धर्मको मौलिक स्वरुप

धर्मको मौलिक स्वरुप


पृथ्वी तबसम्म पृथ्वी हो, जबसम्म उसमा गन्ध नामक गुण धर्म विराजमान हुन्छ । जल तबसम्म जल रहन्छ जबसम्म उसमा रस नामक गुणधर्म विराजमान हुन्छ । वायु तबसम्म वायु हो, जबसम्म उसमा स्पर्श नामक गुणधर्म विराजमान हुन्छ । आकाश तबसम्म आकाश हो, जबसम्म उसमा शब्द नामक गुणधर्म विराजमान हुन्छ । मनुष्य तबसम्म मनुष्य हो जबसम्म उसमा मानवोचित शिल नामक गुणधर्म रहन्छ ।

प्रभात अधिकारी

सनातन सर्वेश्वरको निःश्वासकल्प ऋगादि वेदोद्वारा उद्भासित तथा सनातन सर्वेश्वरद्वारा प्रचलित तथा संरक्षित धर्म सनातन धर्म हो । सनातन जीवको समष्टि हितमा संलग्न राख्ने सनातन सर्वेश्वरको प्राप्त गराउनेवाला धर्म सनातन धर्म हो । सर्वकाल, सर्वदेश तथा सर्ववस्तुमा सन्निहित सर्वसुखप्रद धर्म सनातन धर्म हो । वेदमुलक भएको कारण सनातनधर्मलाई ‘वैदिक धर्म’ भनिन्छ । परम्पराप्राप्त ब्राह्मणादि श्रेष्ठ सत्पुरुषद्वारा सेवित भएको कारण ‘आर्यधर्म’ भनिन्छ । हीनभावना त्याग्ने भएकोले हिन्दु भनिन्छ । यस धर्मको अति प्राचीन नाम ‘सनातन धर्म’ हो । जो प्रत्येक देश, काल, परिस्थितिमा दार्शनिक, वैज्ञानिक तथा व्यवहारिक धरातलमा सर्वहितप्रद, सत्य, शिव र सुन्दर सिद्ध हुन्छ, त्यो सनातनधर्म हो । दार्शनिक धरातलमा सनातन धर्म ‘वैदिक’ तथा ‘पौराणिक’ धर्म हो । वैज्ञानिक धरातलमा यो ‘आर्यधर्म’ हो । व्यवहारिक धरातलमा यो हिन्दुधर्म हो । पुराणपुरुषपरमात्माको प्रथम प्रवृत्त विशिष्ट विद्यारूप पुराण, वेद तद्वत् – प्रतिपादित पुरातनधर्म भएको कारण सनातनधर्म ‘पौराणिक’ धर्म हो । ‘सतां धर्मः सनातनः’ (महाभारत – शान्तिपर्व) अर्थात् सत्पुरुषको धर्म सनातन हो ।

हिन्दु = हिन् + दु । यहाँ ‘हिन्’ को अर्थ हुन्छ ‘नष्ट गर्नु’ एवं ‘दु’ को अर्थ ‘दुष्ट’ या ‘दुरात्मा’ । यसप्रकार ‘हिन्दु’ को अर्थ दुष्ट या दुर्आत्माको विनाश गर्नु हो । दुष्टको विनाश गर्नेवाला हिन्दु हो । संस्कृतमा ‘हिनस्ति दुष्टान इति हिन्दू’ भनिन्छ ।

धारणाद् धर्ममित्याहुर्धर्मेण विधृताः प्रजाः ।

‘यः स्याद् धारणासंयुक्तः स धर्म इति निश्चयः ।।’ (महाभारत – शान्तिपर्व)

धर्म धारण गर्दछ, अर्थात् अस्तित्व तथा आदर्शको रक्षा गरेर अधोगतिबाट बचाउदछ, त्यसैले यसलाई धर्म भनिन्छ । धर्मले नै सबै प्रजाको धारण गरेर राख्दछ । अतः जसबाट धारण तथा पोषण सिद्ध हुन्छ, त्यहि धर्म हो ।

जसद्वारा लौकिक तथा पारलौकिक उत्कर्ष सम्भव छ त्यसको नाम धर्म हो । मनुष्यको जीवनमा मानवोचित शिल र स्वभावको नाम धर्म हो । त्यसैले मनुस्मृतिमा भनिएको छ,
धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधो, दशकं धर्मलक्षणम् ।। (मनुस्मृति)
अर्थात धृति (धैर्य), क्षमा (क्षमाशील हुनु), दम (वासनाको नियन्त्रण, अस्तेय (चोरी न गर्नु), शौच (अन्तरंग तथा बाह्य शुचिता, शुद्धता), इन्द्रिय निग्रह (इन्द्रियलाई वशमा राख्ने), धी (बुद्धिमत्ताको प्रयोग), विद्या (ज्ञान आर्जन गर्नु), सत्य (मन वचन कर्ममा सत्यको पालना गर्नु) र अक्रोध (क्रोध नगर्नु); यो दश धर्मको लक्षण हो । आन्तरिक र बाह्य बिकारको त्याग नगरी व्यक्ति सभ्य र सुसंस्कृत हुन सक्दैनन् । धर्मका यी लक्षणहरूलाई सामान्य कोटिको धर्मको रुपमा मानिएको छ, साथै यो चारै वर्णको लागि अनिवार्य छ । यज्ञ, दान तप र ब्रत आदि साध्यकोटिको धर्म हो । वर्णाश्रम (ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र) धर्म अनुसार कर्म गर्नु विशेष कोटिको धर्म हो । गीतामा ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ भनिएकोमा धर्मको अर्थ आफ्नो वर्ण अनुकुलको कर्म भनेको हो । चारै वर्णले आ–आफ्नो वर्णअनुकुल कर्म गरेर मोक्ष प्राप्त गर्ने कुरा बताईएको छ । सनातनधर्म शिक्षा, न्याय, रक्षा, वाणिज्य, सेवा, कृषि, ग्रह–नक्षत्र, सृष्टि–स्थिति–प्रलय, निग्रह, अनुग्रह, कर्म, उपासना, ज्ञान, ज्योतिष, अध्यात्म आदि विविध विज्ञानको समग्र स्वरुप हो । यो जीवन तथा जगतको धारण गर्नेवाला तत्वको विज्ञान तथा सर्वहितको शाश्वत संविधान हो ।

पृथ्वीको सन्निकट निर्विशेष जल, जलको सन्निकट निर्विशेष अग्नि, अग्निको सन्निकट निर्विशेष वायु र वायुको सन्निकट निर्विशेष आकाश हो । निर्गुण, निराकार अव्यक्त परमात्माको शब्दरुपमा अभिव्यक्त हुने संस्थानको नाम आकाश हो । आकाश देखि वायु, वायु देखि अग्नि, अग्नि देखि जल र जल देखि पृथ्वीको क्रमशः सृष्टि भएर ब्रम्हाण्डको रचना हुन्छ । यो नै सृष्टि संरचनाको सनातन नियम हो । यसलाई सिद्ध कोटिको धर्म भनिन्छ । सृष्टि, स्थिति र लय सनातन सिधान्त अनुसार नै हुन्छ । सनातन सिद्धान्त अर्थात् धर्मको सीमाभित्र रहेर हुन्छ । सृष्टिको संचालनकर्ता, पालनकर्ता र संहारकर्ताको कार्य संचालनको आधार सनातन सिद्धान्त हो । धर्मको उपेक्षा गरेर ब्रह्माजी सृष्टि गर्न सक्नुहुन्न, विष्णुजी पालन गर्न सक्नुहुन्न र महेश्वर संहार गर्न सक्नुहुन्न, त्यसैले यो सिद्धकोटिको धर्म हो ।

जसलाई अपनाउनाने सत्ता र उपयोगिता सुरक्षित हुन्छ, त्यसको नाम धर्म हो । अग्नि तवसम्म अग्नि रहन्छ जबसम्म उसमा ताप र प्रकाश नामको गुणधर्म रहन्छ । त्यसैले अग्निको सत्ता र उपयोगिता ताप र प्रकाश हो । ताप र प्रकाशबिना अग्निको अस्तित्व सम्भव हुँदैन । त्यसैले अग्निको धर्म ताप र प्रकाश हो । पृथ्वी तबसम्म पृथ्वी हो, जबसम्म उसमा गन्ध नामक गुण धर्म विराजमान हुन्छ । जल तबसम्म जल रहन्छ जबसम्म उसमा रस नामक गुणधर्म विराजमान हुन्छ । वायु तबसम्म वायु हो, जबसम्म उसमा स्पर्श नामक गुणधर्म विराजमान हुन्छ । आकाश तबसम्म आकाश हो, जबसम्म उसमा शब्द नामक गुणधर्म विराजमान हुन्छ । मनुष्य तबसम्म मनुष्य हो जबसम्म उसमा मानवोचित शिल नामक गुणधर्म रहन्छ ।

धर्ममा पुर्ण समर्पित तत्वदर्शी मनिषिका लागि धर्मको स्वरुप गौमाता, शिव, राम, कृष्ण, देवी (लक्ष्मी सरस्वति, माता सिता) जस्तो हुन्छ भन्न सकिन्छ । असत्यमाथि सत्यको स्थान शुनिश्चित गर्नु, अन्याय माथि न्यायको स्थान शुनिश्चित गर्न, सृष्टि संरचना अनुकुल कार्य गर्नु र गराउनु भगवानको मूल कर्तव्य र जिम्मेवारी भएकोले भगवान स्वयम् धर्मरुप हुन् । त्यस्तै धर्म स्वयम् ईश्वर हो । सत्यको फल दैवीय शक्तियुक्त हुन्छ भने असत्यको फल दानवीय शक्ति युक्त हुन्छ । यसैगरी धर्मका सबै लक्षणहरू (सत्य, दया, अहिंसा, क्षमा र अस्तेय आदि) जुन वेदादी शास्त्रमा बताईएको छ ति पनि धर्मकै रूपहरू हुन् ।

हिमालयं समारभ्य यावत् इंदु सरोवरम् ।
तं देवनिर्मितं देशं हिंदुस्थानं प्रचक्षते । (बृहस्पति – आगम)
हिमालयको प्रथम अक्षर ‘ह’ हुन्छ । इन्दुसरोवरको प्रथम दुई अक्षर ‘इन्दु’ हुन्छ । ह्+इन्दु = हिन्दु हुन्छ ।

बृहस्पति आगमको अनुसार हिमालयदेखि इन्दुसरोवरसम्मको देवनिर्मित भूभाग हिन्दुस्थान हो । यहाँ परम्परादेखि निवास गर्नेहरू तथा उनीहरूको वंशज हिन्दु हुन् । भारतको नाम ऋग्वेदमा सप्तसिन्धवः ‘सप्तसिन्धु’ या संक्षिप्तमा ‘सिन्धु’ वर्णित छ, न कि ‘आर्यावर्त’ वा ‘भारतवर्ष’ । सिन्धुको अर्थ नदि हो । सप्त सिन्धु अन्तर्गत गङ्गा, यमुना, गोदावरी, सरस्वति, नर्मदा, सिन्धु र कावेरी नदीहरू पर्दछन् । पश्चिमी पंजावस्थित ‘सिन्दू’ नदी प्राचिन कालमा हाम्रो क्षेत्रीय सिमा थियो । जलीय सिमा सनातन मानबिन्दु हो । ‘सप्तसिन्धु’ लाई ‘हप्तबिन्दु’, तद्वत् ‘सिन्धु’ लाई ‘हिन्दु’ भनिने वैदिक विधा हो । वर्णमालामा श, ष र स तथा ह को सहचर्य हुन्छ । (पाणिनीय ३/४/८७) सुत्रानुसार ‘सि’लाई हि तथा ‘ह एति’ (पाणिनीय ७/४/५३) अनुसार स लाई ह हुन्छ । यसरी वैदिक धर्मलाई हिन्दु धर्म भन्न पनि सकिन्छ । शास्त्रहरूमा धर्मको विषयमा जे जस्तो व्याख्या र उल्लेख छन्, ति सबै गुण र व्यवहार हिन्दुमा देखिने भएकोले सनातन धर्मलाई हिन्दु धर्म पनि भन्न सकिन्छ । शास्त्रहरूमा पनि यो शब्द उल्लेख छ । त्यसैले धार्मिक भन्नु र हिन्दु भन्नु एकै हो । यधपी शाब्दिक रुपमा आफुलाई हिन्दु वा धार्मिक भनेर मात्रै पुग्दैन धर्मयोचित व्यवहार हुनु त्यतिकै महत्वपूर्ण छ ।

सृष्टि पुर्वदेखि प्रलयकालको अन्त्य सम्म रहने भएर नै धर्मलाई सनातन भनिएको हो । सनातन धर्मको दृष्टि ब्रह्माण्डको गतिदेखि जीव, किट पतंग र सबैको लागि एक समान भएको हुनाले धर्मको अर्को वा दोस्रो अस्तित्व सम्भव छैन । धर्म केवल एक हो र त्यो हो ‘सनातन वैदिक वर्णाश्रम धर्म’, जसलाई हिन्दु पनि भन्न सकिन्छ ।

मानव जीवनलाई सभ्य सुसंस्कृत, व्यवस्थित सुखी र सम्पन्न बनाउन साथै चराचर जगतको भलाईका लागि आवश्यक सम्पुर्ण साधन वैदिक शास्त्रहरूमा बताईएको छ । सृष्टि तथा ब्रम्हाण्डको विषय, काल गणना, गणित, भोजन, आवास, वस्त्र, मनोरञ्जन, कृषि, गौरक्षा, वाणिज्य, व्यापार, चिकित्सा/स्वास्थ्य, समाज, राजनीति, सुरक्षा, युद्धनीति, पर्यावरण र प्रकृति लगायत सम्पुर्ण विषयले सम्पन्न वैदिक ग्रन्थहरू नितिशास्त्रहरू विश्वकल्यणका साधन हुन् । समग्र वैदिक शास्त्र र सनातन हिन्दु धर्मको मूल मर्म नै विश्व शान्ति र विश्वको कल्याण हो । हरेक सनातनिको मूल मन्त्र ‘वसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिनः’ आदि हुन् । आजको युगमा अनेक वैज्ञानिक आविष्कारहरू भएका छन्, अनेक यन्त्रहरूको निर्माण भएका छन्, तथापि कोहि त्यस्तो वैज्ञानिक वा अनुसन्धानकर्ता छैन जसले वैदिक शास्त्रमा लेखिएको कुराहरू गलत साबित गरोस । आयुर्वेदमा लेखिएका स्वास्थ्य सम्बन्धि विषय रोग र उपचारका विषयमा कसैले नकार्न सक्दैन । वैदिक काल गणना र खगोलको विषयमा आधुनिक वैज्ञानिक भनिनेहरूले प्रश्न गर्ने हिम्मत गर्दैनन । वैदिक सनातनीहरुलाई सुर्य ग्रहण, चन्द्र ग्रहण आदिका विषयमा वैज्ञानिकहरूको भर पर्नु पर्दैन । बरु आधुनिक काल गणना र गणितको श्रोत वैदिक शास्त्र नै हो । यसरी समग्रमा मानव र विश्वको कल्याण र उन्नतिमा समर्पित एकमात्र साधन वैदिक सनातन हिन्दु धर्म हो र यसको वास्तविक परिपालनद्वारा मात्रै समष्टि हित प्राप्त हुन सक्ने कुरामा द्विविधा छैन ।

जसरी चराचर जगतको आधार पञ्चतत्व हो त्यसरी नै पञ्चदेव र पञ्च देवकै प्रधानताका आधारमा पञ्चसम्प्रदाय वेदसम्मत हुन् । भगवान शिवलाई प्रधान मानिने शैव सम्प्रदाय, देवी (शक्ति) लाई प्रधान मानिने शाक्त सम्प्रदाय, भगवान विष्णुलाई प्रधान मानिने वैष्णव सम्प्रदाय, भगवान गणेशलाई प्रधान मानिने गाणपत्य सम्प्रदाय, सुर्य देवतालाई प्रधान मानिने सौर्य सम्प्रदाय गरी जम्मा पाँच सम्प्रदाय रहेका छन् । यद्यपि जुन सम्प्रदाय माने तापनि सबैले पाञ्चायन देवताको रुपमा सबैलाई मान्दछन, पुज्दछन । एकै सर्वेश्वर परमात्मा परमेश्वरको पाँच स्वरुप हो । त्यसैले धर्म एक छ सम्प्रदाय पाँच छ । यसको अलावा न अर्को कोहि धर्म छ न सम्प्रदाय नै । यसलाई दार्शनिक, वैज्ञानिक र व्यवहारिक दृष्टिमा पुष्टि गर्न सकिन्छ । अचेल विभिन्न कालखण्डमा व्यक्ति विशेषद्वारा धर्मको रुपमा हिन्दुनै मान्दछु भन्नेहरुले सम्प्रदाय चाही मनोमानी तरिकाले स्थापित मतहरूलाई मान्ने गरेको देखिन्छ । जस्तै कृष्ण प्रणामी, ओम शान्ति, साई बाबा आदि । यी हिन्दु धर्म भित्रै कुनै व्यक्ति विशेषद्वारा स्थापित मत हुन् भने वैदिक÷धार्मिक दृष्टिमा विकृति हो । किनकि यिनको बारेमा कुनै पनि वैदिक शास्त्र, पुराण आदिमा व्याख्या विवेचना छैन, साथै यिनको मतलाई दार्शनिक, वैज्ञानिक र व्यवहारिक तिनै दृष्टिमा स्वीकारयोग्य मान्न सकिदैन ।

पछिल्लो समय नेपाल भारत सहित विश्वभर प्रचलित प्रकृति पुजक (झाक्री वाद, किरात वा बोन लगायत) आदि जसलाई अलग धर्मको रुपमा बुझ्न थालिएको छ, यो पनि गलत हो । निश्चित समुदायहरूका लागि वैदिक मन्त्र रहित यज्ञ÷उपासना गर्ने बिधान शास्त्रहरूमा बताईएको छ । प्राचिनकालदेखी नै केहि समुदाय जो वैदिक शास्त्र अध्यन अध्यापन गर्नबाट अलग छन् तिनको लागि शास्त्र र वैदिक मन्त्र रहित यज्ञ गर्ने बिधान अनुरुप उनीहरूको संस्कार तथा जात र वर्णको अस्तित्व रहिरहेको छ । साथै केहि वैदिक मतकै केहि शाखा वा हाँगो समातेर केहि तोडमोड सहित तथाकथित नयाँ धर्मको विकाश भएका छन् । कोहि वैदिक धर्मकै समर्थनमा रहेर नयाँ धर्मको रुपमा उद्भाषित भएका छन् भने केहि बिपरित वा बिरुद्धमा खडा भएर आफुलाई धर्मको रुपमा परिचित गराउंदै छन् । यो पनि गलत अभ्यास र विकृति हो । यद्धपि समय कालक्रममा विकृति मौलाउनु स्वाभाविक हो, निश्चित समय पछि तिनको अस्तित्व र प्रभाव स्वतः अन्त्य हुन्छ । राक्षसी र दैवीय शक्ति विचको द्वन्द्व भनेजस्तै धार्मिक र अधार्मिक बिचको निरन्तर अन्तरक्रिया पनि आवश्यक छ ।

अल्पज्ञान र दिशाहिनताको कारण अधर्मको मार्गलाई धर्म भन्दै र सोहि अनुसार जीवनयापन गर्ने काम भैरहेको छ । वास्तविक धर्मलाई उपेक्षा गर्दै अधर्मलाई अपनाउनाले विश्वमा राजनीतिको अपराधिकरण, प्रकृतिको विनाश, सामाजिक विकृति, विशंगति र दुर्व्यशनीहरू मौलाएको छ । अचेल विभिन्न कालखण्डमा कुनै अमुक व्यक्तिद्वारा स्थापित मत÷विचारलाई धर्म भन्न थालिएको छ । यसको प्रमुख कारण अंग्रेजी शब्द रिलिजनको नेपाली, हिन्दी अनुवाद धर्म भनेर बुझ्नु हो । अब्राहमिक मत (यहुदी, ईसाई र इस्लाम) धर्म होइनन, ति निश्चित समयमा स्थापित विचार वा मत मात्र हुन् । अब्राहमिक मत (इसाई, यहुदी र मुस्लिम) को विकास धर्मको बिरुद्ध भएको कुरा उनीहरुकै ग्रंथद्वारा पुष्टि हुन्छ । हिन्दु धर्मको संस्कारयोचित कर्महरू, यज्ञ उपासना आदिलाई किटान गरेर नै उनीहरूको ग्रन्थमा गालिको शब्द प्रयोग गरिएको छ । जुन विषयहरू वैदिक सनातन धर्ममा आदर्श र अस्तित्वको आधारहरू मानिन्छन तिनको ठिक विपरित अब्राहमिक मतका ग्रन्थ (वाईवल र कुरान) आदिमा हुनुले ति धर्म होइनन बरु धर्म बिपरित मत हुन् भन्नेमा स्पस्ट हुन सकिन्छ । साथै तिनको कुनै पनि ग्रन्थ वा पुस्तकमा धर्मको परिभाषा वा सो लक्षण जनाउने कुनै पनि विषय उल्लेख समेत छैन । अब्राहमिकहरू झुट, जालझेल र अन्याय अत्याचार गरेर भएपनि आफ्नो मतको विस्तार गर्न चाहन्छन । अन्यको अस्तित्व पुर्णतया अस्विकार गर्नु र अन्यमाथि आफ्नो मत लाद्नु अब्राहमिकहरूको लक्षण हो । त्यसैले जो धर्मप्रति आस्थान्वित छन्, आर्थात हिन्दु छन् तिनले अब्राहमिक मतलाई धर्म भन्नु अधर्मलाई धर्म मानेसरह हुन्छ । धर्मको अस्तित्व दुई वा तिन हुनै सक्दैन, एक मात्र हुन्छ बरु धर्मको बिपरित अधर्मको अस्तित्व हुन सक्छ तर अनेक धर्म हुन सक्दैन । त्यसैले जो वेद सम्मत छ त्यो धर्म हो जो वेदसम्मत छैन त्यो अधर्म हो ।

कसै-कसैले अब्राहमिक मतलाई पन्थ भनेको पनि सुनिन्छ, यो पनि गलत हो किनकि पन्थ शब्दको अर्थ सम्प्रदाय हो । जबकि अब्राहमिक मत सम्प्रदाय होइन, न धर्म नै हो । ति निश्चित विश्वासमा आधारित मत हुन्, त्यसैले तिनलाई अंग्रेजीमा ‘रिलिजन’ भनिन्छ जसको अर्थ ‘विश्वास गर्नु’ हुन्छ । धर्मको तुलनामा रिलिजन अत्यन्त संकुचित र एक अर्कामा तुलना गर्न अयोग्य शब्दहरू हुन् ।

सन्दर्भ सामग्री : पुरीपीठाधीश्वर श्रीमज्जगद्गुरु शंकराचार्य ज्युको प्रवचन तथा ग्रन्थहरू