डडेल्धुराका हार्डवेयर व्यवसायीले उधारो कारोबार नगर्ने

डडेल्धुराका हार्डवेयर व्यवसायीले उधारो कारोबार नगर्ने


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका कारण बिना बैंक ग्यारेन्टी उधारोमा कारोबार नगर्ने निर्णय गरेका हुन् ।

कोरोना महामारीले थला परेको व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरापमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले यस्तो निर्णय गरेको हो । कोभिड महामारीपश्चात देशभरि भएको आर्थिक मन्दी र तरलता अभावले गत वर्षदेखि नै उद्योग र ठूला सप्लायर्सहरूले अग्रिम भुक्तानी, नगद र बैंक ग्यारेन्टीमा मात्र निर्माण सामग्रीहरूको बिक्रि–वितरण गरिरहेको डडेल्धुराका हार्डवेयर व्यवसायी संघ अध्यक्ष लालमणी पन्तले बताए ।

बैकहरूले ८ प्रतिशतमा सम्झौता गरिदिएको ऋणको एक वर्षमा नै ब्याजदर सोह्र प्रतिशतसम्म पु¥याएका छन् । यस्तो परिस्थितिमा चर्को ब्याज तिरी नगदमा मालसमान किनेर उधारोमा बिक्री वितरण गर्न नसक्ने अवस्थामा डडेल्धुराका हार्डवेयर व्यवसायी पुगेकोले बिना बैंक ग्यारेन्टी उधारोमा कारोबार नगर्ने निर्णय गरिएको उनको भनाइ छ ।

विभिन्न निर्माण सामग्री उत्पादक तथा सप्लायर्सहरुले नगद कारोबारमा मात्र निर्यात तथा सामग्री उपलब्ध गराउने भएकाले सोहीअनुरुप जिल्लाका व्यवसायीहरूले पनि नगद वा बैंक ग्यारेन्टीमा मात्र कारोबार गर्ने जनाएका छन् ।

हार्डवेयरका सामान लैजाने पुराना ग्राहकले निर्माणको सम्बन्धित निकायबाट भुक्तानी प्राप्त गरेर पनि हार्डवेयरको भुक्तानी नगर्दा, बजारमा आएको आर्थिक मन्दि र बैंकहरुले ऋण ब्याजमा अचाक्ली वृद्धि गरेका कारण बाध्य भएर उधारोमा कारोबार नगर्ने निर्णय गरिएको अध्यक्ष पन्तको भनाइ छ । सरकारले बजारमा आर्थिक गतिविधि हुने कुनै पनि काम नगरेका कारण व्यवसायीहरु मर्कामा परेको तर्क उनले गरे ।

डडेल्धुरा हार्डवेयर व्यवसायी संघमा निर्माण सामग्री सम्बन्धित २२ जना सप्लायर्स व्यवसायीहरु आवद्ध रहेको संघले जनाएको छ । बजारमा २० करोड भन्दा बढी उधारो गएको बताइएको छ ।

साथै, चितवनमा बाइक दुर्घटनामा परेका अमरगढी नगरपालिका–१ डोलाका नरेन्द्रबहादुर ऐर र घाँस-दाउरा काट्ने क्रममा घाइते भएका अमरगढी नगरपालिका-१ दगलाखेतका पदमबहादुर ऐरलाई उपचारका लागि दश/दश हजार सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।