आउ ! सपना मरेको घोषणा गरौँ

आउ ! सपना मरेको घोषणा गरौँ


✍ जीबी आचार्य

तिमीलाई चाहिएको छैन सीमाना
न त तिमीलाई चाहिएको छ देशको माटो
खोजेका छैनौ तिमीले देशको इतिहास
बिर्सेका छौ तिमीले न्याय, मानवता र धर्म
विवेकहीनहरूको कुरूप झुण्ड तयार गरेर
शुरु भएको तिम्रो यात्रा
थाहा छ कहीँ पुग्ने छैन ।
त्यसैले तिमीलाई गनाउँदैन
तिमीले प्रदुषित पारेको बागमती
तिमीलाई लज्जित बनाउँदैन
तिमीले थिलो-थिलो पारेको न्यायालय
तिम्रा कुकर्मको फड्के किनाराको साक्षी बनाएका छौ
विश्वविद्यालय
जसले उमार्दैछ तिमीजस्तै लठैत
बेचेर सिद्धान्तको पोको
तिमीले पाएको एकथान कुर्चि
सिध्याएर एकभारी दर्शन
तिमीले साटेको एकथान सांसद पद
असरल्ल छाडेर सडकमा
तिमी आफैंले उरालेका नाराहरू
तिमीले भेटेको अलिकति राजकीय जिन्दगी
बेवारिसे बनाएर तिमीले कार्यक्रम
तिमीले पाएको एउटा सुविधा
तिमीलाई देखेर त लाज पनि स्वयं लज्जित छ यतिबेला
शिखण्डी र अर्जुनको सहभोज
भो थप रमिता नगरौँ
बरु सपना मरेको घोषणा गरौँ ।