सत्पात्रको खोज

सत्पात्रको खोज


✍ बलराम सिलवाल


कसैको जीवनसित मेल खाएमा संयोग हो ।

कसैले झुण्ड्याएर छोरो मारेको, कसैले बिख ख्वाएर बाऊ मारेको, कसैले स्वास्नी मारेको त कसैले छोरीलाई करणी गरेको समाचार सुन्दा सुन्दा कान पाक्यो, छड्क्यो । त्यति मात्र कहाँ हो र ? कोहीले पानी टङ्कीमा करोडौँ लुकाएको, कोहीले भरेङमुनि अर्बौं लुकाएको त कोहीले विदेशी बैंकमा खर्बौं थुपारेको इत्यादि घटनाहरू । राणा फालेसि बखत-बखतमा तथाकथित क्रान्तिहरू सम्पन्न भए; चप्पल पड्काउनेको हैसियत अर्बपतिमा पुग्यो; जनता सर्वहाराको सर्वहारा रहिरहे । नातावाद मौलायो । परिवर्तनको छेकछन्द देखिएन । जति जोगी आए नि कानै चिरिएका । यो नौटङ्कीबाट टट्टाएर मैले पनि भैरव झैँ सत्पात्रको खोजमा सत्संगार्थ मनुवाहरूको लिस्ट तयार पारेँ ।

पहिलो नम्बर – ध्वस्तराज पारकोटे । मि. जेकाइल र हाइड जस्तो पात्र । बाहिरी सुकिलो भित्री मुकिलो । पापको प्रायश्चित कहिले पो होला ?

दोस्रो नम्बर – भ्यागुतोप्रसाद भकुरेल । फाइँफुट्टीको राजा । मिथ्यालाप गर्दो, अर्कोलाई मुर्ख बनाउँदो । घोर अहङ्कारी ।

तेस्रो नम्बर – बेसुरप्रसाद कुमेकी । आफ्नो स्वार्थको लागि विचार फेर्ने । मुलुक खङार्ने चाकडीबाजको लर्को ।

चौथो नम्बर – गोहोरोबहादुर थाप्ले । अनाचारी । तश्कर व्यापारी । आफू सद्दे अरू विसद्दे ठान्ने ।

पाँचौं नम्बर – घन्टाउके बज्रठिंगा । सुझ न बुझको गोरु ।

छैटौ नम्बर – गोरुआँखे डाम्नो । जाली ।

सातौँ नम्बर – अङारे लोभी । हाडफोरा । लालबुझक्कड ।

आठौँ नम्बर – छुल्याहा लम्पोछवा । फटाहाको राजा ।

नवौं नम्बर – फोहोरी लिखाहा । परपुरुषगामिनी ।

दशौँ नम्बर – ढुकुरचन्द जैंसी । तालिमविहीन निर्गतिलो शिक्षक ।

एघारौँ नम्बर – खैरे सुकुटी वानी । पीडितमारा ।

बाह्रौँ नम्बर – कर्मदेव । अधर्मी ।

तेह्रौँ नम्बर – ओखरराज जुम्र्याहा। भ्रष्टाचारी ।

चौधौँ नम्बर – धोकाप्रसाद रक्स्याहा । पापाचारी ।

पन्ध्रौँ नम्बर – राङोराज गत्कुल । विद्यार्थीको गोठालो ।

सोह्रौँ नम्बर – गोरुराज पाठी । स्थानीय स्टड ।

सत्रौँ नम्बर – बुद्धिहीन नाटक । संस्कारहीन ।

अठारौँ नम्बर – कुकर्मबहादुर गुर्मी । परस्त्रीगमक ।

उन्नाइसौँ नम्बर – भैंसीराज चितुवा । विध्वसंक ।

बीसौँ नम्बर – गोमन हरिलट्ठक । अगतिलो चेलो ।

एक्काइसौँ नम्बर – डल्ली बथुरी । अक्षम शिक्षिका ।

बाइसौं नम्बर – बखतबहादुर लाम्कादे । असफल प्रधानाध्यापक ।

तेइसौं नम्बर – सुन्तली सालबासे । कुराकटुवी ।

चौबीसौँ नम्बर – बाटुली चम्रेल । तालिम अप्राप्त शिक्षिका ।

सबैका सबै बिल्टु निस्के, संगतिलो कोही रहेन । गतिलो कोही निस्केन । के पो गुनासो गर्नु र ?! बरु आफै ठीक । सत्पात्रको खोज त्यागेँ । खाँच्चैसिती । बाउसे सकियो । आजलाई मैजारो ।