उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान


आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ ।

यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।