अब दोहोरो राहदानी प्रयोगलाई अपराध नमानिने !

अब दोहोरो राहदानी प्रयोगलाई अपराध नमानिने !


सरकारले लिएको एउटा निर्णयले नेपालमा कानूनीराज चाहनेहरूलाई निराश तुल्याइदिएको छ । रास्वपा अध्यक्षलाई दोहोरो राहदानी प्रयोग गरेको भएपनि कानूनी कारवाही नगर्ने भनी नेपाल प्रहरीले गरेको सिफारिश र महान्यायाधिवक्ताको सोहीअनुरुप निर्णयपश्चात नेपालमा कानूनीराज नभएको र, कानून सर्वसाधारण जनतालाई मात्र लागू हुने स्पष्ट भएको छ ।

रास्वपा अध्यक्षले इसाई साल २०१४ को मार्च महिनामा अमेरिकी नागरिकको हैसियतमा अमेरिकी पासपोर्ट लिएका थिए । यिनले अमेरिकी पासपोर्ट लिएको एक वर्षपछि परित्याग गरिसकेको नेपाली नागरिकताको पुरानो प्रमाणपत्र देखाएर २०१५ मा नेपाली पासपोर्ट लिएका थिए । इसाई सालकै २०१७ को अक्टोबर ४ मा उनले अध्यागमन विभागमा बुझाएको ब्यक्तिगत विवरणमा आफ्नो राष्ट्रियता अमेरिकन भएको स्पष्ट गरेका थिए । उनले नेपाली पासपोर्ट लिइसकेपछि पनि आफूलाई अमेरिकन भएको प्रतिबद्धता प्रकट गरेको यसबाट सिद्ध हुन्छ ।

रास्वपा अध्यक्षले अमेरिकी पासपोर्ट नम्बर 512966981 नम्बरको अमेरिकी पासपोर्टबाट सन् २०१४ को जुन ५ देखि २०१७ को डिसेम्बर ७ सम्ममा नौ पटक विदेश भ्रमण गरेको र, २०१८ को सेप्टेम्बर २० देखि २०२२ को जनवरी १६ सम्म 08834838 नम्बरको नेपाली पासपोर्टबाट आठ पटक विभिन्न मुलुकहरूको भ्रमण गरेको अध्यागमन विभागको विवरणमा उल्लेख छ । हत्या र यस्तै दोहोरो राहदानी प्रयोग गरेकोमा चाल्र्स सोभराजलाई दोषी ठहर गरि वर्षौं कारावासको सजाय दिइएको थियो । तर नेपाल प्रहरी र महान्यायाधिवक्ताले दोहोरो राहदानी लिएको भएपनि कानूनी कारवाहीका निम्ति मुद्दा नचलाउने निर्णय दिएर नेपालमा कानूनी शासन नभएको सन्देश मात्र दिएका छैनन्, सर्वोच्च अदालतको निर्णयलाई समेत सिधा चुनौती दिएका छन् ।

चर्का क्रान्तिकारी र देशभक्तिका गफ दिएर नथाक्ने प्रचण्डले रास्वपा अध्यक्षलाई कानूनी कारवाहीबाट उन्मूक्ति दिने कदम चाल्नुले उनका निम्ति देश, देशको कानून र कानूनी शासनभन्दा मालिकको आदेश महत्वपूर्ण रहेको पुष्टि भएको छ ।