आत्मदाह गरेका आचार्यलाई ‘उद्यमी शहीद’ घोषणा गर्न माग

आत्मदाह गरेका आचार्यलाई ‘उद्यमी शहीद’ घोषणा गर्न माग


इलामका युवा उद्यमी प्रेम आचार्यले काठमाडौंमा आत्मदाह गरेको घटनाप्रति एकीकृत शक्ति नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका महासचिव सुभास प्रसाद पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाले नेपालको राज्य व्यवस्था निकम्मा र गैरजिम्मेवार तथा सरकार र राजनीतिक नेतृत्व आत्मकेन्द्रित एवम् संवेदनाहीन रहेको पुष्टि भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘एउटा उद्यमी-व्यवसायी यो देशमा कुन हदसम्म सताइरहन्छन् र गरिखाने वर्ग कसरी मारमा परिरहेछ भन्ने मार्मिक तथ्य यस घटनाले उजागर गरेको छ ।’

राज्यका निकाय मात्र होइन बैंक तथा वित्तिय संस्थाहरू नागरिकप्रतिको आफ्नो दायित्वप्रति बेसरोकार तथा असम्वेदनशील रहनुको परिणामका रूपमा पनि यस दर्दनाक घटनालाई लिन सकिने भन्दै महासचिव पाण्डेले आचार्यको आत्मदाहलाई पार्टीले एउटा बलीदानीपूर्ण त्यागको रूपमा लिएको जनाएका छन् ।

उद्यम व्यवसाय र व्यवसायीको हितका निम्ति आफ्नो प्राण आहुती दिने प्रेमप्रसाद आचार्यलाई ‘उद्यमी शहीद’ घोषणा गर्न र मर्माहत परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न एकीकृत शक्ति नेपालल सरकारसँग जोडदार माग गरेको छ ।

बैंकिङ नीति-व्यवहारमा सुधार गरी नागरिकलाई सहज वातावरणमा काम गर्ने परिस्थिति निर्माण गरिदिन पनि विज्ञप्तिमार्फत सो पार्टीले ध्यानाकर्षण गरेको छ ।