प्रतिमा, ह्यापी बर्थ डे !

प्रतिमा, ह्यापी बर्थ डे !


✍ डिल्ली अम्माई

वसन्त ऋतुको पूर्वसन्ध्या
अर्थात् फागुन अठारको मालाश्री उज्यालोमा
आकास खुलेको दिन
बिहानीपखको लालिमा
पहाडबाट लालीगुराँसका पराग
रंगमा मिसिएर उज्यालिँदै
हाम्रो घरको बँलेसीमा टुप्लुक्क आइपुग्यो,

हिमालदेखि सुसाएको आवाज
हावाको एक मुठी बायु लिएर
गरिव दुखीको मनमा खुशी उमार्न
नारायणी तरेर हाम्रो बँलेसीमा
वसन्तको खुशी उमार्न खेल्न टुप्लुक्क आइपुग्यो,

त्यो वसन्ती हावा
त्यो युग परिवर्तनको आवाज
त्यो एक गरिवको खुशी
त्यो लाली मिसिएको गुराँसको पराग
र, त्यो हिमालय सुसाएको आवाज
च्याहाँ च्याहाँ,
त्यो ओह्याँ ओह्याँ,
अरु कोहि नभएर मेरी छोरी थिइन्,

रोगब्याधबिरामीले पीडित हजारौँ आत्मालाई सुम्सुम्याएर
आरामको कामना गर्ने मेरी छोरी,
बाँचुन्जेल प्रेमसँग जिउन सिकाउँदै
हातमा पन्जा लगाएर बिरामी स्याहार्ने हाम्री छोरी,

परोपकारको मधुरसमा पौडी खेल्दै
प्राणहरुको पोखरीमा सम्हालिँदै
प्रत्येक मृत्युन्मुख शरीरमा
जीवन रुपी बिज रोप्ने मेरी छोरी,
अन्तर्राष्ट्रिय जातको एक फूल
विश्वको सदाबहार कल्याण
र आशाको ज्योति मेरो छोरी,

तिम्रो जन्म सार्थक छ
तिम्रो मन बोधीवृक्ष झैँ
सदा सर्वदा पवित्र छ,
तिम्रा हातहरु हिमालयका संजीवनी जस्तै
सदा सर्वदा उपकारी मृत्युन्जयी छन्,
तिम्रो शरीर हिमालय जस्तै उचाइमा
प्रतिमा बनेर गर्व गर्नलायक छ नै,
तिम्रो सेवाले मानव कल्याणको चमक देओस्,
तिम्रा हातले प्राणका बिरुवा बाँचिरहुन्,
तिम्रो विनीत कामनालाई देवताले सुनुन्,
तिम्रो मन कामधेनु बनोस्,
तिम्रा फूल जस्तै हातहरु
परमार्थी उज्यालोमा मग्मगाइरहुन्
युग युगसम्म,
तिम्रा पाइलाहरु सेवाका
अमर सेवाका दधिची कदम बनुन् ।

तिम्रो शरीर अन्तर्राष्ट्रिय जातको
नर्सिङ्ग सेवाले अझै उज्यालियोस्,
तिम्रो आत्माको उज्यालो
युग युगान्तरसम्म प्रेरणाको ज्योति बनोस्,
जन्मदिनको शुभकामना प्रतिमा,
ह्यापी बर्थ डे मेरी प्यारी छोरी।