प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वलाई सुझाव

प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वलाई सुझाव


✍ डा. हेमनाथ पौडेल

नेपाली भाषा यतिखेर नेपाली मातृभाषीहरूको मात्र भाषा नभएर संसारभर फैलिएका समग्र नेपालीहरूको भाषा बनेको छ । नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषा मानी समान मान्यता दिँदै तीमध्ये नेपाली भाषालाई सरकारी कामकाजको भाषा मानेको छ ।

नेपालको संविधानको धारा ७ (१) ले ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनेर प्रस्टरूपमा उल्लेख गरेको छ । व्यवहारतः नेपाली भाषा नेपाल र नेपालबाहिर रहेका सबै नेपाली समुदायको साझा सम्पर्क भाषासमेत बनेको छ ।

यति मात्र होइन, नेपाली भाषासँग नेपालीहरूको राष्ट्रियता, संस्कृति र पहिचानसमेत अभिन्न रूपमा गाँसिएका छन् । अन्य मातृभाषी समुदायका कतिपय पूर्वाग्रही व्यक्तिहरूले बेलाबखत यसमाथि हमला गर्न खोजे पनि तिनै मानिसहरूले पनि यस भाषाका माध्यमबाट नै आफ्नो वृत्तिविकास गर्नुका साथै सृजनाहरू समेत यही भाषामा गरेर आफ्नो पहिचान बनाएका छन् । त्यसैले पनि नेपाली भाषा समग्र नेपालीहरूको भाषा हो ।

यस यथार्थलाई बेवास्ता गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खसभाषाको सङ्ज्ञा दिँदै अन्य मातृभाषासरह नै यो पनि मातृभाषा नै हो छुट्टै विभागको आवश्यकता छैन भन्ने व्याख्या गरीे प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने जुन काम गरेको छ, यसले नेपालको संविधानको भावना र मर्मका साथै समग्र नेपालीहरूको आस्था, संस्कृति र मौलिकतामाथि पनि प्रहार गरेको छ ।

साथै संसारभरका नेपालीलाई सहजरूपमा बुझ्न र शुद्धरूपमा लेख्न सहयोग पुगोस् भनेर बनाइएको बृहत् नेपाली शब्दकोशको एप समेत वर्तमान नेतृत्वले हटाउने भन्ने सुन्नमा आएको छ । अहिले यो एप संसारभरका लाखौँ नेपाली र नेपाली जान्न चाहने कैयौँ व्यक्तिहरूले डाउनलोड गरी प्रयोग गरिरहेका छन् । यसलाई हटाउनु भनेको नेपाली भाषाको विकास र विस्तारलाई रोक्न खोज्नु हो भन्ने प्रस्ट नै छ ।

यो प्राज्ञ परिषद् आउनुअघि मंसिरअगाडिकै अङ्कका रूपमा तयार भएको बालप्रज्ञा पत्रिका प्रेसमा गइसकेको छाप्न रोकिएको छ । प्रकाशनका लागि तयार भएका कृतिहरू प्रकाशन गर्न रोक्ने क्रमको प्रारम्भ भएको छ । यस किसिमका निर्णय र सोचलाई प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले तुरुन्त सच्याउनु जरुरी छ ।

विगतमा नेपाल सरकारले विदेशीहरूको उक्साहट र कसैको लाभका निम्ति यातायातका साधनहरूको नम्बर प्लेटमा रोमन लिपिको इम्बोस्ट नम्बर (भुक्क उक्सेको लिपि) राख्ने निर्णय गरी त्यसलाई लागु गर्ने प्रयत्न गरेको थियो र अहिले पनि त्यो प्रयत्न जारी छ । यो कार्य नेपाली संस्कृति, भाषा र समग्र नेपालीहरूको आस्थामाथिको ठुलो प्रहार हो । विगतमा नेपाल प्रज्ञा–प्रतिष्ठानका साथै नेपाल र नेपाली भाषालाई माया गर्ने विभिन्न संस्था र व्यक्तिहरूले यस कार्यको विरोध गर्दै आएको तथ्य जगजाहेर नै छ । यस क्रममा नेपाल सरकारका सम्बन्धित निकायले पटक पटक परिपत्र गरेर इम्बोस्ट नम्बर राख्न दबाब दिँदा पनि विगतमा नेपाल प्रज्ञा-प्रतिष्ठानले पटक-पटक फेरिएका प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूलाई पटक-पटक नै ध्यानाकर्षण पत्र दिई उक्त निर्णय रोक्न पहल गर्दैै आएको थियो ।

अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषामाथि प्रहार गर्ने सुनियोजित शृङ्खलास्वरूप नै हुनुपर्छ प्रज्ञा–प्रतिष्ठानका सबारी साधनमा पनि देवनागरी लिपि हटाएर रोमनमा इम्बोस्ट नम्बर राख्ने निर्णय गर्न खोजेको भन्ने सुन्नमा आएको छ । यदि यो कुरा सत्य हो भने नेपाली भाषा लेखिने देवनागरी लिपिका वर्ण र अङ्लाई सबारी साधनबाट हटाउने कुरा प्राज्ञिक क्षेत्रका साथै कुनै पनि देशभक्त नेपालीलाई मान्य हुने छैन । यस कुरामा पनि प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वको ध्यान जानु जरुरी छ ।