अवसरवादी राजनीतिक खेलका खतर्नाक सङ्केतहरू

अवसरवादी राजनीतिक खेलका खतर्नाक सङ्केतहरू


हालको अवस्थामा एमालेको प्रस्ताव र माओवादी केन्द्रको रोजाइमा माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाइयो भने नेपालको राजनीतिक परिदृश्यमा धेरै हेरफेर आउने सम्भावना छ । अमेरिका नेपालबाट एमसीसी फिर्ता लैजान बाध्य हुने देखिन्छ । नभएपनि उसका नेपाल-नीतिहरूको कार्यान्वयनमा अवरोध आउने छ ।

✍ डा. केशव देवकोटा

नेपालको तेश्रो राष्ट्रपति पदका लागि मनोनयन दाखिला गर्ने मिति (फागुन १३ गते) जति-जति नजिकिँदै छ, त्यति-त्यति दलहरूबीच खिचातानी बढेर गएको छ । नेपालको राष्ट्रिय राजनीतिमा अवसरवाद चरमरूपमा हाबी भएकाले पनि कतिबेला कसले कसलाई धोखा दिएर के हुन्छ भनी बताउन सकिने अवस्था छैन । सबैले हाल सबै स्वदेशी एवम् विदेशी शक्तिकेन्द्रहरूले सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रलाई राजनीतिक भकुण्डो बनाएर आफ्नो स्वार्थसिद्धिको प्रयास गरिरहेका छन् । स्वयम् माओवादी केन्द्र भने आफू निर्णयक शक्ति भएको भान पालेर बसेको छ ।

राष्ट्रपति प्रकरणले नेपालमा अमेरिकी दबदबा रोक्न भारत र चीन एकपक्षमा उभिएको देखिएको छ । जसले गर्दा नेपालमा प्रधानमन्त्री र राष्ट्रपति दुवै भारतीय लबीको हुने र अमेरिकी लबीलाई सकेसम्म सहमतिमा आउन बाध्य बनाउने नत्रभने एक्ल्याएर अगाडि बढ्ने सङ्केतहरू देखिएका छन् । केन्द्रमा मौलाएको अवसरवादी राजनीतिले प्रदेश र जिल्लाहुँदै स्थानीय तहलाई समेत गाँज्न पुगेको छ । वर्तमान सरकारको मुख्य घटक एमालेले आफ्नो पार्टीको राष्ट्रपतिको उम्मेदवारको ‘प्यान्डोरा बक्स’ आगामी १३ गते मात्रै खोल्ने भनेका कारण सबैको ध्यान त्यसैतर्फ आकर्षित भएको देखिएको छ । हुन त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू एमालेको समर्थनमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हुनुअघि नै पोखराको एक कार्यक्रममा अबको राष्ट्रपति कुनैपनि दलको सदस्य नरहेको ब्यक्ति हुनुपर्ने बताउनुभएको थियो । त्यतिबेला सबैले उहाँको सङ्केत पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ सोझिएको बताएका थिए । किनकि नेपालमा पार्टीको सदस्य नरहेको ब्यक्ति उहाँबाहेक अर्को पाउन कठीन छ । नभन्दै पूर्वराजाले फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्षमा जारी गर्नुभएको एक वक्तब्यमा देशको अवस्था ज्यादै सङ्कटपूर्ण भएको भन्दै दलहरूसँग सहकार्यको प्रस्ताव गर्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजाको भनाइको अन्तर्य खुल्न सकेको छैन ।

गत पुस १० गते अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेससहितको तत्कालीन सत्ता गठबन्धनमा आकस्मिकरूपमा मौन तर घातक विद्रोह गरिदिनु भयो । त्यसपछि उहाँले एमालेलाई राष्ट्रपति पदमा सहयोग गर्ने शर्तसहित आफू प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछिका करिव १५ दिन जति एमालेको राष्ट्रपति हुने समाचारले बजार लिएको देखिएको थियो । जसमा धेरैले स्वयम् अध्यक्ष ओलीदेखि इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङलगायतको नाम लिएका थिए । त्यस अवधिमा सत्ताबिना बस्नै नसक्ने नेपाली काङ्ग्रेस पानीबिनाको माछोझैँ छटपटाएको देखिएको थियो । नेकांका नेताहरू छटपटाएको देखेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले नेकांलाई पनि प्रयोग गर्ने अक्कल निकाल्नुभएको देखियो । जसअनुसार उहाँले केही मिनेट कुरा गर्नेबित्तिकै नेकांका सभापति शेरबहादुर देउवा प्रम प्रचण्डलाई विश्वासको मत दिन तयार हुनुभएको थियो ।

नभन्दै प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेस र सो पार्टीसँग सहकार्यमा रहेका एकीकृत समाजवादीलगायतका दलहरूले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई विश्वासको मत दिए । त्यसपछि प्रचण्डको खेल नेकां र एमालेलाई भिडाएर आफू भाले हुने तिर सोझियो । सो खेल पुस २६देखि हालसम्म चलिरहेको छ । जसको पटाक्षेप अब यही फागुन १३ गते हुनेवाला छ ।

त्यसबीचमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको कुरा आयो । जसमा सातदलीय गठबन्धनको सहमति अनुसार नै एमालेबाट सभामुख र रास्वपाबाट उपसभामुख हुनुभयो । ती पदहरूमा पनि नेपाली काङ्ग्रेसले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डमै भरोसा गरेको देखिन्थ्यो । तर सो भरोसाको कुनै अर्थ रहेन । त्यसपछि राष्ट्रियसभाको उपाध्यक्ष र सदस्य पदको निर्वाचनमा पनि सातदलीय गठबन्धन नै एकजुट भएको देखियो । जसले गर्दा ती पदहरूमा पनि नेपाली काङ्ग्रेसले पराजय भोग्नुप¥यो । अब आएर नेपाली काङ्ग्रेसको घिडघिडो राष्ट्रपति पदमा पुगेर अड्किएको छ, तर सो घिडघिडो पनि पूरा हुने देखिएको छैन । उसलाई थाहा छ, राष्ट्रपति पदमा पनि माओवादी केन्द्रको रोजाइ र एमालेको प्रस्तावका ब्यक्ति नै उम्मेदवार हुँदैछन् । जसका लागि एकातिर एमालेका अध्यक्ष ओलीले मङ्सिर ४ को निर्वाचनमा काठमाडौंबाटै पराजित इश्वर पोखरेललगायतको नाम अगाडि सार्नुभएको देखिएको छ । अर्कातिर ओलीले अगाडि सार्नुभएका भनि प्रचारित नामप्रति प्रधानमन्त्री प्रचण्डले विमति जनाइसक्नुभएको छ । किनकि एमाले र माओवादी केन्द्रकाबीचमा सहमति भएको राष्ट्रपति पदका असली उम्मेदवारको नाम यो आलेख तयार गर्दासम्म औपचारिकरूपमा अगाडि ल्याइएको छैन । तर विभिन्न घटनाक्रमहरूले ‘सहमति’को उम्मेदवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल हुनसक्ने सङ्केत गरेका छन् ।

गत साता नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशसचिव क्वात्राको रोजाइमा पनि माधव नेपाल नै पर्नुभएको भनिन्छ । क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई पटक भेटेर अन्तरङ्ग वार्ता पनि गर्नुभएको थियो । यसैबीच एकैपटक नेपाल र भारत दुवैतिरबाट केही नामहरू प्रचारित भएका छन् । जसमा नेपालविज्ञ र माओवादीका गुरु मानिनुभएका एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित चार उम्मेदवारको नाम ट्विट गर्नुभएको छ, जसमा देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम उल्लेख छ । हुन त उपरोक्त नामहरू नेपालमा रहेको अमेरिकी कार्टर सेन्टरतिरबाट पनि प्रचारित हुँदै आएको हो । भारतीय बुद्धिजीवी एसडी मुनीले आफ्नो ट्वीटमा नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको दलील पनि पेश गर्नुभएको देखिएको छ । कतिपयले त प्रधानमन्त्री भारतनिकट भएपछि राष्ट्रपति अमेरिकानिकट हुनुपर्ने टिप्पणी गरेको पनि देखिन्छ । तर, नेपाल सन्दर्भलाई लिएर गत केही महिना अघिदेखि नै इण्डो–पश्चिमा लबीमा आएको फुटबारे कसैले पनि ध्यान दिन सकेका छैनन् । जुन खेल गत स्थानीय निर्वाचनलगत्तै एसपीपीको अमेरिकी प्रस्तावलाई नेपालले इन्कार गर्न बाध्य भएबाटै शुरुभएको थियो ।

हुन त नेपालका प्रायः सबै पार्टीका नेताहरूमा अवसरवादी प्रवृत्ति हाबी भएका कारण उनीहरू पद पाउने भएको खण्डमा जुनसुकै विदेशी शक्तिकेन्द्रनिकट हुन तयार रहेका छन् । त्यसैले विदेशीका लागि रोजाइमा सहजता रहेको छ । यसअघि नेपालका सन्दर्भमा इण्डो=पश्चिमा शक्ति एक भएका कारणले नै देउवाले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्षले पाएपछि राष्ट्रपति आफूले पाउनुपर्ने जिकिर गर्नुभएको हुनसक्छ । तर पछिल्लो समयमा केही महिनाअघिबाटै नेपालको इण्डो–पश्चिमा शक्तिमा केही दरारका सङ्केतहरू पनि देखिएका थिए । त्यसैकारण पाँच दलीय गठबन्धनभित्रै तीनदलीय उप–गठबन्धन बनाउन प्रयास पनि भएको थियो र पछिल्लो प्रधानमन्त्री पदमा विद्रोह पनि भएको हो ।

यि परिघटनाले नेपालको राष्ट्रपति छनोटमा अन्तराष्ट्रिय चासो बढेको देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । जसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । हालसम्मका घटनाक्रमहरूले के देखाएका छन् भने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको रोजाइमा एमालेद्वारा प्रस्तावित नेता नै राष्ट्रपति पदको उम्मेदवार बन्नुहुने देखिएको छ । प्रधानमन्त्री प्रचण्डको समर्थन र एमालेको प्रस्तावमा आउने उम्मेदवारलाई नै राष्ट्रिय सहमतिका नाममा नेपाली काङ्ग्रेसलगायतका दलहरू समर्थन गर्न बाध्य हुने छन् । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीका बीचमा सहमति रहेकै कारण पुस २६ गतेपछि झण्डै २० पटक वार्ता भएपनि वार्ताका खास विषयबस्तुका बारेमा कसैलाई पनि जानकारी दिइएको छैन ।

हालको अवस्थामा एमालेको प्रस्ताव र माओवादी केन्द्रको रोजाइमा माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाइयो भने नेपालको राजनीतिक परिदृश्यमा धेरै हेरफेर आउने सम्भावना छ । अमेरिका नेपालबाट एमसीसी फिर्ता लैजान बाध्य हुने देखिन्छ । नभएपनि उसका नेपाल-नीतिहरूको कार्यान्वयनमा अवरोध आउने छ । एमाले र एकीकृत समाजवादीबीच फेरि पार्टी एकता हुनेछ । फेरि एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुने सम्भावना बढ्नेछ । राष्ट्रपति सन्दर्भले नेपाली काङ्ग्रेस विभाजित हुने सम्भावना पनि छ । यसअघि नेपाली काङ्ग्रेसले राष्ट्रपतिसहित अल्पमतको एकल सरकार बनाउन प्रयासग र्नुको कारण पनि अमेरिकी संलग्नता थियो भने हाल माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपतिमा पुऱ्याउने खेल खेल्नुको पछाडि पनि भारतीय संलग्नता रहेको छ । जसमा चीनको रोजाई पनि अमेरिकाभन्दा भारततिरै बढी हुने देखिएको छ । नेपालको सत्ता-राजनीतिमा रहेका सबै पार्टीका नेताहरूले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भर गर्दा पछिल्लो अवस्था आएको हो । जसको पटाक्षेप आगामी २५ गतेको राष्ट्रपति निर्वाचनबाट हुने देखिएको छ ।