मनाइयो ८५औँ अम्बर जयन्ती

मनाइयो ८५औँ अम्बर जयन्ती


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहनुभएका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाएको छ ।

संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पुऱ्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कुलपति राईले गीत, सङ्गीत र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक सङ्गीतका एक महारथी हुनुभएको बताउनुभयो ।

समकालीन नेपाली सङ्गीतमा स्थापित प्रायःसङ्गीतकर्मी गुरुङबाटै दीक्षित रहेका र आफूले पनि गीतकारको हैसियतमा पचासको दशकदेखि गुरुङको सान्निध्यता पाएको स्मरण गर्नुभयो । कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा-प्रतिष्ठानलेसमेत उहाँको जन्मजयन्ती भव्यरुपमा मनाउने योजना रहेको बताउनुभयो ।

सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति पोखरेलले अहिलेका नयाँपुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताउनुभयो । विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्तीको परम्परालाई प्रज्ञा-प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

उपकुलपति राईले गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको एक सिद्धहस्त साधक भएको बताउँदै उहाँले नै नेपाली सङ्गीतमा पहिलो पटक पाश्चात्य सङ्गीतको ‘क्वायर’को प्रयोग गरेको जानकारी गराउनुभयो ।

परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख किराँतले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियस्तरमा स्थापति गर्न सबल साङ्गीतिज्ञ गुरुङलाई आफूले रसिक स्रष्टाका रुपमा समेत पाएको स्मरण गर्नुभयो । कार्यक्रममा गुरुङका दुई सिर्जनासमेत प्रस्तुत गरिएको थियो ।

प्राज्ञसभा सदस्य राधा राईले गुरुङका रचना तथा सङ्गीत र शान्ति ठटालले गाउनुभएको ‘सम्हालेर राख…’ र प्राज्ञसभा सदस्य कला राईले हरिभक्त कटुवालको रचना, नारायण गोपालको स्वर र गुरुङको सङ्गित रहेको ‘पोखिएर घामको झुल्का…’ गीत प्रस्तुत गर्नुभएको थियो ।

विसं १९९४ फागुन १४ गते दार्जिलिङमा गुरुङको जन्म भएको थियो । विसं २०६७ देखि २०७१ सम्म सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको कुलपति रहनुभएका गुरुङको निधन २०७३ सालमा भएको थियो ।