त्रिदेशीय साझेदारीको रणनीतिअनुसार सुख्खा बन्दरगाह निर्माण हुने उद्घोष

त्रिदेशीय साझेदारीको रणनीतिअनुसार सुख्खा बन्दरगाह निर्माण हुने उद्घोष


photo: rss

प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने बताएका छन् ।

आज महेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने जिकिर गरे ।

‘सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ, हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ’ भन्दै प्रधानमन्त्री प्रचण्डले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेविश्वास व्यक्त गरे ।

उनले भने, ‘एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ, यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।’

दोधारा-चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ ।

प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू-उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् । जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरिक्षण गरेका थिए ।