डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा, बिहीबार उद्घाटन हुने

डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा, बिहीबार उद्घाटन हुने


  • डम्बर निदाल, डडेल्धुरा

पाँचौँ संस्करणको डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि फागुन ४ गतेदेखि हुने पाँचौं संस्करणको डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिवसीय प्रदेशस्तरीय महोत्सव आयोजना हुन लागेकोे हो ।

सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौँ डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार’ भन्ने मूल नाराका साथ आगामी फागुन ४ देखि १४ गते सम्म सञ्चालन हुने महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक सम्भावनालाई उजागर र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौं व्यापार मेलाको रूपमा महोत्सव गर्न लागिएको आयोजक संस्था उद्योग बाणिज्य संघ डडेल्धुराले जनाएको छ ।

फागुन ४ गते बिहीबारदेखि १४ गतेसम्म महोत्सव अमरगढी नगरपालिकाको टुडिखेलमा सञ्चालन हुनेछ । आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टका अनुसार महोत्सव स्थलमा स्टल निर्माणको कार्य जारी रहेको र बुधबार साँझसम्म सबै तयारी पूरा गरी सकिने बताउँदै महोत्सव उद्घाटनका प्रमुख अतिथिका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ ।

आयोजक उद्योग वाणिज्य संघ डडेल्धुराका अनुसार महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमका लागि आउने अतिथि कलाकारको टुङ्गो लागेको छ । महोत्सवमा गायिका पूर्णकला बिसी, रचना रिमाल, ज्योति मगर, गौरी भट्ट, गायक टंक तिमिल्सिना, अर्जुन कौसल, रामजी खाण, खुमन अधिकारी, रमेशराज भट्टराई, सुधिर जैरु, भोजराज भट्ट, रमेश मल्ल र सुप्रिम मल्ल आउने तय भएको छ । यस्तै, कलाकार राजा राजेन्द्र पोखरेल, रुविना अधिकारी, खन्टे खलास, भीम बिष्ट (अछामी रेखा)को पनि महोत्सवमा प्रस्तुति रहने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।

यसैगरी संघका वरिष्ठ उपाध्यक्ष दीपक महताले महोत्सवमा राखिएका झण्डै १ सय ५० स्टल बुकिङ भइसकेकोे जानकारी दिए । स्थानीय कला, संस्कृतिसँगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि महोत्सवमा हुनेछ उनले भने । स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम पनि महोत्सवमा सञ्चालन हुनेछन् । स्थानीय उत्पादनसँगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि महोत्सवमा हुनेछ ।

संघका सचिव मीना फुलाराले ‘कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध डडेल्धुराको आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव सफल पार्न जिल्लावासीलाई आग्रह गरिन् । डडेल्धुरा महोत्सवमार्फत कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्द्धन र डडेल्धुराको समग्र विकासको आधार खडा गर्ने उद्देश्य राखिएको उनले बताइन् । महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै, ५ करोडको महोत्सव अवधिमा कारोबार हुने पनि अनुमान गरिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।