अनौपचारिक क्षेत्र, उदार मन र विकास

अनौपचारिक क्षेत्र, उदार मन र विकास


अनौपचारिक क्षेत्रलाई आर्थिक विकासको अभिन्न अङ्ग मान्नेहरूले या त प्रणाली बसाल्न खोज्ने व्यक्तिहरूको काममा बाधा हाल्न रोक्नुपर्छ कि चाहिँ विकसित देश नदेखेका सोझा नागरिकलाई विकसित देशमा त यस्तो वा उस्तो राम्रो प्रणाली छ भनेर धाक लगाउन छाड्नुपर्छ ।

नवीन देवकोटा

‘नेपालीहरूको मन उदार छ’ भन्ने धारणा यहाँबाट फर्केर जाने विदेशीहरूले विनाखर्च आफूसँग लैजाने कोसेली हो । त्यही उदार मनहरूको बीच किन काठमाडौंका मेयर ‘बालेन’को मन यहाँका सडकपेटीका अनौपचारिक ‘व्यापारी’ वर्गमाथि निष्ठुरी भएर बज्रिरहेको छ ? के उनी निर्दयी र सामन्ती नै हुन् त ? वा, उनको यो कदम कुनै अठोटद्वारा निर्देशित छ ? उदारवादीहरू अनौपचारिक क्षेत्रलाई विकासको अङ्ग मानेर उचित व्यवस्थापनद्वारा देशको आर्थिक विकासमा लगाउनुपर्छ भन्ने धारणा राख्छन् भने सोझै यसको मारमा परेका व्यापारी, बटुवा र सवारी चालकहरू यो क्षेत्रमाथि भइरहेको ‘अन्याय’ (?) को सोझै वा मौन समर्थन गरिरहेका छन् । यो मुद्दाले सामाजिक विकास र मूल्य-मान्यतालाई दिशानिर्देशन गर्ने हुँदा एकपटक घोत्लिनैपर्ने हुन्छ ।

अनौपचारिक क्षेत्रका समर्थकहरूले हरेक शहरमा यस्तो क्षेत्र हुन्छ र यसलाई उचित व्यवस्थापन गरेर समाज अगाडि बढ्नुपर्छ भन्ने धारणा सामाजिक संजालमा राखेको देखिन्छ । यस सम्बन्धमा तीतो सत्य के हो भने, समाज प्रतिस्पर्धामै चल्छ र आफूसँग प्रतिस्पर्धा नहुने क्षेत्रलाई मात्र समाजले अनौपचारिक क्षेत्रको रूपमा स्वीकार्छ, जस्तैः घरायसी वा मर्मत कामदार वा डुलुवा व्यापारी आदि । जब कुनै अनौपचारिक कार्य आफूलाई नै चुनौती बन्छ, समाजले आफ्नो सुरक्षा खोज्छ नै । अर्को अर्थमा, अनौपचारिक क्षेत्र प्रतिस्पर्धी समाजमा आश्रित वर्ग मात्र हो, त्यही समाजको अभिन्न अङ्ग हैन । यसलाई बुझ्न पहिले यो क्षेत्रको चरित्र नै बुझ्नुपर्ने हुन्छ ।

कुनैपनि गतिविधि समयसापेक्ष हुन्छ । हिजो स्थायी बजार नहुँदा स्थानीय उत्पादनका साथै अन्यत्रका मनमोहक तथा अड्कोपड्को बस्तुहरूको खरिदबिक्री गर्ने हाटबजार नै औपचारिक व्यापारको माध्यम थियो । निमिट्यान्न पार्न नसकिने हुँदा युरोपेली देशहरूमा समेत यो गतिविधिलाई स्थान र समय तोकेर अझैपनि औपचारिक रूपमै सञ्चालन गरिन्छ (म पढेको शहरमा आइतवार कृषि र बुधबार औद्योगिक बजार लाग्थ्यो); त्यसरी तोकिएका स्थानका स्थायी व्यापारीहरू त्यो दिन या त पसल बन्द गर्छन् या आफ्ना पसलछेउमा गफ लडाएर बस्छन्; संधै गफ लडाएर बस्नुपर्ने अवस्था आएमा विद्रोह त हुन्छ नै !

काठमाण्डौंका (समस्याग्रस्त शहरको उदाहरणको रूपमा) सडकपेटीहरूमा देखिने अनौपचारिक क्षेत्रलाई निम्न चार वर्गमा विभाजन गर्न सकिन्छ- कृषिउपज व्यापार, घरेलु उद्योग व्यापार, दान अपेक्षा र बिचौलिया व्यापार ।

लगभग पैंतीस वर्षअघिसम्म थिमिका किसानहरू झिसमिसेमै खर्पनका तरकारीहरू काठमाडौंमा बेचेर बिहान खेतमा काम गर्न फर्किसक्थे । उनिहरूसँग किन्न भ्याउने ग्राहकले ताजा खान पाउँथे । उनिहरूसँग एकमुष्ट खरिद गर्ने बिचौलिया पसलेहरू पालुङे पहेँलो भएर मिल्किने अवस्था आएपनि ग्राहककहाँ जाँदैन थिए । आफूलाई चाहिएको खास सामान किन्नुपरेमा बानेश्वर (हालको व्यस्त बजार) बासिन्दाहरू पनि ‘शहर’ (असन) नै पुग्नुपर्थ्यो । २०३६ साल तिर मेवा किन्न असन पुगेको मलाई सम्झना छ । साइकलवाला ‘घुमुवा’ व्यापारीहरूले तरकारी, फलफूल आदि घरघर पु¥याउन थालेपछि यिनिहरू काठमाडौं उपत्यकाका अभिन्न सेवाप्रदायक भइसकेका छन् । बजारदेखि टाढाका बस्तीमा सेवा दिने यस्ता व्यापारीहरू अझैपनि समाजको आवस्यकता हुन् । तर, चोकमा ग्राहक ढुकेर बस्ने साइकलवाला र तिनको सिको गर्ने ठेलावालाहरू शहरी यातायात समस्याका खील हुन् । त्यस्तै, जबसम्म राउटेले काठका सामग्रीको, कुमालेले माटोका सामग्रीको वा अरू कसैले आफ्ना घरेलु उत्पादन (राडी, गलैँचा, बख्खु, टोपी आदि) को घुमन्ते व्यापार गर्नु समाजको स्वीकार्य गतिविधि थियो/छ भने तिनैले चोक वा गौंडामा ग्राहक ढुक्न थाले भने शहरी समस्या बढ्छ । तेस्रो अनौपचारिक क्षेत्रमा बटुवासँग मागेर खाने, आफ्नो कला प्रदर्शन गरेर भीडको मनोरञ्जनकासाथै आफ्नो जीवन निर्वाह गर्नेहरू आदि पर्दछन्, थोरै भए पनि यसरी जीवन निर्वाह गर्नेहरू युरोपमै पनि धेरै हुन्छन् । चोक वा गौंडा नढुकेको अवस्थामा यी सबै गतिविधि समाजका अभिन्न अङ्ग थिए र रहि नै रहन्छन् ।

हाम्रा शहरहरूको मूल समस्या नै बिचौलिया व्यापारको विकृत रूप हो । आफूकहाँ उत्पादन नहुने तर आफूलाई आवश्यक पर्ने सामग्री पैठारी गर्न र आफूकहाँ बढी उत्पादन भएको वस्तु संकलन गरी निकासी गर्न समाजमा ठूलो धनराशी लगानी गर्नसक्ने बिचौलीया महाजनहरूको उदय भएको हो । प्रतिस्पर्धी समाजमा अरूको भन्दा कम मूल्यमा आफ्नो सामान बेच्न उद्योगी र व्यापारीहरूले आफ्नो दायित्वलाई बाह्यकरण (externalise) गर्ने गर्छन् । आवश्यक बस्तु उत्पादनका साथ निस्कने धूवाँ, फोहर आदिको सुरक्षित विसर्जन गर्न थप पैसा खर्च हुन्छ । फोहरको सुरक्षित विसर्जन नगरी हावा र पानीलाई दुषित बनाउनुलाई दायित्व बाह्यकरण गर्नु भनिन्छ । उद्योगीहरूको बाह्यकरणको अर्को रूप उद्योगको भौतिक स्वरूप हो । इमान्दार उद्योगीहरूले जग्गामा समेत लगानी गरी नक्सा पास गरेर स्वच्छ र सुरक्षित कारखानाहरू बनाएका हुन्छन् । कपटीहरूले जग्गा भाडामा लिएर एउटा घरको नक्सा पास गराएर बाँकीमा गैरकानूनी असुरक्षित टहराहरू बनाएका हुन्छन् । लगानी ‘बचाउँदा’ उपज हुने शहरको कुरूपताको दोष उद्योगीहरूलाई मात्र हैन, त्यो सिङगो समाजलाई नै जान्छ । (पर्यवेक्षकको दृष्टिमा समेत) शहरलाई स्वस्थ र सुन्दर राख्न कपटी उद्योगीहरूले बाह्यकरण गरेको खर्च समाजले औपचारिक क्षेत्रले तिरेको करबाट ब्यहोर्नुपर्ने हुन्छ ।

विकृत बिचौलीया व्यापारीहरूको ध्यान सेवामा नभएर नाफामा नै केन्द्रित हुन्छ । यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई वर्ग संलग्न छन्, बस्तु बिक्रेता र व्यापारस्थल प्रदायक । हाम्रा सडक/सडकपेटीहरूमा बिक्ने मूख्य बस्तुहरूमा आयातित फलफूल, तरकारी, इलेक्ट्रोनिक्स र मूल्य अभिवृद्धि गरिएका पहिरनहरू हुन्; ती बस्तुहरू पसलबाट किन्न बढी पैसा तिर्नुपर्ने हुन्छ (अनलाइन-व्यापार पसलेहरूको अर्को तर स्वस्थ चुनौती हो) । यसको कारणः ती सडक व्यापारीहरूले घरभाडामा खर्च गर्नुपर्ने लगानी बह्यकरण गरिरहेका हुन्छन्, पैदल यात्रीहरूले सडकपेटी तिनलाई छाडिदिएर आफूले दुर्घटनाको जोखिम व्यहोर्नुपर्ने हुन्छ; साइकल/ग्राहकलाई उभ्याएर वा भट्भटे रोकाएर ‘सस्तोमा’ तरकारी/फलफूल बेचेर नपठाउन्जेल गन्तव्यमा समयमा पुग्न आतुर अन्य चालकहरूले आफू ढीलो पुग्नुको चोट व्यहोर्नुपर्ने हुन्छ । विडम्बना ! यस्ता व्यापारीको हिजोको कुनै ग्राहक आज गन्तव्यमा समयमा पुग्नुपर्ने चालक पनि हुन्छ । आवाशीय प्रयोजनको स्वीकृति लिइ सडकपेटी ओगटेर बाहन मर्मत गर्न वा बिक्री गरिने वस्तु पसार्न, भाँडा माझेको पानी सडकमा फ्याँक्न मिल्ने गरी व्यापारव्यवसाय सञ्चालन गर्न भाडामा दिइने सडक छेउका घरधनीहरू अनौपचारिक व्यापारस्थलप्रदायक बिचौलिया हुन् । यस्ता अनौपचारिक वर्गको मूल उद्देश्य नै नाफा जति आफू खाने र घाटा जति समाजमा थोपर्ने हुन्छ । समाजमा थोपरिनु भनेको औपचारिक वर्ग (करदाता) माथि नै थोपरिनु हो । तसर्थ, औपचारिक क्षेत्र बलियो भएको समाजले अनौपचारिक क्षेत्रले बाह्यकरण गरेको खर्च व्यहोर्न सक्छ; कमजोर भए सक्दैन ।

विश्वव्यापिकरण र अनौपचारिक क्षेत्र

आजको विश्वव्यापारिकरणको युगमा प्रतिबन्धित बाहेक कुनै बस्तुको उत्पादन, व्यापार र उपभोगलाई भूगोलमाथिको राजनैतिक सीमाले कुनै बन्देज गर्दैन । तिब्बत र न्युजिल्याण्डबाट उन आयात गरेर नेपालमा बनेको गलैंचा युरोप, अमेरिकामा खपत हुन्छ; एडिदास, नाइके जस्ता कम्पनीले चीन, भियतनामजस्ता देशमा सामग्री उत्पादन गरेर विश्वभरि बिक्री गर्छन्, आदि, आदि । यसो गर्नुमा दुई कारण छन्, पहिलो, यहाँका जनशक्ति जापान, अमेरिका, युरोप भन्दा सस्तो छ, र दोस्रो, यताका सामाजिक सुरक्षा र वातावरण कानून उताका भन्दा कमजोर छन् ।

तयारी पोशाक निर्यात उत्कर्षमा रहँदा कंकालरूपी भवनहरूले काठमाडौंलाई कुरुप बनाएको थियो । यसैताका उनी गलैंचा उत्पादन गर्ने टहराहरू पनि छ्यापछ्याप्ति उम्रिएका थिए । बिर्सिन नहुने कुरा के हो भने यसै ताका पोशाक र गलैंचा उत्पादन गर्ने ठूला ठूला उद्योगीहरू पनि थिए । अन्तर्राष्ट्रिय सुविधाका कारण पोशाक क्षेत्रमा त्यति असर नदेखिए पनि गलैंचा क्षेत्रमा अनौपचारिक उत्पादनको कारण कतिपय उद्योगीहरूले यो क्षेत्र त्यागे भने यसमा रहन चाहनेले गलैंचा उद्योगको परिभाषा नै परिवर्तन गराए । उदाहरणार्थः (१) गलैंचा तयार गर्दा उन धुने, रङ्गाउने, बुन्ने, बुट्टा काट्ने र गलैंचा धुने सबै कार्य गर्नुपर्छ; धुने र रङ्गाउने कार्यमा पानी खपत हुने र नदी, पोखरीमा फोहर पानी जाने हुन्छ; तसर्थ, हाल गलैंचा उद्योगको परिभाषा बुन्ने र बुट्टा काट्नेमा सीमित छ; रङ्गाउने कार्य छुट्टै उद्योगको रूपमा छ भने धुने कार्य प्राय अनौपचारिक क्षेत्रबाटै हुन्छ । (२) गलैंचा उद्योगीहरूलाई उन, धागो आदिको आयातमा र गलैंचा निकासीमा कर छुट दिइएको थियो; यसको दुरुपयोग गर्दै धेरै नक्कली उद्योगहरू दर्ता भए र तिनले सामान आयात गरी अनौपचारिक क्षेत्रलाई बिक्री गरे; यसरी अनौपचारिक क्षेत्रबाट उत्पादित गलैंचा आफैंले बटुलेर निकासी गरे । यसको प्रत्यक्ष मार ती उद्योगीहरूमा पऱ्यो जसले गलैँचा उत्पादन गर्न ठूला कारखानाहरू निर्माण गरे र धेरै कामदारहरू पाले ।

विकसित देशका ग्राहकहरू (वातावरण प्रति सचेत बाहेक) लाई उनले उपभोग गर्ने गलैंचा औपचारिक वा अनौपचारिक क्षेत्रबाट उत्पादन भएकोमा चासो हुँदैन; त्यसको मूल्यमा मात्र हुन्छ । तसर्थ, (शहरी) वातावरणको खर्च वाह्यकरण गरेर निकासीकर्ताहरू गलैंचाको मूल्य कम गर्न लागिपर्छन् जसलाई अधोगति (Race to the bottom) भनिन्छ । कुनै पनि देश विकसित, विकासशील वा अविकसित हुनुको सूचक हो यो अनौपचारिक क्षेत्र; विकसित देशमा अनौपचारिक क्षेत्र न्यून हुन्छ, विकासशीलमा न्यूनिकरणको क्रममा हुन्छ भने अविकसितमा यो औपचारिक क्षेत्रको प्रतिद्वन्दी हुन्छ । यो द्वन्द्वको उत्कर्ष विश्व व्यापार संगठनका ‘सियाटल चरण’ (सन् १९९९) मा प्रष्ट भएको थियो ।

अमेरिकाको सीयाटल शहरमा भएको सो संगठनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा त्रिपक्षीय द्वन्द्व चलेको थियो । यो संगठनको चासो वस्तुको व्यापारमा मात्र रहने र त्यो बस्तु उत्पादन हुँदा वातावरणमा पर्ने असरमा खासै नहुने हुँदा सीयाटलमा वातावरणविद्हरूले अमेरिकी इतिहासकै ठूलो विरोध जनाए । अविकसित तथा विकासशील देशहरूमा अनौपचारिक क्षेत्रले वातावरण र बालमजदुरीका कारण बस्तु उत्पादन मूल्य न्यून गराउन सकेको कारण आफ्ना उत्पादनहरूले बजार नपाउने हुँदा अनौपचारिक क्षेत्रलाई नियन्त्रण गर्न यिनलाई विकसित देशहरूले दबाब दिए । तर, अनौपचारिक क्षेत्र हाम्रो आन्तरिक मामिला हो, यसमा तिमिहरूलाई के मतलब (?) भन्दै विकासशील देशहरू कुर्लिए । ‘सियाटल चरण’पछि आजसम्म यो मुद्दामा फेरि औपचारिक र बृहत बहस भएको छैन ।

निष्कर्ष :

मानिसमा दया हुनु पर्छ तर, जंगलमा चितुवाले बाँदर मारिरहेको देख्दा चितुवा प्रति घृणा गर्न मिल्दैन । भोक नलागिकन उसले त्यसै बाँदर मार्दैन । यो ब्रम्हाण्ड, सौर्यमण्डल, पृथ्वी सबै आ-आफ्नै प्रणाली (system) मा चलिरहेका छन् । बुद्धिमत्ता दाबी गर्दै मानिसले पनि आफ्नो समाजलाई एउटा प्रणालीमा बाँध्न चाहेको छ जसको आधुनिक रूप शहरी समाज हो ।

भौतिक रूपमा विकसित देशहरूमा भौतिक पूर्वाधारहरू एउटा चुस्त प्रणालीमा चलिरहेका हुन्छन् । विडम्बनाः त्यस्ता प्रणालीभित्र लामो जीवन बिताएर आएका दिग्गजहरूले पनि हाल काठमाडौंका मेयरको यातायात प्रणाली चुस्त र सडकहरूलाई सफा राख्ने साना साना प्रयासहरू प्रति नकारात्मक सोच राखेको देखिन्छ । शायद, आफ्ना अग्रज मेयरहरूले झैं विदेश भ्रमण र भत्ता-पचाउ कार्यमै रमाएर बसे यत्ति अपजस खानु नपर्ने हुन्थ्यो होला । स्टिभ जब्सको एउटा भनाइ यहाँ सान्दर्भिक देखिन्छ, ‘यदि तपाईं सबैलाई खुसी पार्न चाहनुहुन्छ भने आइसक्रीम बेच्नुस्, नेता बन्ने सोच नराख्नुस् ।’

यदि एउटा डेरावालले ठेला व्यापार शुरू गरेर त्यो घरको आँगनमा ठेलागाडा राख्दा घरबेटीको मोटरसाइकल राख्न समस्या हुन्छ भने डेरावाललाई या त ठेला व्यापार नगर या घर छाडेर जाउ भन्ने अधिकार त्यो घरबेटीलाई हुनुपर्छ । कुनै शहर (प्रशासनिक भाषामा- नगरपालिका) पनि धेरै परिवार बस्ने एउटा ठूलो घर नै हो । ठूलो र सानो भए पनि घर र शहर चल्ने प्रणाली एउटै हो । दूरदराजका कुनै पनि नागरिकले सम्पन्न जीवनको सपना साकार पार्न कुनै पनि शहरलाई आफ्नो कर्मथलो बनाउन सक्छ; तर, त्यसको लागि उसले त्यो शहरले अपनाएको प्रणालीलाई पनि पालना गर्नुपर्छ । अनौपचारिक क्षेत्रलाई आर्थिक विकासको अभिन्न अङ्ग मान्नेहरूले या त प्रणाली बसाल्न खोज्ने व्यक्तिहरूको काममा बाधा हाल्न रोक्नुपर्छ कि चाहिँ विकसित देश नदेखेका सोझा नागरिकलाई विकसित देशमा त यस्तो वा उस्तो राम्रो प्रणाली छ भनेर धाक लगाउन छाड्नुपर्छ । आधुनिक संसारले तोकेको समाज विकासको मापदण्ड- ‘विकसित, विकासशील र अविकसित’ भन्नु नै राम्रो प्रणालीमा चलेको, राम्रो प्रणाली निर्माण गर्दै गरेको र कुनै प्रणालीमा नचलेको समाज भन्नु हो ।