्जियम हल्याण्डको अधीनमा थियो । त्यसैले उत्तर अमेरिका र क्यानडाका केही ठाउँ हल्याण्ड अधीनस्त थिए । अमेरिकी बसाइको प्रारम्भिक चरणमा नयाँ नेदरल्यान्डरहरू उत्तर अमेरिकाको उत्तरपूर्वी तटमा, हडसन नदी तथा न्युयोर्क खाडीमा केन्द्रित र डेलावेयर उपत्यका कब्जामा लिइ बसोबास गरेको देखिन्छ ।

सन् २०२० को अमेरिकी जनगणनाअनुसार त्यहाँ ३,६०,६४२ जना बेल्जियन अमेरिकनहरू रहेका छन् । उनीहरूले आफूलाई बेल्जियनहरूको सन्तानको रूपमा चिनाउँछन् र फ्लामिस भाषालाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दछन् । अधिकांश बेल्जियनहरू १७औँ शताब्दीदेखि २०औँ शताब्दिसम्म आप्रवासी भएर आएका रहेछन् ।

१७औँ शताब्दीमा भएको राजनैतिक तथा धार्मिक उथलपुथलको कारण धेरै बेल्जियनहरू उत्तर अमेरिका र क्यानाडा बसाइँ सरे, जतिबेला बेल्जियम देश बनिसको थिएन । त्यतिबेला बेल्जियमको फ्लामिस भाग हल्याण्डको नियन्त्रणमा थियो । ब्रिटिश अमेरिकामा सन् १७६५ र १७९१ को बीचमा भएको क्रान्तिपछि अन्य युरोपियनहरूले कब्जा गरेका एरियाहरू पनि मुक्त एरिया घोषणा भए । त्यसपछि उत्तर अमेरिकामा बेल्जिकहरूको बसाइँ पनि फैलिन पुग्यो । उनीहरू अहिले न्यूयोर्क, वालबाउट (ब्रुकलिन), लंग आइल्याण्ड र स्टेटन आइल्याण्ड र न्यू जर्सी (होबोकेन, जर्सी सिटी, पाभोनिया, कम्युनिपाव र वाल्किल)मा मिलेर बसेका छन् । औपनिवेशिक कालपछि बसोबास गर्ने बेल्जियनहरू अमेरिकाका मध्य राज्यहरूमा पनि पुगेको देखियो । कनेक्टिकट, डेलावेयर र पेन्सिलभेनिया जुन दक्षिणी नेदरल्याण्ड्सको उपनिवेशहरू थिए । ती राज्यहरूमा अहिलेसम्म पनि त्यहाँका स्थानीय गाउँ, नगर र शहरका नामहरू डच र फ्रेन्चमा राखिएको पाइन्छ ।

ब्रिटिस उपनिवेशविरुद्धको लडाइँमा बेल्जियमका आप्रवासीहरूको योगदानलाई अहिलेसम्म अमेरिकामा कदर गरिन्छ । बेल्जिक अमेरिकी क्रान्तिकारी चार्ल्स डे पाउ (उत्तरी अमेरिकामा लाफेएटको साथमा आएका फ्लेमिङ), थोमस भान गासबेक, ज्याक रापालजे, एन्थोनी भान एटेन र जोहानेस भान एटेनहरू अमेरिकी स्वतन्त्रता सङ्ग्रामका ऐतिहासिक नामहरू हुन् ।

अवसर र आर्थिक उपार्जनको खोजीमा बेल्जियमबाट बसाइँ सर्ने मानिसहरूको ठूलो लहर १९औँ शताब्दीमा संयुक्त राज्य अमेरिका पुग्यो । तथ्यहरू नियाल्दा बेल्जियन आप्रवासीहरू प्रथम पटक सन् १८२० पहिलो पटक सरकारी तवरबाट दर्ता भए । त्यसबेलादेखि सन् १९१० सम्म १,०४,००० बेल्जियनहरू अमेरिका प्रवेश गरे ।

सन् १८४७ देखि १८५० को बीचमा बेल्जियमका नागरिकहरू रोग र आर्थिक कठिनाइले ग्रसित थिए । हो, त्यही बेला प्रतिवर्ष ६ देखि ७ हजार बेल्जिकहरू संयुक्त राज्य अमेरिकामा बसाइँ सरेको देखिन्छ । बेल्जियमको अन्त्वेर्पेन अमेरिकामा आप्रवासनका लागि सबैभन्दा ठूलो बन्दरगाह पनि थियो र नियमित ‘रेड स्टार लाइन’ जहाजहरूले बन्दरगाहलाई संयुक्त राज्य र क्यानडासँग जोडेका थिए ।

त्यो समयमा, अमेरिकामा आउने अधिकांश बेल्जियनहरू किसान, खेत तथा मजदुर वा खानीमा काम गर्नेहरू थिए भने कारिगरहरू वा व्यापारमा संलग्न अन्य व्यक्तिहरू पनि बसाइँसराइमा सहभागी भए । २०औँ शताब्दीभरि, धेरै बेल्जियनहरू संयुक्त राज्य अमेरिकामा विश्वविद्यालयहरू, प्रयोगशाला र उद्योगहरू जस्ता ठाउँहरूमा काम गर्न आइपुगेका हुन् । संयुक्त राज्य अमेरिकामा ग्याजेट भ्यान मोलिन (१९४०-१९७०) र ग्याजेट भ्यान डेट्रोइट (१९१४-१९१८) सहित बेल्जियमका आप्रवासीहरूद्वारा धेरै डच भाषाका समाचारपत्रहरू प्रकाशित भएका तथ्यहरू भेटिन्छन् । एक तथ्याङ्कअनुशार सन् १८२० देखि १९७० सम्म, लगभग २,००,००० बेल्जियनहरू संयुक्त राज्य अमेरिकामा बसाइँ सरेको देखिन्छ । प्रत्येक वर्ष लगभग १,३५० बेल्जियमहरू संयुक्त राज्य अमेरिकामा बसाइँ सर्ने गरेका छन् ।

१९औँ शताब्दीको अवधिमा धेरैजसो बेल्जियनहरू वेस्ट भर्जिनियामा सामुहिक रूपले बसोबास गरेको पाइन्छ । रोजगारीमा पहुँचको लागि डेट्रोइट, मिशिगन; डोर, ब्राउन र केवानी काउन्टीहरू, विस्कॉन्सिन, पेन्सिलभेनिया र इन्डियानामा बेल्जियनहरूका ठुला बस्तीहरू छन् भने इलिनोइस, मिनेसोटा, नर्थ डकोटा, ओहायो, केन्टकी, फ्लोरिडा, वाशिङटन र ओरेगनमा बेल्जियम अमेरिकीहरूको पर्याप्त सामुहिक बसोबास छ । संयुक्त राज्य अमेरिकाका बेल्जियन बसोबास गर्ने नगर, गाउँ र सहरहरूको नाम लीज, चार्लेरोइ, गेन्ट, एन्टवर्प, नामुर, रोजिएर र ब्रसेल्स राखिएको छ ।

विस्कन्सिन र मिशिगनमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो बेल्जियम अमेरिकी बस्ती छ, जुन ग्रीन बेको छेउमा रहेको ब्राउन, केवानी र डोर काउन्टीहरूको भागहरूमा अवस्थित छ ।

त्यस्तै, २०११ को जनगणना अनुसार, क्यानाडामा बस्ने बेल्जियन वंशका वा बेल्जियममा जन्मेका व्यक्तिहरूको संख्या १,७६,६१५ जना रहेको छ ।

संयुक्त राज्य अमेरिकामा बेल्जियन आप्रवासीहरू बसोबास गर्ने मुख्य स्थानहरू र संख्या –

विस्कॉन्सिन : ५७, ८०८ (५, ३६३, ६७५ बाट = १.०८ प्रतिशत)
मिशिगन : ५३,१३५ (९,९३८,४४४ बाट = ०.५३ प्रतिशत)
इलिनोइस : ३४,२०८ (१२,४१९,२९३ मध्ये = ०.२८ प्रतिशत)
क्यालिफोर्निया : २६८२०
मिनेसोटा : १५,६२७ (४,९१९,४७९ मध्ये = ०.३२ प्रतिशत)
फ्लोरिडा : १४,७५१
न्यूयोर्क : १२,०३४
इन्डियाना : ११,९१८
टेक्सास : १०,५९५
ओहायो : ९,६५१
साथै केही केही बेल्जियन समुदायहरू वाशिङटन, टेनेसी, केन्टकी, मिसौरी र आयोवामा पनि बसोबास गरेका छन् ।

तस्बिरमा :
  • अमेरिकामा एक बेल्जियन परिवार
  • शिकागोमा फ्लेमिश बेल्जियम-अमेरिकी समुदायद्वारा आयोजित सन् १९३० मा राजा अल्बर्टको स्वागत समारोह
  • बेल्जियमका आप्रबासी कलाकार युजीन लार्मन्सद्वारा लेखिएको गीत (नोट : फ्लेमिशको राष्ट्रिय गान ‘De Vlaamse Leeuw’ हो । ‘Vlaamse Leeuw’ खण्ड र refrain जुन १९७१ देखि १९८० मा बन्द नभएसम्म शिकागोको बेल्जियम हलमा झुण्डिएको थियो । यो गान कोइकेलारे, वेस्ट भ्लान्डरनका फ्लेमिश आप्रवासी जुलियन बेकलेन्ड (१९०४–१९७५) द्वारा सिर्जना गरिएको हो ।)