बेल्जियमबाट शुरु भएको भाषिक आन्दोलनबारे एक बहस

बेल्जियमबाट शुरु भएको भाषिक आन्दोलनबारे एक बहस


भाषा परिवारबाटै शुरु गरौँ, हाम्रो भाषिक अभियानमा अभिभावकबाट छिरेर नयाँ पुस्ताबाट निस्कौँ । भाषा मरे साहित्य र संस्कृति एक्लाएक्लै बाँच्न सक्दैन । हाम्रा सन्तान नेपाल जाँदा, एक्लै घुम्न निस्कँदा, पाइखाना खोज्दै-खोज्दै भाषा नबुझेर ‘श्री गणेशाय नम’ र ‘बुद्धम शरणं गच्छामी’ लेखेको मन्दिर वा गुम्बामा पसे भने अनर्थ हुनेछ ।

✍ डिल्ली अम्माई / बेल्जियम

भाषा र संस्कृति कुनैपनि समुदायका परिचय हुन् । भाषा र संस्कृतिको जीवन्तताले कालान्तरमा राष्ट्रियताको मुटु निर्माण गर्दै समुदायलाई जीवन दिन्छ । त्यो नै कुनै पनि काल खण्डमा देश निर्माणको आधार बनेर निस्कन सक्छ । त्यसैले नै अंग्रेजहरूले भारत छोड्दा ‘हामीले सबै कुरा लिएर गएपनि भाषा र संस्कृति छोडेर गएका छौँ । त्यसैले हाम्रो सांस्कृतिक साम्राज्य कसैले पनि भारतबाट भत्काउन सक्ने छैन’भनेर घमण्ड गरेका थिए ।

देश बचाउन मात्र नभएर नयाँ राष्ट्र निर्माण गर्न पनि भाषा र संस्कृति आधार हो । हामीले पहिचानबारे मञ्चमा खुबै भाषण गर्दछौँ । भाषा संस्कृतिको निकै गुणगान गर्दै मूल परिवेशमा लेखिने नेपाली साहित्यबारे निकै लामा-लामा बहस गर्दछौँ । तर हाम्रा बहसका निष्कर्षहरू कति ब्यवहारमा लागेका छौँ त ? यो हामी आफैंलाई एक युगीन प्रश्न हो ।

सांस्कृतिक, साहित्यिक र पहिचानको लागि गरिएका प्रवचन र राजनीतिले देश बच्ने र बन्ने हैन । देश बचाउन र बनाउनलाई भाषा, साहित्य र कलालाई बचाउनु पर्छ । भाषा, साहित्य र कला जीवित रहेसम्म मात्र देश तथा मानव सभ्यता जीवित रहन्छ । त्यसको लागि घर घरलाई नेपाली लिपि सिक्ने र बोल्ने पाठशाला बनाउनु जरुरी छ । भाषा र संस्कृतिको उत्थानले साहित्यको रस पैदा गर्दछ । साहित्य राष्ट्रको बौद्धिक सम्पत्ति र जीवनको व्यापक सार हो ।

साहित्यिक रसले भिजेको भाषाले मात्र हाम्रो सांस्कृतिक मौलिकताको रक्षा सम्भव छ । भाषा, संस्कृति, साहित्य र कला जीवित रहेसम्म मात्र देश तथा मानव सभ्यता जीवित रहन्छ, हाम्रो पहिचान जीवित रहन्छ ।

प्रवाशमा भाषा र साहित्यको उत्थानबारे :

भाषा नदी वा खोला जस्तै हो । त्यहाँ अनगिन्ती झरना, आवाज, बाछिटा र सङ्घर्षका कथाहरू हुन्छन् । बगरमा लुकेझैँ, ओरालीमा कोही भेट्न कुँदे झैँ, बाढीमा मात्तिए झैँ र समुन्द्रमा पुगेपछि सुस्ताए झैँ हुँदै भाषा हिँडिरहन्छ । साहित्य भनेको भाषाभित्रको झरना, झरनाको आवाज, झरनाले बनाएको इन्द्रेणी जस्तै हो । जब नदीले आफ्नो कलाद्वारा आफ्नो बाटोलाई मनोरम र सुन्दर बनाउँदै अघि बढ्छ, त्यो कलाद्वारा पैदा हुने अनुभूतिलाई नदीले बनाएको साहित्य भनिन्छ । झरना खस्दा निस्कने आवाजको अनुभूति जस्तै हो साहित्य । झरनाको आवाजमा पानीका अणु–परमाणुहरूको मिलन र विच्छेदको अविरल शृङ्खलाले भोगाइको श्रृङ्गार गर्दछ । ती सबैको समष्टिबाट भावको जन्म हुन्छ । साहित्यिक भाव पनि भाषाद्वारा ब्याक्त गरिने तरङ्ग जस्तै हो । देख्दा सुन्दा र भोग्दा जुन तरङ्ग मनमा उठ्छ त्यो पनि साहित्य हो । बहाव चाहे त्यो जीवन जगतको होस् वा प्रकृति जगतको त्यसले कलासँग मिलेर सौन्दर्यको सृष्टि गर्दछ ।

त्यसैले मानव समुदायको सभ्यता भन्नाले भाषा र संस्कृति हो । यी दुवै क्रियात्मक शृङ्खलाले पहिचानको जन्म गराउँछ । तीन कुरा मिलेपछि समुदायको राष्ट्रियता र त्यसपछि देश बन्दछ । त्यहि पहिचान निर्माणको क्रमले साहित्यको सृजना गर्दै जान्छ । साहित्यले मात्र देश जन्माउने सामर्थ्य राख्दैन तर देश र समुदाय चिनाउने सामर्थ्य भने राख्दछ ।

भाषा र संस्कृति मिल्यो भने नयाँ देश जन्मन्छ । इजरायललगायत कतिपय देश भाषा संस्कृतिको जागरणले पैदा गरेका मुलुकहरू हुन् । कतिपय सङ्घीय मुलुकहरूमा भाषाले एकलाई देश जन्माउने जमर्को गरेको छ । संसारमा त्यसका उदाहरणहरू धेरै छन् । भाषा र संस्कृति प्रायः सँगै हिँड्छन् । यी दुई मिलेर अनगिन्ति गीत, कला र साहित्य जन्माएका छन् । ती साहित्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जागरणमा उत्तेजना र शक्ति पैदा गर्दछन् ।

वास्तवमा, भाषाको सुन्दर झरना हो साहित्य । यो एक सर्वरजस्तै तरङ्ग हो । कला र सौन्दर्यलाई संयोजन गरेर लेखिएको साहित्यले समुदायको आत्मगत, बस्तुगत र भविष्यको बाटोमा प्रकाश छर्ने काम गर्दछ । यसले समुदायका भिन्न–भिन्न अनुभूतिहरूलाई मानव उत्तेजना र जागरणसँग जोड्ने काम गर्दछ ।

भाषाको सिकाइ र हाम्रो अनुभव :

हाम्रो अनुभवले भन्छ, हाम्रो अभियानको मुल लक्ष्यमा नेपाली भाषाको सिकाइ र प्रवर्धन पहिलो हुनुपर्छ । सृजनात्मक अभियान भाषिक अभियानसँग नजोड्Þने हो भने न सृजना बाँच्छ, न त संस्कृति । नेपाली भाषा नै लुप्त भएपछि न हाम्रो सृजना पढ्ने पाठक हुन्छ, न त प्रवाशी पीडा र सङ्घर्षका लालित्यमा भिजेर साहित्यको अपनत्व ग्रहण गर्ने कोही बाँकी रहन्छ ।

पुस्तक पढ्ने संस्कार प्रवासमा हराउँदै छ । नेपालमा पनि यसको गति बिस्तारै धिमा हुँदै छ । नेपालमा रहेकाहरूले त पुरस्कारको छनौट गर्दा मात्रै कृतिहरू पढ्ने हुन् । अन्यथा, पाठ्य सामाग्री बन्यो भने बाध्यताले पढ्ने हुन् ।

प्रवाशी, आप्रवासी वा एनआरएन जे भनौँ, सीमाबाहिरका कृतिभित्र रहेको करुणा, पीडा, संघर्षलाई आफ्नै भोगाइको उत्तेजनामा पढ्ने प्रवासकै नेपाली समाजले हो । प्रवासका ती सबै रचनाहरू नेपालमा रहेका पाठकहरूको लागि पराईका कीर्ति जस्तै हुन् । प्रवाशीको पीडाले देशभित्र रहने पाठकहरूको हृदयमा हलचल पैदा गर्दैन । ठ्याक्कै भोग्नेको मनोदशामा मात्रै त्यसले पूरा उत्तेजनात्मक करुणा, प्रेम, जागरण र चैतन्य स्मृतिभाव दिन सक्छ । त्यसैले कृतिकार, रचनाकारहरूले आफ्नो साहित्यिक खुराक आफ्नै समुदायको सम्पतिमा रुपान्तरण गर्न पनि यो समुदायभित्र नेपाली भाषा लिपि ज्ञान मर्न दिनु हुँदैन भन्ने लाग्छ ।

यही मर्मको बोध गरेर अनेसास बेल्जियमले भाषिक क्लासको अवधारणा ल्याएको हो । अनेसास बेल्जियम आर्थिक रूपले ज्यादै रुग्ण छ । स्कुल सञ्चालन गर्न सक्ने हैसियतमा छैन, तर सिङ्गो नेपाली समुदायलाई नै भाषिक रूपमा जागृत गरायो भने त्यो सम्भव हुने रहेछ । एक शहर, एक नेपाली समुदाय, एक नेपाली पाठशालाको अवधारणासहित बेल्जियमका नेपालीहरूले भाषा स्कुल चलाइरहनुभएको छ । हामीले अनेसासका कार्यक्रम गर्दा विद्यार्थी सँगै राखेर गर्छौं र, सकभर स्कुलमै गर्दछौँ । त्यसले नयाँ पिढीमा नेपाली भाषाको चासो बढाएको छ । विद्यार्थी भाइ–बहिनीहरूले पनि भाषा सिक्न अनेसासबाट प्रेरणा पाइरहेका छन् भने अभिभावकहरूमा पनि त्यो जागरण अभियानले धेरै हदसम्म छोएको छ । कविता कथा कोर्ने हदसम्म एक नयाँ रहर पैदा गरेको छ ।

यसमा अनेसासका प्रत्येक शाखाले यस्ता खालका अभियानहरू चलाएका छन् वा छैनन् ? जानकारी भएन । आफ्ना रचना र पुस्तकका ठेलीले मात्र भाषिक जागरणमा आवश्यकता बोध र रहर पैदा गर्दैन । त्यसको लागि समुदायमा पसेर भाषिक ज्ञानको महत्व, अझ बढी नयाँ ‘हाउ आर यु’ पुस्तालाई घृणाले हैन प्रेमपूर्वक आफ्नो अभियानमा समेट्नु जरुरी छ । बालबालिका नेपाली भाषामा कमजोर हुनुको प्रमुख कारण उनीहरू स्वयम् नभएर अभिभावकहरू हुन् भन्नैपर्छ ।

ती अभिभावकमध्ये हामी अनेसासका विभिन्न शाखामा काम गरिरहेका प्रथम पुस्ताका साहित्यप्रेमीहरू पनि हौँ । त्यसैले सोध्न मन लाग्छ, हामीले नयाँ पिँढीलाई सहभागी गराएर भाषिक प्रेरणासहितका कति कार्यक्रम गरेका छौँ वा छैनौँ ? त्यसका अनुभवहरू के–कस्ता छन् ? घर–घरमा पुगेर नेपाली भाषाबारे अभिभावक छलफल भएको छ ? त्यसका प्रतिक्रिया के–कस्ता छन् ? पक्कै पनि ती सबै चासोबारे सुन्न पाइने नै छ ।
विभिन्न संघ–सङ्गठहरूका बीच भाषिक जागरणबारे के–कति अन्तरक्रिया गरेका छौँ ? भाषिक स्कुलहरू के–कसरी सञ्चालन भएका छन् ? कुन–कुन शाखाले कसरी भाषिक स्कुललाई प्रेरणा दिइरहेका छन् ? सम्मेलनले पक्कै ती विषय बारे समीक्षा गरि विवरण संग्रह गर्ला भन्ने लाग्छ ।

बेल्जियममा एक खालको भाषिक तरङ्ग उत्पन्न भएको छ । सर्जक, साहित्यकार र साहित्यिक भाषिक अभियानकर्ता सबैलाई जानकारी होस्, बेल्जियम संसारकै सानो देशमध्ये एक हो । बेल्जियमको शहरी क्षेत्रमा ५–६ हजार मात्र नेपाली बसोबास गर्दछन् । त्यसमध्ये धेरैजसो पहिलो र दोश्रो पुस्ता नेपालमै पढेर आएको पुस्ता छ । उनीहरूमा साहित्यिक रंग धेरै नभएपनि बालबालिकाहरूले नेपाली भाषा सिकेकोमा आफै गर्व गर्छन् । भाषिक अन्तरक्रियामा हाम्रा सहयोगी बनेका छन् ।

अनेसासले भाषाशिक्षकहरूलाई घर–घरको सिकाइ र त्यसका अनुभवहरूको बारेमा सूचना लिइ जानकारी गराउन प्रेरणा प्रदान गरेको छ । साहित्यिक रचना त हामीले एक कार्यकालमा कम्तिमा एक अभिभावकसहित मिलेर संग्रहको रूपमा प्रकाशित गर्ने गरेका छौँ । भाषा सिक्ने प्रेरणाको लागि त्यो एउटा तरिका हो । त्यसले नामकै लागि भए पनि सबैमा लेखपढ गर्ने प्रेरणा प्रदान गर्छ । त्यसले अनेसासको समुदायसँग पहुँच स्थापित गर्छ ।

अनेसासले उत्कृष्ट शाखाको घोषणा गर्ने र पुरस्कार समेत दिने चलन रहेछ । म ती मापदण्डहरूको बारेमा अनभिज्ञ नै छु । किनकि बेल्जियम शाखा भाषिक जागरणमा होमिएको पुरानो तर एउटा फुच्चे शाखा हो । यसले गहन र उत्कृष्ट सृजना दिन सकेको छैन होला सायद । तर मलाई उत्कृष्टका ती मापदण्डमा नपरेकोमा त्यति पछुतो छैन, किनकि हामीले तेश्रो, चौथो, पाँचौ पुस्ता, म्यान्मार र थाइल्याण्डमा झैँ सताब्दी–सताब्दीसम्म नेपाली भाषा लेखपढलाई नै महत्व दिँदै भाषा, संस्कृति र साहित्यलाई सँगसँगै बचाउने संघर्षको थालनी गरेका छौँ, गरिरहने छौँ । ती तीनै कुरा एक्लै बाँच्न सक्दैनन् भन्ने हाम्रो ठम्याइ रहेको छ । हामीले पुस्तकका ठेली दिन नसके पनि प्रवाशका साहित्यकारका रचनाहरू पढ्न लेख्न सक्ने पाठक भने दिनेछौँ भन्ने लाग्छ । त्यसैको लागि हामीले समुदायसँग सहकार्य गर्ने नीति बनाएका हौँ । उनीहरूको कोर्षमा पनि हामीले आप्रवासी साहित्यकारकै रचना समावेश गर्नेछौँ । आप्रवासी अग्रजहरूले लेखेका पाठकहरूमात्र दिन सक्यौँ भने यसैमा हामीले गर्व गर्नेछौँ र अनेसास बेल्जियमले पनि यसैमा गर्व गर्ने छ । किनकि लेख्ने त कृष्ण बजगाईं, पदम दाइ, गोवर्द्धन सर, गीतादिदी लगायत थुप्रै सर्जकहरू हुनुहुन्छ ।

गुनासा र सुझावहरू :

केन्द्रसँग हाम्रा गुनासाहरू पनि छन् । कता–कता आजीवन सदस्यहरू बेल्जियममा थोरै भएकोले यो शाखामा केन्द्रको नजर अलिक नपरेको हो कि जस्तो पनि लाग्छ । हामीलाई लागेको कुरा के हो भने अन्य देशको तुलनामा नेपाली परिवारको संख्या हेर्दा बेल्जियम शाखा सानो शाखा नै होला र त्यसमा पनि साहित्यप्रति अभिरुचि जागिनसकेको ब्यक्तिलाई आजीवन सदस्य हामीले दिएका छैनौँ । यसर्थ पनि हामी थोरै नै छौँ । अझ लग्जेम्बर्गमा शाखा बन्ने हो भने समिति कति सानो होला ! जहाँको नेपाली संख्या नै २–३ सय जति छ ।

पोर्चुगलमा नेपालीहरू ५०–६० हजारको हाराहारीमा होलान् । तीमध्ये साहित्यिक मनहरू बढी नै हुने भए । अतः साखाको मापन गर्दा कमसेकम यी सबै कुराको समानुपातिक रुपले लेखाजोखा गर्नुपर्ने हुन्छ । भन्नाले हेर्ने मापदण्डलाई अभियानको सशक्ततामा मापन गरेर पनि हेर्नुपर्ला, समुदायको संख्यात्मक तालिकाको तुलना गरेर हेर्नुपर्ने होला र मुख्य रूपले संख्यात्मकता वा प्रचार प्रोपागान्डालाई भन्दा गुणात्मक अभियानको अन्तर्यलाई हेरेर शाखाको मापन गर्दा राम्रो होला । ती कुराहरूमा अग्रजहरूले ख्याल नगरीदिँदा अभियानहरूप्रति अन्याय हुन्छ । प्रेरणा र सच्चा अनेसासप्रतिको योगदानप्रति अन्याय हुन्छ ।

सृजनाले मानिसलाई चिरन्जीवी बनाउँछ तर पाठक नै भएनन् भने साहित्यकारहरूले लेखेका पुस्तकहरूले मात्र संस्कृति र भाषा बचाउन सक्दैन कि ? अहिलेको युगान्तकारी प्रश्न हो यो । यदि त्यसको लागि अर्थात् भाषिक जागरणको लागि अभियान नै चलाउनु पर्ने हो भने त्यसको नेतृत्व अनेसासले गर्नुपर्ने हो कि हैन ? यो अर्को गहन प्रश्न हो ।

बर्मेली र थाइ नेपालीहरू अनेसासमा छन् कि छैनन्, जानकारी भएन । उनीहरूबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ । भाषा र संस्कृति बचाउने सवालमा र भाषिक सुद्धताको लागि संवेदनशील बन्ने सवालमा हामी उनीहरूबाट सिक्न सक्छौँ । उनीहरूले भाषाको शुद्धतालाई हामीले भन्दा रामोसँग बचाएर सुन्दर संस्कृतिक परिवेशमा हुर्काएका पनि छन्, पुस्ता हस्तान्तरण गरेका पनि छन् । हामीले नेपालीमा आधि अंग्रेजी मिसाएर बोल्छौँ । कतिपय अवस्थामा साहित्यिक लेखहरूमा भाषालाई सिङ्गारु बनाएर भाषा साहित्यको सेवा गरेकोमा गर्व गर्छौं । तर उनीहरूले नेपाली भाषामा स्थानीय भाषा मिलाएर बोल्दैनन्, लेख्दैनन् । हामीले उनीहरूबाट सिक्ने पहिलो कुरा हो त्यो ।

हाम्रा साहित्यिक र भाषिक बहसहरूमा भन्नाले अनेसासका बहसहरूमा हाम्रो लाहुरे भाषालाई शुद्ध बोल्ने र लेख्नेबारे के–कति काम गरेका छौँ ? के हामीले जे गरिरहेका छौँ त्यो राम्रो हो वा हामी सच्चिनु पर्ने हो ? यो प्रश्न पनि अहिलेसम्म अनुत्तरित नै छ भन्ने लाग्छ ।

हाम्रा गतिविधि भइरहेका छन्, निरन्तर बढिरहेका पनि छन् ती असाध्यै राम्रा कुरा हुन् । तर हाम्रा गतिविधि केका लागि हुन् ? ब्यक्तिगत सृजनाका लागि मात्र वा समुदायको भाषाको समृद्धि र शुद्ध भाषा संस्कृतिको पुस्ता हस्तान्तरणका लागि पनि हुन् ? बाटोमा हामी प्रष्ट छैनौँ । भन्नाले हाम्रा गन्तव्यको अल्पकालिक र दीर्घकालिक योजनामा अझै प्रष्टता आएको छैन । हामी समुदायको भाषा संस्कृति बचाउने आन्दोलनसँग जोडिन सकेका छैनौँ । त्यसैले हामीले हाम्रा अल्पकालीन योजना के-के हुन् र दीर्घकालिक योजना के-के हुन् प्रष्ट हुन जरुरी छ ।

हाम्रो पुस्ताका लाहुरेहरूमा बेग्लाबेग्लै संघर्षका आयामहरू छन् । सर्वप्रथम हाम्रा संघर्षका आयामहरूमा अनगिन्ती कथाहरू छन्, पीडा र सन्तुष्टिका तरल भावनाहरू छन्, घुमाउरो बाटोबाट गन्तब्यसम्म पुग्ने शिलाशिलाका अनगिन्ति निबन्धका रस, राग रस, करुणा रस, हास्य रस, वीर र अन्य भावगत रसहरू होलान् । त्यसलाई भाषिक कला र सौन्दर्यले सिँगार्ने हो भने साहित्यको अर्थात् प्रवासी साहित्यको संग्रहालय नै बन्दछ । अहिलेसम्म हामी कथामै हिँडेका छौँ, कवितामा रुँदै कतिपय नोष्टाल्जियामा सोमरसले मुख बिगारेर अतीतलाई सम्झँदै बाँचेका छौँ । त्यसैले हाम्रा रचना नेपालबाट लेखिने परदेशीका कथा भन्दा फरक छन् । तर हामीले लेखेको साहित्य शुद्ध प्रवाशी र अझ समुदायको लामो अवधिपछि डायास्पोरिक साहित्य बन्ने छ ।

अहिले हामी यता न उताका छौँ । संसारभरी छिरलिएर पनि कसरी यहुदीहरूले आफ्नो भाषा र संस्कृति बचाए ? उनीहरूको एक परिवार, एक पाठशाला, एक संस्कार, एक धर्म र एक संस्कृति अभियानले दशकौँ सताब्दीपछि एक देश जन्मायो । एक राष्ट्रियता जन्मायो, राष्ट्रियताले आधुनिक साहित्यको पुनर्जन्म गरायो । उनीहरू आफू मेटिन नचाहनुको कारण देशको चाहना थिएन, भाषा र संस्कृति उत्कृष्ट बचाउने चाहना थियो । त्यसैले साहित्यको मुख्य आधार भाषा हो, भाषा मात्रै नभएर संस्कृति पनि हो । नेपालको सन्दर्भमा धर्मबारे मत बाझिन सक्छ । यी तीनै चिज मिले भने देश नै जन्मन सक्ने आधार निर्माण हुन्छ । जस्तो बेलायत, अफ्रिकालगायत धेरै देशमा गाउँको नाम नै गान्धी टोल, सुवास मार्ग वा टोल रहेका छन् । त्यसको प्रभाव सांस्कृतिक र भाषिक नै हो ।

१९७० पछि संघीयतामा गएका मुलुकमा भाषा र सांस्कृतिक पहिचानले मिनीराष्ट्र समेत बनाइसकेको छ । त्यो परिवेशले अनेकौँ साहित्य जन्माएको छ र कतिपयले नोबेल पुरस्कार पनि जितिसकेका छन् । त्यसैले मूल कुराको चर्चा गर्नुपर्दा त्यसका आधारहरूको मुख्य रुपले चर्चा गरिनुपर्छ । आधारको सेवामा अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोच्नुपर्छ । अन्तराष्ट्रिय नेपाली भन्नेबित्तिकै भाषा र संस्कृतिको कुरा आइहाल्यो । नेपाली साहित्यभन्दा अगाडि किन छ ? किन छ भने नेपाली भनेको भाषा र संस्कृति बोकेको एक समुदाय हो । त्यो समुदाय उसको पहिचान नै हाम्रो साहित्यको आधार स्तम्भ हो । हाम्रो साहित्यको मुख्य आधार नै रहेन भने नेपाली साहित्य भन्ने कुरै रहँदैन । मुख्य कुरा यो हो ।

हामीले मूल कुरा छोडेर अन्तै रमाइलो मानेका छौँ । हाम्रो आधारभूत आयामभन्दा अलिक फरक भएका छौँ । अर्को पुस्तामा पाठक निर्माण गर्ने कार्य भन्दा अलिक फरक, आफैं पाठक र लेखक बनेर नाम र पुरस्कारको लालचवरपर, समुदायमा भाषिक जागरण ल्याउने डायस्पोराको निर्माण भन्दा अलिक फरक शुद्ध लाहुरे ‘नेपाङ्ग्रेजी’ साहित्यको बाटोमा छौँ हामी ।

हामी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरू आफ्नो अस्तित्वको दाबी गर्ने साहसिक बाटोमा छैनौँ कि ! हाम्रा आप्रवासी साहित्यहरू परिस्थितिलाई प्रश्न गर्न सक्ने बाटोमा छैनन् कि ! म किन नियतिको बोल्ने मेसिन बन्न आइपुगेँ भनेर प्रश्न नगर्नुको अर्थ त अवस्थालाई फेरि पनि नियतिकै रूपमा लिनु हो  । अर्थात् हाम्रो सामर्थ्य र कर्मपथलाई पर्गेल्नु हो ।

त्यसरी प्रश्न गरिन्थ्यो भने हाम्रा कथा, निबन्ध, कविता र रचनाहरूमा आफूलाई विदेश जान बाध्य बनाउने स्वदेशी प्रणाली र राज्यको चरित्रमाथि प्रश्न हुन्थ्यो  । त्यो नगरिएको प्रश्न हाम्रा लेखनहरूमा छुटेको अर्को पाटो हो  । हाम्रा साहित्यमा शैक्षिक बेरोजगार बन्नु र प्रवासिनुको पीडासम्म पोखिएको छ, तर त्यस्तो किन भयो भन्ने प्रश्न गरिएको छैन  । प्रवाशी वा आप्रवासी नेपाली साहित्यको झुकाव हेर्दा किन ? को कारण खोज्न हामी डराएका छौँ । महात्मा बुद्धझैँ निर्धक्क भएर प्रवासिनु पर्ने दुःखको प्रमुख कारण खोज्न सक्नुपर्ने होइन र हाम्रो प्रवासी साहित्यले ? प्रवाशमा छुटेको साहित्यिक धार यो हो । छिपछिपे धारले हामीलाई पहिचानयुक्त साहित्यिक गन्तब्यमा पु¥याउन सक्दैन । त्यसैले लेखनका शैली र धारहरू तिखार्न पनि अनेसासले बहस चलाउनु जरुरी छ ।

प्रवाशमा पहिचान लोप हुने खतरामा :

हामी आफूलाई डायस्पोरा भन्न रुचाइरहेका छौँ । के हामी डायस्पोरा हौँ वा लाहुरे, प्रवासी, एनआरएन वा आप्रवासी के हौँ ? प्रश्न आफैं अनुत्तरित छ । खासमा मातृभूमिबाट निर्वासित हुन बाध्य भएका नेपालीभाषी भुटानी र म्यान्मार वा थाइका शरणार्थी नेपाली असली डायस्पोरा हुन् भन्ने लाग्छ । डायस्पोराको परम्परागत मान्यताका दृष्टिले मात्र नभएर आधुनिक सन्दर्भमा पनि युरोप-अमेरिकाका विभिन्न ठाउँमा गएर समृद्ध जीवन बिताउन बसेकाहरू डायस्पोरा होइनन्, र उनीहरूले लेखेको साहित्य पनि डायस्पोरिक साहित्य होइन । त्यो प्रवाशी वा आप्रवासी नेपाली साहित्य हो ।

नेपालबाट जो-जहाँ गयो त्यहीँको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका तर आफ्नो जातीय भाषा, संस्कृति र धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्ने होला जस्तो लाग्छ । यस विषयमा हामीलाई अनेसासले प्रष्ट परिभाषा दिएको छैन ।

सन् २००९ मा न्युयोर्कमा भएको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा डा. गोविन्दराज भट्टराईले डायस्पोरा नेपाली साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि प्रवासका नेपालीलाई कसरी सम्बोधन गर्ने भन्ने विवाद चुलिएको देखिन्छ । यसबारे डा. खगेन्द्र लुईंटेललाई प्रश्न गर्दा डा. खगेन्द्रले डायस्पोराको नेपालीकरण गर्न सजिलो छैन भन्दै नेपालीमा कतिपय अङ्ग्रेजी शब्द पनि राम्रै गरी पचिसकेका हुँदा शब्द के राख्ने भन्ने विवाद भएमा डायस्पोरा नै राखिदिए पनि फरक पर्दैन भन्ने तर्क राखेको कुरा पढिएको थियो । अर्काथरी मित्रहरूले नेपाली मुलका प्रवाशीहरूको साहित्यलाई गैह्रआवासीय नेपाली साहित्य भनेर प्रयोग गर्न शुरु गरिसकेका छन् । पहिल्यैबाट प्रयोग गरिँदै आएको शब्द प्रवाशी नेपाली समाज र उनीहरूले लेखेको साहित्य प्रवाशी नेपाली साहित्य हो । हामी आधारभूत कुरामा भन्दा यस्तै अन्त्यहीन विवादमा अल्मलिइ रहेका छौँ ।

धारका कुराले पनि नेपाली साहित्यिक क्षेत्रमा उत्तिकै विवाद छ । प्रवाशी नेपाली साहित्यमा पनि त्यसको प्रभाव परेकै होला । प्रगतिशील र प्रगतिवाद भन्ने पदावलीलाई पनि एकापसमा मिसमास गरेको देखिन्छ । तर प्रगतिशील स्वभावजन्य पदावली हो । बेथितिको विरोध गर्नु र सुधारको अपेक्षा गर्नु प्रगतिशील साहित्य हो । तर प्रगतिवाद मार्क्सवादसम्मत तरिकाले बेतिथिको विरुद्ध आन्दोलन वा क्रान्तिको आह्वान गर्नुलाई बुझाउँछ । यसमा पनि बखेडा छ नेपालभित्रको साहित्य लेखनमा । खैर, हामीमा अझैसम्म त्यस्ता विषयमा बहस गरेर मूल मुद्धालाई ओझेलमा पार्ने फुर्सद छैन ।

अन्तमा, भाषा सिकाइको आधारभूत चरणमा हाम्रा बच्चालाई कसरी नेपाली सिकाइरहेका छौँ ? सिकाइ योजनाबद्ध छ कि छैन ? त्यसबारे हामीले हाम्रा कार्यक्रमहरूमा छलफल चलाउन जरुरी छ । त्यसको लागि अनेसासमार्फत प्रवासको नेपाली समुदायमा सार्वजनिक आह्वान गर्नु जरुरी छ । भाषा समुदायसँगै बाँच्न नसके प्रवासी नेपालीको पहिचान गुम्ने खतरा हुन्छ । त्यस्ता लक्षण देखिन थालेका पनि छन् । हामी घरमा भाषा सिक्दै गरेका सन्ततिहरूमा भन्दा हाम्रा सम्मेलनहरू अनुहार चिनाउने गोष्ठीहरूमा व्यस्त छौँ । हाम्रो समाज वा शाखाहरू सृजनाको विमोचन गर्ने अखडा मात्र नबनुन् । अनेसासका कार्यक्रमहरूलाई भाषिक सांस्कृतिक पहिचान जोगाउने जागरण मोर्चा बनाउँदै अभियानको रुपमा बिस्तार गरियोस् । त्यहीअनुसार नीतिनिर्माण गर्ने विधि विधान निर्माण गरियोस् । संस्थापक अध्यक्षले भने झैँ यसलाई नेपाली भाषा विद्यालयको रुपमा विकास गरियोस् । विगतको सिंहावलोकन गर्दै आगामी रणनीति र कार्यनीतिको निर्माण गरियोस् । यसमा आगामी सम्मेलनको ध्यान आकर्षण होस् ।

हाम्रा अग्रज अभिभावकहरू सन्तान भेट्न प्रवास आउँदा ‘हाउ आर यु, आर यु ओके’ भनेर उनीहरूको मौलिकतामा लात हान्ने वातावरण हामीले नहटाए कसले हटाउँछ ? हाम्रा अग्रजहरू, आफ्ना नाति-नातिनीहरूसँग गफिन नपाएर रुँदै नेपाल फर्केका परिदृश्यहरू हामीले देखेसुनेका छौँ । यही कारण एक पटक प्रवास आएका अभिभावक पुनः आउन मान्दैनन् । यो हाम्रो लागि गम्भीर ध्यानाकर्षणको विषय हो । यस्ता मुद्धाहरूमा हामीले खासै चासो दिएजस्तो लाग्दैन ।

भाषा-संस्कृति नेपाली लिपिसँग जोडिएर आएको हुन्छ भने यी दुवैसँग साहित्य जोडिएको हुन्छ । माथि नै भनियो आफ्ना पाठकबिनाको साहित्य सृजना चिहानको लास जस्तै हो । चिहानको लासले बेला-बेलामा सम्मान पाउँछ, सजिन्छ तर त्यसले समाजलाई गति दिन सक्दैन । नपढिने पुस्तक पुस्तकालयले पनि दराजमा राख्न मान्दैनन् । हो, ती पुस्तकहरू भोलि साहित्यिक अनुसन्धान गर्नेहरूलाई मात्र काम लाग्लान्, अन्यथा श्रष्टाको मेहनतले अवहेलना मात्र पाउने हो । सुरुङभित्र सजाएको सृजना आफै मुल्यहीन हुने हो ।

त्यही कारण बेल्जियममा अनेसासले नेपाली शैक्षिक अभियानलाई समुदायसँग जोड्ने कार्यक्रम ल्याएको छ । संजालमा अनुहार देखाउनको लागि गरिने कवि गोष्ठीले भन्दा जनसमुदायलाई सहभागी गराइएका कार्यक्रमले भाषिक जागरणमा उर्जा पैदा गर्दोरहेछ भन्ने सत्य हामीले अनुभवबाट सिकेका छौँ । बहसमा अलमलिनु भन्दा भाषिक चेतनाको जागरण पैदा गर्ने कार्यक्रमले समुदायमा तरङ्ग पैदा गर्दछ । संयुक्त विचार आदानप्रदानले समुदायलाई नेपाली भाषिक सांस्कृतिक समुहमा बदल्न सहयोग पुऱ्याउँछ ।

व्याख्या त सबैले गर्छन्, मुख्य कुरा सम्मेलन वा गोष्ठीमा भाषिक प्रवचन दिनु हैन, मुख्य कुरा त यथास्थितिलाई बदल्नु र अर्को पुस्तालाई सांस्कृतिक पुस्ताको रूपमा तयार पार्नु हो । नेपाली समुदायलाई पहिचानसहितको डायस्पोरामा बदल्नु हो । भोलिका सन्ततिहरूलाई उनीहरूको पहिचानबारे सचेत र जागृत गराउनु हो । त्यो काम थोरै भएपनि हाम्रा अभिभावकहरूले बेल्जियमबाट शुरु गर्नुभएको छ । म त्यसको लागि सोफिया महर्जन कार्की, ब्रह्म वाग्ले दाजु, परमानन्द सापकोटा, यामु निरौला, अनेसासका अग्रजहरू, धर्म पाठक, एनआरएन अध्यक्ष खड्कबहादुर केसी, नारायण अधिकारी, निलम घिमिरे सापकोटा, रीना शाही, रुविना शर्मा, नरेन्द्र अधिकारी, शशी काफ्ले रेग्मी लगायत सम्पूर्ण शिक्षक/शिक्षिकाहरूलाई सम्मान गर्न चाहन्छु ।

पङ्क्तिकार भाषिक जागरण थोरै भएपनि बेल्जियम गएर हेर्नुस्, बुझ्नुस् र सिक्नुहोस् भनेर अनुरोध गर्दछ । त्यहाँ भाषिक जागरणको लागि समुदाय जागेको छ । पुर्खाको चिहान बनेर बस्ने तरखर गरेका हाम्रा बन्धुहरू पहिचानको जागरणले ब्युँझन थालेका छन् । नेपाली समुदायभित्र क्रमशः चेतनाका झिल्काहरू निस्कन थालेका छन् । जागरणको नाराले ज्वाला बन्ने तरखरमा निस्केका झिल्का झिल्किहरू जोडिँदै छन् । थाइ र म्यान्मार लगायतका नेपालीभाषी समुदायबाट सिकेर अनेसास बेल्जियम लामो भाषिक अभियानमा लामबद्ध हुने तरखरमा छ । हामी त्यति धेरै जुमतिर निस्केका पनि छैनौँ । अहिले घर-परिवारमै केन्द्रित छौँ । ‘हाउ आर यु र आइ लभ यु’ भनेर आफ्ना बच्चाहरूलाई सिकाउने अग्रजहरूले कख र १, २, ३ सिकाउन थालेका छन् । अभिभावकले घरमै बाह्रखरी चिनाउन कस्सिएर लागेका छन् । हाम्रो कुरा यस्तै हुन् ।

भाषा परिवारबाटै शुरु गरौँ, हाम्रो भाषिक अभियानमा अभिभावकबाट छिरेर नयाँ पुस्ताबाट निस्कौँ । भाषा मरे साहित्य र संस्कृति एक्लाएक्लै बाँच्न सक्दैन । हाम्रा सन्तान नेपाल जाँदा, एक्लै घुम्न निस्कँदा, पाइखाना खोज्दै-खोज्दै भाषा नबुझेर ‘श्री गणेशाय नम’ र ‘बुद्धम शरणं गच्छामी’ लेखेको मन्दिर वा गुम्बामा पसे भने अनर्थ हुनेछ । उनीहरू आजीवन मनोरोगी मात्र हुने छैनन्, आफ्ना अभिभावकलाई पनि श्राप दिने छन् ।

अनेसास तथा प्रवाशी नेपाली समुदायको पहिचान बचाउने सवालमा केही टिप्स-

१. सार्वजनिक मञ्चहरूमा नेपाली बालबच्चालाई पढाउन अपिल गर्ने,
२. घर–घरमा नेपाली भाषाको प्रशिक्षणको लागि अभिभावक प्रेरणा कार्यक्रम गर्ने,
३. नेपाली सिकेका दोश्रो पेशाको लागि भाषिक उत्थान र लेखनका लागि प्रोत्साहन कार्यक्रम गर्ने,
४. बाल तथा किशोर–किशोरीहरूसँग गीत तथा लेखन प्रतिष्पर्धाका कार्यक्रमहरू गराउने,
५. घरमा आगामी पुस्ताको पहिलो भाषा नेपाली बनाउन लगाउने,
६. नेपाली भाषामा मिसावटको न्यूनीकरणमा जोड दिने,
७. नेपाली भाषाको अनलाइन र कोर्ष डिजाइनमा भूमिका खेल्ने,
८. विमोचन नयाँ पुस्ताबाट गराउने जसले गर्दा नयाँ पुस्तालाई भाषा सिक्ने र रचना पढ्ने प्रेरणा मिलोस्,
९. सामुहिक वार्तालापलाई भाषिक पुस्ता हस्तान्तरणको चाबी बनाउने,
१०. अनेसासका शाखा अनुगमनलाई प्रभावकारी बनाउने,
११. शाखाको अधिवेशनमा केन्द्रको सकभर सहभागितालाई प्रोत्साहन गर्ने,
१२. शुद्ध प्रवाशी सृजनाको अभिलेख राख्ने,
१३. स्थानीय सामाजिक संघ संस्थासँगको सहकार्यमा कार्यक्रम गर्ने,
१४. अनेसास शाखाहरूको मुल्याङ्कनमा सबै क्षेत्रलाई समेट्ने गरेर समानुपातिक मुल्याङ्कन पद्दतिको विकास गर्ने,
१५. सम्पूर्ण शाखाहरूको इतिहास केन्द्रिय अभिलेख तथा केन्द्रको इतिहासमा समेटिनु पर्ने,
१६. क्षेत्रीय संरचनामा जानुपर्ने अवस्थाबारे गहन बहस चलाइनुपर्ने,
१७. जनजातिहरूलाई उनीहरूको मातृभाषा पढ्न र बुझ्न पनि प्रोत्साहन गर्ने,
१८. बच्चालाई मनपर्ने खालका नेपाली दृश्य सामग्री, भिडिओहरू हेर्ने बानी बसाल्ने,
१९. प्रत्येक शाखा र केन्द्रमा समेत भाषा इकाईको स्थापना गर्ने,
२०. अन्तर्राष्ट्रिय प्रवाश साहित्य समाजलाई अलग उपकेन्द्रअन्तर्गत लैजाने, अनेसासको संरचनाभित्र रहेका साहित्यकारहरूबीच भिन्न क्षमता, जस्तो– कथा क्षेत्र, कवि, समालोचना, उपन्यास, काब्यलगायतका क्षेत्रहरूका भिन्न–भिन्न विभागहरू बनाएर अनुभवहरूको आदानप्रदान गर्ने, प्रकाशित पुस्तकहरूबारे साहित्यिक विश्लेषणहरू गर्ने–गराउने गर्दा सृजनात्मक स्तरीयतालाई मद्दत पुग्न सक्छ ।

प्रवासमा लेखिएका पुस्तकहरूको विमोचन, शुभकामना, तथा समालोचना आफ्नै नेतृत्व वा अनेसासमार्फत नै गराउँदा नेतृत्व तथा संगठनकै गरिमा बढ्दछ ।

नेपालको केन्द्रिय पुस्तकालयमा प्रवाश साहित्यको अलग वार्ड बनाउन पहल गर्ने, त्यसको लागि अनेसासले सम्बन्धित निकायलाई दबाब दिन सक्दछ । त्यसले नेपालीहरूद्वारा प्रवाशमा लेखिएका साहित्यको बारेमा चासो राख्ने साहित्यिक अनुसन्धानकर्मी र अध्ययन गर्न चाहनेहरूका लागि पनि सहजता प्रदान गर्नेछ । यी सबै कुराको लागि हामीले निरन्तर पहल गर्नु जरुरी हुन्छ जस्तो लाग्दछ । अस्तु ।