भगवान र धर्मको वास्तविकता

भगवान र धर्मको वास्तविकता


अध्यात्म चिन्तन

✍ दामोदर पौडेल

धर्म त त्यही हो जसले तपाईंलाई शान्तिको अनुभूति गराउँछ, तपाईंलाई शान्तिको अनुभुति हुँदा अन्य विचार वा धर्म धारण गरेकाको लागि डर हुँदैन । त्यस्तै, अरुबाट तपाईंको ब्यवहारको पनि अपेक्षा रहन्छ तथा त्यो अवसर, चाहना, भावनालाई केन्द्रित गरेर दिएका वचनहरू नै ईश्वर वचन हुन् । नाम नै नलिएर कमन नाउन (जातिवाचक नाम) लिएर त्यो भगवानको म पुजक हुँ भनेर, केही नाम नै नभएको अर्थात् नाम भन्न मन नलागेको जस्तो लाग्छ भने त्यही उपरवाला, गड, भगवान, ज्योतिरूपलाई सम्झेर प्रार्थना गर्न सकिन्छ । ब्यक्तिवाचक नाम राम, कृष्ण, बुद्ध, ब्रम्ह, अल्लाह, परमेश्वर, स्वर्गका पिता, दुर्गा माता आदि नाम लिएर वा नलिएर पनि कतिपय धर्मको भन्दा झनै राम्रोसँग प्रार्थना हुन सक्दछ । यही भावना र कामबाट मुक्ति प्राप्त हुन्छ । ब्रम्हाण्डको उत्पत्ति, भगवानको अमुक सन्देश, मानिसको उत्पत्ति आदिको ज्ञान मुक्तिको लागि अनिवार्य होइन, विज्ञानसम्मत जानकारी योग्य विषय हो ।

धर्मको बारेमा स्वधर्म पनि भनिन्छ जुन साह्रै महत्वपुर्ण छ । स्वधर्म भनेका आफ्नो शरीरको स्वभाव र भिन्नता, वौद्धिक क्षमता, शरीरको बनौट आदिको आधारमा आफ्नो लागि उपयुक्त बाटो हो । जस्तै सबै वैज्ञानिक हुन सक्दैनन् । ज्ञानको क्षमताअनुसार मानिस वैज्ञानिक हुन सक्छ भने पढाइ राम्रो गर्न नसक्नेले ब्यवसायसम्बन्धी पढाइ र काम गर्न सक्छ । मानिस स्वधर्मप्रति सजग हुन आवश्यक छ र, स्वधर्मअनुसार पढाइ र पेशा लिनाले उसको क्षमताको उपयोग हुन्छ अनि प्रयास खेर जँंदैन । पाइलटको ज्ञान वा क्षमता भएकाले गर्ने काम डाक्टरले गर्न चाहेमा परिणाम भयावह हुन्छ ।

धर्मका केही पक्षहरू अपरिवर्तित हुन्छन् । जस्तै भगवान छन् । तिनको स्मरण र भक्ति तथा उनले दिएका अपरिवर्तनशील सन्देशहरू तथा समय सापेक्ष तथा स्वधर्मअनुसारका सन्देशहरू छन् भन्ने ज्ञान र व्यवहार हुनु तथा अपराध नगर्नु, असमान ब्यवहार नगर्नु आदि धर्म हो ।

भगवानका बारे र धर्मका बारे केही छनौट गर्न सकिने छन् । जस्तै, भगवान निराकार, साकार वा कण–कणमा छन् आदि कुरा इच्छा र स्वभावअनुसार छनौट हुन सक्छ । भगवानको स्तुती गर्ने, नाम जप्ने, भक्ति गर्ने, गीत-संगीतबाट भगवानलाई सम्झने, ज्ञान लिने, निस्काम कर्मयोग आदिमा कुनै वा केही वा धेरै क्षमता र आवश्यकताको आधारमा छनौट गर्न सकिने हुन्छ । केही विषय समयसापेक्ष छन् तथा परिस्थितिजन्य छन् । तिनै समेतका विषयलाई समन्वय गरेर वा कुनैलाई प्रधान मानेर धर्म पनि मान्न सकिन्छ । आफ्नो कारणले भएको परिणामको उचित किसिमले इमान्दारी साथ निकास दिनु पनि धर्मको पाटो हो ।

अर्कोतर्फ प्राणीको उत्तपत्ति कसरी भयो हाला ? भगवानले माटोको मुर्ति बनाएर सास राखिदिएका होलान् वा आफ्ना सन्तानलाई पृथ्वीमा पठाएका होलान् वा पुरुषलाई पहिला पठाएर पुरुषको एउटा करङबाट महिलाको शरीर बनाएका पो हुन् कि भन्ने समेत अन्य धेरै भनाइ छन् र, त्यही कारणले दुविधाहरू पनि छन् । उपरवालाले आफूजस्तै चेहराको मानिस बनाए समेत भनिन्छ ।

अनन्त कालदेखि रहेको अनन्त ब्रम्हाण्डको सम्बन्धमा जे नै सत्य भए पनि कुनै भनाइ आफ्नो सोचको आधारमा सत्य नलाग्न सक्दछ । त्यसैले यो अनन्त ब्रम्हाण्ड र जीवहरू तथा तिनीहरूको सर्जक को हुन् भन्ने सवाल नै मुलभूत रूपमा हामीहरूको लागि अनावश्यक नभए पनि पत्ता लगाउन नसकिने जस्ता विषयसमेत हुन् । अनन्त ब्रम्हाण्डको सम्बन्धमा स्वयम् उपरवालाले नै सम्पुर्ण कुरा बताएमा एउटा प्राणीले बाँचिन्जेल सुनिरहँदा पनि ब्रम्हाण्डको बारेमा एउटा सानो छेउबराबर पनि सुन्न सफल हुँदैन । अनन्तकालदेखि रहनुभएका निराकार निरन्जन वा साकार रुपमा पनि प्राणीको सुविधाको लागि भगवान् वा भगवतीको रुपमा देखिने वा पुर्णव्रम्ह नै सृष्टिको अनन्त ब्रम्हाण्डको र सबै जीवको रचयिता निर्माता हुन् र त्यो सम्पुर्ण बुझ्न त कसैलाई पनि सम्भव हुँदैन । उनलाई भगवान्, उपरवाला, बुद्ध आदि नामले विभिन्न भाषामा अलग-अलग रुपमा सम्झिने र पुज्ने गरिन्छ भन्ने हामीले मनन गर्ने विषय हो ।

अनन्त कालदेखि नै जीवहरूको उत्पत्ति भएको हो । ब्रम्हाण्डका विभिन्न पिण्डहरूको परिवर्तनले गर्दा निश्चित अवस्थामा निश्चित जीवहरूको लागि पिण्डहरू प्राणीको लागि बस्नयोग्य भए । त्यही उपयुक्त अवस्थामा पिण्डमा रहेको उपयुक्त वातावरणको आधारमा प्राणीहरूको विकास हुने अवस्था आयो । प्राणीको उत्पत्तिको वतावरण तयार भएपछि मुलतः पृथ्वीलाई आधार मान्दा एक कोषीय जीवको प्रादुर्भाव भयो । त्यो जीव बन्दै गर्दा पुर्ण ब्रम्ह अर्थात् उपरवालाले त्यस जीव हुँदै गरेको शरीरमा आत्मा राखिदिनु भयो । अर्थात आत्मा र प्रकृतिको मिलन नै जीव थियो र हो । जसरी जीवहरूको वृद्धिको वातावरण बन्दै गयो, उहाँले तिनमा आत्माहरू राख्दै जानुभयो अर्थात् प्राण दिनुभयो । ती सबै पूर्ण ब्रम्हबाट नै प्राप्त आत्मा र/वा प्राण हुन् । अलग पिण्डमा अलग जीवहरू हुनुमा कुनै कारणले अन्य पिण्डका जीवहरू वातावरण उचित भएकोले र विज्ञानको राम्रो विकास भएको ठाउँबाट आएर बस्ने वा अन्य पिण्डहरू तथा अन्तरिक्षमा रहेको साना अविकसित मुलतः एक कोषीय र केही जीवाणुहरू अर्को पिण्डमा खसेर, झरेर वा कुनै प्रकारले आउन पुगेर जीवको लागि उपयुक्त वातावरण भएको पिण्डमा जीवको वृद्धि हुन थाल्यो । तर सबै पिण्डमा एउटै अवस्था हुन्छ भन्ने हुँदैन ।

जीव विकास त सामान्यतः एक कोषीय जीवको विकास त्यस प्रकारका प्राणीहरूको लागि भर्खरै बस्नयोग्य भएका पिण्डहरूमा भयो । उक्त पिण्ड साह्रै धेरै चलयमान तथा दिनहुँजसो भूकम्प जाने कारणले जीवलाई साह्रै कष्ट हुन्थ्यो । कहिले एक प्रकारको त कहिले अर्को प्रकारको वातावरण फेरिइरहने कारणले जीवन बचाउनको लागि स्वभाविक रूपमा प्रतिकुल परिस्थितिसँग तालमेल गर्नुपर्ने हुँदा त्यो जीव बहुकोषीय हुँदै जनावर, वनस्पति समेतमा विकसित हुन पुग्यो । पृथ्वीमा उथलपुथल ज्यादा हुँदा अझै धेरै कठिनाइसँग जुधेका जीवहरू अझ विकसित हुँदै गएर ज्यादा सङ्घर्ष गर्न परेका कुनै प्रकारका जीवहरू मानवसम्म पनि बन्न सके । मानव जाति पनि सबैभन्दा धेरै कठिनाइ भोग्न परेकोले नै सबैभन्दा चलाख हुन पुग्यो । पछि त्यही मानवजाति पनि एकअर्कामा घुले । पिण्ड मात्र नभएर प्राणीको विकासको क्रम पनि बहुआयामिक छ । परिस्थिति, बस्तुको पहुँच आदिको विविधताले यस्तो भएको हो ।

हरेक जीवमा उपरवालाले प्राण आफूबाट नै बिउको रूपमा निकाल्नुभयो वा पुनर्जन्म भएको होला भन्ने जिज्ञासा पनि आउँछ । अनन्त ब्रम्हाण्डमा अनन्त प्राणीको लागि अनन्त बासस्थानयोग्य पिण्ड हुन्छन् । कतिपय पिण्ड बस्न अयोग्य बन्दै पनि जान्छन् ।

यसरी अनन्त ब्रम्हाण्डमा रहेका अनगिन्ती जीवहरू शरीरको अन्त्यको कारणले बाहिर आउँछन् र आफ्नो पहिलाको जन्ममा गरेको कामको आधारमा अर्को जन्म पाउँछन् । यो क्रम चलि नै रहन्छ । ती जीवहरू जब मानव योनीमा पुग्छन् तब उनीहरू जन्मेपछि सत्कर्महरूको माध्यमबाट मुक्ति पाउँछन् । स्वर्गमा पुग्छन्, शिव बाबाको धाममा पुग्छन्, गोलोक कविरधाम आदिमा पुग्छन् । अझै राम्रो कर्म गरेको भए पुर्णब्रम्हमा नै मिलेर रहन्छन् र क्रमशः उहाँमा नै विलिन जस्तो अवस्थामा पुग्छन् । त्यस समयमा पनि उनीहरूको छनौट नै मुख्य आधार हुन्छ । पुर्णब्रम्हमा नै समाहित हुने कि अलग्गै जीवको रूपमा रहने कुराको निर्णय ती आत्माहरूले नै गर्दछन् । तर अन्त्यमा उनीहरू परमात्मामा नै मिल्न चाहन्छन् । उनीहरू पनि परमात्माजस्तै स्वयम्मा नै पुर्ण आनन्दित हुन्छन् तथा सबैभन्दा बढी आनन्द पाउँछन् । त्यो आनन्द नदी महासागरमा मिसिएजस्तै हो । महासागरमा मिसिएपछि त्यो पानी बस्तुतः अलग हुन्छ तापनि अलग हैसियत हुँदैन र सबैभन्दा राम्रो हैसियतमा रमाउँछ र आत्मिक सुखको खुसीमा हराउँछ ।

भगवान (पुर्णब्रम्ह) महिला हुन् कि पुुरुष हुन् ? उनी महिला पनि होइनन् र पुरुष पनि होइनन् वा दुवै हुन् । अनन्त ब्रम्हाण्डमा रहेमध्येका पिण्डको आवश्यकताको आधारमा जे पनि हुन सक्ने हुन् । उनी सशरीर कहिले महिला, कहिले पुरुष, कहिले अन्य जीवको रूपमा आवश्यकताअनुसार देखिन्छन् । त्यसैले उनलाई हामीले सदृष्य, अदृष्य, बिन्दु रुप, आमा, बाबु, साथी जे भने पनि हुन्छ । परम भक्तहरूले जुन रूपमा भगवानलाई सम्झन्छन् त्यही रूप वा अवस्थामा उनी प्राप्त हुन्छन् । उनलाई जे जुन रूप वा अवस्थामा प्रार्थना गरेर मन, कर्मसमेत पवित्र राखेर पृथ्वीका राम्रा कार्य र भक्ति गरिन्छ उनी त्यही अवस्थामा हामीलाई प्राप्त हुन्छन् । मेरो रोगको लागि जुन औषधि चाहिन्छ, मलाई उपयुक्त बस्तुमध्ये कुन बस्तुको स्वाद मनपर्छ सोही स्वाद हुन् उनी ।

त्यसैले भगवानको आकारप्रकारमा कुनै विवाद नै छैन । जुन अवस्थालाई मान्न आफूलाई सजिलो हुन्छ त्यही मान्न सकिन्छ र पाइन्छ, शर्त यत्ति नै हो कि सबै स्वादहरू भगवान भक्ति, सत्कर्म, सद्विचार, समाजोपयोगी र विवेकशील हुन पर्दछ । अलग आवश्यकता, अलग परिवेशसमेतका कारणले भगवानलाई अलग अवस्थामा सोच्न सकिन्छ ।

भगवानलाई मानिसहरूले विभिन्न कुरा चढाउँछन् तर ती बस्तु भगवानले नै हामीलाई दिएका हुन् । ती बस्तु किन भगवानलाई चढाउने ? ती बस्तु सधैं वा चाडपर्वमा उनको भक्ति गरेर, मन्त्रोच्चारण गरेर, अझै उनीप्रति समर्पित भएर प्रसादीको रूपमा प्रयोग गर्ने हो र गर्न अरुलाई दिने हो अर्थात् चाहना भएका आवश्यक जीवहरूलाई दिने हो । उनलाई चढाएर खेर फाल्नुको कुनै औचित्य हुँदैन । उनी दाता हुन् र उनलाई मैले दिएको खानेकुरा वा अन्य बस्तुको कुनै दरकार वा औचित्य छैन, किनकि उनले हामीहरूकै लागि दिएका हुन् । के उनले दिएको बस्तु उनैलाई फिर्ता गर्नु उपयुक्त हो ? उनको नाम लिएर पानीमा फाल्नु वा अन्य किसिमले राख्नु राम्रो हुन सक्दैन । बरु उपयुक्त किसिमले उनलाई सम्झेर उनले भनेअनुसार समय बिताउने प्रण गरेर उनले दिएको प्रसादीको रूपमा नै प्रयोग गर्नुपर्छ ।

भगवानलाई सम्झेर तीर्थ गर्न जान आवश्यक छैन, किनभने भगवान घरभित्र थुनिएर बस्ने होइन बरु सर्वत्र छन् । केवल घुम्न जान सकिन्छ, आफू रहेको नजिकमा पर्ने देवस्थलमा गएर उनलाई सम्झनु सबैभन्दा राम्रो हो र घरमा त सँधै त्यो गर्न पर्छ र सकिन्छ । देवस्थलमा सम्झिनु भगवान त्यहीँ मात्र भएर होइन कि त्यो स्थान सुद्ध वा पवित्र हुने हुँदा स्मरण अझै तीव्र हुन्छ तथा समान विश्वास हुनेहरू बीचको सौहार्द्धता बढ्छ, अनि धार्मिक विचारलाई अझै खँदिलो बनाउन यसले सहयोग गर्छ । प्रवचन आदिले पनि धार्मिक आस्थालाई अझै प्रवल बनाउन सहयोग गर्छन् । समुहले ज्ञानको आदानप्रदान गर्न सहयोग गर्छ । उनी उनको नाममा हुने सामान्य दैनिक खर्चसरहको खर्चबाहेक अरु खर्च गरेको मन पराउँदैनन्, किनभने उनले आफ्नो भक्तिको नाममा अन्य खर्च गर्न भन्दैनन् ।