होसियार

होसियार


✍ राममान तृषित

होसियार !
हामी अझै पनि खतरामुक्त हुन सकेका छैनौँ
हरेक दुलोभित्र साँपहरू लुक्ने गरेका छन्
कुकुरहरूले आफ्नै मालिकलाई भुक्ने गरेका छन्
भ्रममा नपरौँ
रामको भेषमा रावणहरू धनुष उठाउँदैछन्
कृष्णको भेषमा कंसहरू उपदेश सुनाउँदैछन्
थुप्रै शकुनीहरूको पासाले खिइएको
यो देशको नक्सामा
लुम्बिनी कहाँ छ भनी खोज्नुपर्ने भइसक्यो ।
जनतालाई भ¥याङ बनाएर
धेरै धूर्तहरूले शिखर चढिसकेका छन्
राजनीतिक वैशाखी टेकेर
धेरै लङ्गडाहरू अगाडि बढिसकेका छन्
सोझाहरूको लागि
झिँगा धपाउन पनि आदेशको प्रतीक्षा गर्नुपर्ने
यो कस्तो विडम्बना !
यतिका फटाहा, पाखण्डी र नालायकहरूले
आशीर्वाद प्राप्त गरिरहेको बेला
हामी
आफ्नै व्यक्तित्वमा पनि व्यक्त हुन सकेका छैनौँ
हामी अझै पनि खतरामुक्त हुन सकेका छैनौँ ।

(स्वर्गीय राममान तृषितको ‘तृषितका कविता सङ्ग्रह’बाट)