कस्तो पत्रकार… तपाईंंलाई देख्दा ‘फिलिङ्स’ नै आउँदैन !

कस्तो पत्रकार… तपाईंंलाई देख्दा ‘फिलिङ्स’ नै आउँदैन !


रसना ढकाल

‘होइन.. तपाईं पनि पत्रकार ! कस्तो पत्रकार तपाईं ? तपाईंलाई देख्दा त केही फिलिङ्स नै आउँदैन । अलिक मोडल बन्नु पऱ्यो । यस्तो पाराले त हुँदैन नि !’ यो एक व्यवसायीले महिला पत्रकारसँग कुरा गर्दा प्रयोग गरेको वाक्य हो । आफूले सञ्चालनमा ल्याएको अनलाइनको लागि विज्ञापन माग्न गएकी थिइन् उनी, तर जवाफ यस्तो पाइन् । त्यस व्यवसायीको तुच्छ व्यवहार र बोली सुनेपछि उनी त्यहाँबाट फर्किन्छिन्, प्रतिकार गर्न सक्दिनन् । किनकि, उनलाई थाहा थियो फोहरलाई चलाउँदा आफ्नै मुखमा छिटा… ! यस प्रकारको तुच्छ शब्दले उनको मन अतालिन्छ । कसलाई भन्ने ? कोही सुन्दैन ! पत्रकार महासङ्घमा पनि के भन्नु ? यस्तै प्रश्नहरू बारम्बार उब्जिन थाल्छन् । अरुको सञ्चारगृहमा काम गर्दा-गर्दा कामको सम्मान र वातावरण नपाएपछि उनी आफैले नै सञ्चारगृह चलाउनु प¥यो भनेर एक अनलाइन दर्ता गर्छिन् । महिलाबाट सञ्चालन भएको अनलाइन भन्दै केही सीमित व्यक्तिले बधाई र हौसला पनि दिन्छन् । तर, सञ्चारगृहलाई जीवन्त राख्न र आफू पनि बाँच्न विज्ञापनको आवश्यकता पर्दछ । त्यसको लागि उनी एक दिन कहीँकतैबाट चिनेको व्यापारीसमक्ष अनलाइन विज्ञापनको लागि अनुरोध गर्न पुगिन् ।

कुरा एक वर्षअघिको हो, मिडिया एड्भोकेसी ग्रुपमार्फत सोलिड्यारिटी सेन्टरले पत्रकार महिलाहरू कार्यस्थलमा कत्तिको सुरक्षित छन् भन्ने विषयमा रिसर्च गरिरहेको थियो । ‘ILO C 190’ अन्तर्गत काम गर्ने कार्यस्थल सुरक्षितको विषयमा पत्रकार महिलाहरूको स–सानो समुह बनाएर समस्याको अवस्थाको बारेमा छलफल भइरहेको थियो । सोही क्रममा सबै महिला पत्रकारहरूले कहीँ आफ्नो सहकर्मीबाट हिंसामा परेको कुरा उजागर गरेका थिए भने कोहीले अनलाइनको लागि विज्ञापन माग्न जाँदा व्यवसायीले शब्दबाट दुर्व्यवहार गरेको कुरा बताएका थिए । यसैबीच एक महिला पत्रकारले गरेको गलत हर्कतको कारण आफूहरूले तनाव खेप्नु परेको गुनासो सुनाइरहेका थिए । विविध प्रकारका हिंसाका घटनाहरू पत्रकार महिलाहरूसँग थियो ।

एकदिनको कुरा हो, पत्रकारिता सुरु गर्दाकी सहकर्मी साथीसँग थापाथलीमा भेट भयो । धेरै वर्षपछि हाम्रो भेट हुँदा एकछिन के गर्ने कसो गर्ने भन्ने हुँदोरहेछ । तर हामी दुर्वैसँग समय थोरै भएकोले ‘के छ नि अहिले.. कता ब्यस्त हो ?’ भन्दै एकअर्कालाई प्रश्न ग¥यौँ । यसको उत्तरमा ‘म अहिले कुनै मिडियामा छैन नि, करिब ६ महिना भयो, म कामविहीन नै छु । पहिले काम गरिरहेको सञ्चारगृहमा समाचार प्रमुखको शंकास्पद व्यवहार र बोलीले मलाई त्याँहा काम गर्न इच्छा नै जगाएन । त्यस्तो माहोलमा के काम गर्न सकिन्थ्यो र ? उ व्यक्ति बाहिर बाहिर महिला अधिकारको लागि भन्दै हरेक सभा समारोहमा भाग लिन जान्छ तर उसैबाट म त थाहा नपाउँदो ढंगले प्रहारमा परेँ । अहिले जहाँ-जहाँ काम गर्न जान्छु त्यहाँ-त्यहाँ त्यो केटीलाई नलिनु है, त्यो काम गर्न अल्छी छे भनिदिँदोरहेछ, त्यसैले मैले काम पनि पाएको छैन’ भनिन् ।

उनको त्यो कुरा सुनेर यस्तो त होइन होला भन्दा उनले थप कुरा सुनाउँदा झन् नराम्रो लाग्यो । ‘पत्रकार महासंघमा जाउँ, मिडिया एड्भोकेसी ग्रुपमा जाउँ, सञ्चारिका जाउँ, बरु म लैजान्छु, तपाईंले यो कुरा सम्बन्धित निकायसमक्ष भन्नुपर्छ । यस्तो हिंसा सहनु हुँदैन’ भन्दैगर्दा उनले ‘त्यो त हो तर नाम र हल्लाले मेरो व्यक्तिगत जीवनमा असर पार्ने हो कि भन्ने मलाई डर भएर मात्रै म केही भन्न सकेकी छैन’ भनिन् । तर आफ्नो कुरा आफैले भन्नुपर्छ पछाडि सहयोग गर्ने हामी त छँदैछौँ नि भन्ने अश्वासन दिएर छुट्टियौँ ।

माथि प्रस्तुत घटना एक प्रतिनिधि घटना हुन् । जसलाई कुनै न कुनै रूपले महिला पत्रकारहरूले सामना गरिरहेका छन् । फरक यति मात्र हो कोही अगाडि आएर सामना गर्छन् भने त कोहि बोल्न खोज्दैनन् । सामाजिक कारणले धेरै महिलाको आवाज दबिएको हुन्छ । पत्रकारिताको इथिक्सले पत्रकारको जात, धर्म लिङ्ग हुँदैन भन्छ तर समाचार स्रोतका कुराहरू लेखनवृत्तिका सवालहरूमा महिला र पुरुष भनेर छुट्टिइहाल्छ ।

यति भनिरहँदा महिला पत्रकारले मात्रै होइन पुरुष पत्रकारहरूले पनि महिलाबाट हिंसा खेपिरहेका छन् भन्नैपर्छ । महिला पत्रकारको कारण पुरुष सहकर्मीलाई पनि गाह्रो र हिंसा महसूस भएको कुरा पुरुष पत्रकारहरूसँग गरिएको छलफलमा वरिष्ठ पत्रकार बबिता बस्नेतसँग सेयर गरेको स्मरणमा आउँछ ।

सञ्चारगृहबाट घरफर्कन राति अबेर भइसकेको थियो । ‘आफ्नै साथी हो, रातिको बेला महिलाहरूलाई डर हुन्छ हिँड म बाइकमा तिमिलाई रुमसम्म छोडेर आउँछु’ भनी पुरुष सहकर्मीले भनेपछि खुशी हुँदै बाइकमा बसिन् र बीच बाटोमा पुगेपछि उनले आफ्नो शरिरभरि सुम्सुम्याएजस्तो गरी छोएको र आफूलाई अप्ठ्यारो फिल भएको एक पुरुष पत्रकारले सुनाए । त कोहीले शरिर नै छुने गरिकन बस्न आउने, अलिक पर बस्नु भन्दा किन नजिक बस्न हुन्न र ? भन्ने जस्ता प्रश्न गर्ने ! यस प्रकारको हिंसाको कारण जसलाई पनि मानसिक असर पर्छ । यही कुरा महिलालाई भएको भए ‘हिंसा’ हुन्थ्यो तर पुरुषलाई हुँदा प्रतिशतको हिसाब हुन्छ । के हिंसा पनि प्रतिशतको हिसाबले हुने हो ? बडो वेदना महसूस गर्दै एक पुरुषले सुनाए ।

हाम्रो समाजिक संरचना बडो गजबको छ, पुरुषलाई हिंसा भयो भने बहादुर र बलियो हुनुपर्छ भन्छ भने महिलालाई हुनेवित्तिकै तुरुन्त ठाडो निवेदन र जाहेरी दिइहाल्नु पर्छ भन्दै सदन, सडक र सञ्जाल तात्छ ।

यति भनिरँहदा सबै पुरुष हिंसक हँुदैन तर सबै महिला पीडित पनि हुँदैनन् भनी स्वीकार गर्नैपर्छ । हिंसाको घाउ विपरीतलिंगीबाट मात्रै होइन समान लिंगीबाट पनि हुन्छ । आफ्नो साथीलाई अघि बढ्न नदिने, जथाभावी कुरा गर्ने, अरुको अगाडि होच्याउने काम पनि गर्छन् । धेरै स्थानमा पुरुष सहकर्मीहरूले महिलाहरूलाई अघि बढ्न सहयोग गरेका उदाहरणहरू पनि प्रस्शस्त पाइन्छ । उच्च आत्मविश्वासको साथ काम गर हामी सहयोग गर्छौं भन्ने पनि सहकर्मीहरू हुन्छन् । नियतमा खोट व्यक्तिविशेषमा हुने हो समग्रमा होइन ।

दृष्टिकोणमा परिवर्तन कहिले हुन्छ ?

लैङ्गिक समानता र सामाजिक न्यायको लािग भएका थुप्रै अभियानहरूको मूल आशय भनेकै दृष्टिकोणमा परिवर्तन ल्याउनु हो । जबसम्म सोचमा परिवर्तन आउँदैन या पेशामा सम्मानको भावना आउँदैन, तबसम्म परिवर्तन आउँदैन । महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूबीचको असमान शक्ति–सम्बन्धहरू र त्यसले निमत्याएका परिणामहरूले यस्ता व्यक्तिहरूप्रति हेर्ने÷गर्ने व्यवहारमा फरकपन ल्यायो । उनीहरूको कामको बाँडफाँडदेखि जिम्मेवारी बहनसम्मका कुराहरूलाई जबर्जस्ती लाद्ने र गर्नैपर्छ भन्ने बाध्यतहरूको सीमारेखा कोऱ्यो । त्यसको परिणाम हरेक पेशा तह तप्काहरूमा पनि छ । मान्छेपिच्छे पेशा फरक हुन सक्छ तर हाम्रो हुर्काइको क्रममा असमानताको शब्दभित्र रहेर स्थापित सोचको मूल्यमान्यतको कारण हो एक अर्काको कामलाई सम्मान गर्न नसक्नु । हाम्रो भविष्य कस्तो भन्ने कुरा वर्तमानले तोक्छ । अहिले हरेक क्षेत्रमा उठेको कुरा नै यही हो ।

हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भएसँगै पत्रकारिता क्षेत्रमा पनि महिला सहभागिता उल्लेखिनिय रूपमा बढेको छ । हिजोका महिला पत्रकार अरुले ल्याएको समाचार पढ्ने गर्थे भने अहिले त आफै लेख्छन्, आफै समाचार खोज्न जान्छन् र समाचारलाई सम्पादन पनि गर्छन्, अझ फोटो पनि खिच्छन् । नेपाल पत्रकार महासंघको वि.स. २०७९ को तथ्यांकअनुसार पत्रकारको सख्या १३०७७ रहेको छ जसमा २४०८ महिला पत्रकार रहेका छन् । पत्रकारिता क्षेत्रमा महिला प्रवेश धेरै छ । तर सवाल सख्यात्मकको हिसाब मात्रै नगरौँ गुणात्मक लेखनको कुरा गराँ । यति भनिरँहदा अरुबाट समाचार लेखाएर आफू सम्पादकको पदमा बस्ने महिला पत्रकारहरू पनि छन् । एक पटक वसुन्धराको एक कपडा पसलमा गएको बेला त्यस पसलकी साहुनीसँग पनि सूचना विभागमा दर्ता नभएको मिडियाको सम्पादक पदको कार्ड थियो । मैले ‘५ क’ र ‘एविसी’को कुरा गर्दा उनी अक्क न बक्क परिन् । अवस्था यस्तो पनि छ । यो भनेको पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने काम हो । यसै भीडमा युटुबको कुरा पनि थोरै जोडौँ । युटुब चलाउनेहरू पत्रकार होइनन् भनी प्रेस काउन्सिलले भनेको छ तर युटुब चलाउनेहरू राज्यसंयन्त्रहरूको कार्यालयमा पुगेर आफूलाई पत्रकारको परिचय दिन्छन् ।

यसले क्षमतामाथि प्रश्न उठाउँछ । आफ्नो क्षमता बढाउँदै लैजान आवश्यक हुन्छ । पत्रकारितासम्बन्धी तालिमहरू लिन आवश्यक हुन्छ । अरुबाट प्रशोधन भएर आएको समाचारलाई कहिलेसम्म आफ्नो नाम दिने ? यस प्रकारको घटनाले पनि आफ्नो क्षमतामाथि प्रश्नचिन्ह् लगाउँछ । यसले गर्दा पनि आफू हिंसामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । सञ्चारजगतमा महिलाहरूको सहभागिता बढाउनमा रेडियो एफएमहरूको धेरै ठूलो हात छ । यति हुँदासम्म पनि महिलाको कामको सम्मान अझै छैन ।

के भन्छ त मिडिया एड्भोकेसी ग्रुपको रिसर्चले ?

मिडिया एड्भोकेसी ग्रुपले सन् २०२२ को मे १ देखि २०२२ को ३१ अगस्टसम्म अनलाइनको माध्यमले महिला पत्रकारलाई हुने हिंसाको अध्ययन गरेको थियो । महिला पत्रकारमाथि अनलाइनको माध्यमबाट हुने हिंसाको दर कस्तो छ ? कसरी अनलाइनबाट पत्रकार महिला हिंसामा परेका छन् यसले गर्दा व्यक्तिगत जीवन र व्यवसायमा कतिको असर परेको छ यस अध्ययनको आसय रहेको थियो । यसअन्तर्गत पत्रकारिता क्षेत्रको विभिन्न माध्यम जस्तै छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २८१ ज्ना महिला पत्रकारको सहभागिता रहेको थियो । जसमध्ये अध्ययनमा सहभागि ८८.६ प्रतिशत महिला पत्रकारले आफूले जीवनकालमा अनलाइन हिंसा भोगेको बताएका थिए भने सो सहभागिता मध्य ५३ प्रतिशतले आफूले भोगेको अनलाईन हिंसा पत्रकारिता पेसासँग सम्बन्ध्ति रहेको बताएका छन भने ११.४ प्रतिशतले अरुले अनलाइन हिंसा भोगेको र यसबारे आफूले सुनेको बताए ।

कस्ता प्रकारका धम्कीको सामना गरे भन्दा २१.४ प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसा पछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेको बताएका थिए । हिंसा गर्ने व्यक्ति को त भन्ने अध्ययन गर्दा २८१ मध्ये ११६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले अपरिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बन्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीहरूबाट अनलाइन हिंसा भएको बताए । यसअन्तर्गत फेसबुक म्यासेन्जरबाट बढी हिंसा भएको छ । ६२.३ प्रतिशतले फेसबुक म्यासेन्जर, १५.३ प्रतिशतले ट्वीटर, १२.८ प्रतिशतले ह्वाट्एप, ११.७ प्रतिशतले भाइबर, ६ प्रतिशतले इमेल र ४.६ प्रतिशतले इन्स्टाग्रामको माध्यम प्रयोग गरिएको बताएका थिए । यसैगरी ४०.२ प्रतिशत महिला पत्रकारहले पेशामा असर परेको बताएका छन् भने ३१ प्रतिशतले पारिवारीक जीवनमा असर परेको बताए । यसको कारण ६२.३ प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र २६.३ प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको बताएका थिए । (स्रोत : मिडिया एड्भोकेसी ग्रुपले गरेको ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था अध्ययन’)

यसरी पत्रकार महिलाहरूमाथि अनलाइनबाट हुने हिंसाको दर अत्याधिक डरलाग्दो देखिन्छ । यसले सिङ्गो पत्रकारिता क्षेत्रलाई पत्रकार महिलाको सुरक्षाको सवाल झनै बढाएको छ । अरुको समाचार लेख्ने व्यक्ति कहिँ आफै समाचारको हेडलाइन नबनुन् । राज्यको चौथो अंगलाई जोगाइराख्नु सबै भन्दा पहिले व्यक्ति आफैमा निहीत हुन्छ भने अर्को राज्यको प्रमुख जिम्मेवारी आउँछ । हुनत कार्यस्थलमा हुने हिंसा होस् या अनलाइनको माध्यमले हुने हिंसा होस्, हिंसा हिंसा नै हो केवल माध्यम फरक हुन् । तसर्थ महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसख्यक जो भए पनि हिंसा कसैलाई पनि हुनु हुँदैन, एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्नुपर्छ ।