बेलायत पुगेका पहिलो नेपाली मोतिलाल सिंह

बेलायत पुगेका पहिलो नेपाली मोतिलाल सिंह


  • सुनिल उलक

वि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागि निस्केको तत्कालिन श्री ३ महाराज जंगबहादुरको टोली निकै ठूलो थियो । १२ सय सैनिकहरूको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए जंगबहादुरले साथमा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यहीँ घुम्नको लागि रोकियो । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैयाँ मन्दिरलाई दान गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो करोडौँ हुन आउँछ ।

चैत्र २७ गते बेलायतको लागि पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको P&O Company को Haddington Steamer मा जंगबहादुरको यात्रा आरम्भ भएपछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समयसम्म पनि रूँदै समुन्द्र हेर्दै बसेका थिए । उनीहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ, तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् भन्ने थियो र त्यसरी रोएका थिए ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिनापछि बल्ल जंगबहादुरको टोली पुग्न सफल भयो ।

सबैको मान्यताअनुसार जंगबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर, जंगबहादुर लण्डन पुगेको दुई दिनमा सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको एक नेपालीमाथि जंगबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबै कुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा वर्णन गरे उनले जंगबहादुरलाई ।

उनको नाम मोतिलाल सिंह थियो । भक्तपुरमा जन्मेका उनी १९ वर्षको उमेरमा अङ्ग्रेज-नेपाल युद्धमा घाइते भएपछि उनलाई अङ्ग्रेज सेनाले कब्जामा लिएको थियो । उनको बहादुरीबाट खुशी भएका अङ्ग्रेज सैनिक अधिकारीले उनलाई वि.सं. १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकको रूपमा भर्ती गराइदिए । अङ्ग्रेजी बोल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरे र बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उनलाई एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ लागेर वि.सं. १९०० तिर लण्डन पुगेका थिए । केही दिनको लण्डन बसाइमा नै भएको पैसा चोरी भयो र लण्डनको सडकमा बेवारिसे बने । मागेर खाने र सेन्ट पौल चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

अचानक १९०७ जेठ १६ मा जंगबहादुरको नजर परेपछि जंगबहादुरले उनलाई उनको दुःखद परिस्थितिबाट मात्र मुक्त गरेनन्, उनलाई आफ्नो यात्राभरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ-जहाँ गए सबै ठाउँमा सम्मानसाथ उनलाई लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन्, त्यहाँको सबिस्तार वर्णनसमेत गरिदिएर प्रसन्न तुल्याए । जंगबहादुरका साथ पेरिस पनि पुगेका मोतिलालले नेपाल फर्कनका लागि जंगबहादुरले गरेको आग्रह भने मानेनन् ।

मोतिलालको चर्चा बेलायतमा उनको १८ पन्ना लामो लेखले गरायो । जंगबहादुरको बेलायत भ्रमणकै क्रममा उनले बेलायतबाट प्रकाशित हुने New Monthly Magazine and Humorist को जुलाई १८५० को अंकमा लण्डनमा रहेका नेपालीहरूका केही तथ्य (Some Accounts of Nepaulese in London) छापिएपछि धेरैले नेपाल र नेपालीहरूबारे जान्ने मौका पाए । साथै मोतिलाल, जसले आफ्नो नाम बेलायती रूपमा मट्टी लोल सिङ (Mutty Loll Sing) लेखेका थिए, को पनि चर्चा हुन थाल्यो ।

मोतिलालका सन्ततिहरूको विषयमा खुलदुली हुनु स्वभाविकै हो, तर यसको विषयमा बेलायतमा केही भेटिएको छैन । उनको विषयमा अध्ययन गर्दा उनी भक्तपुरका नेवार भएको जानकारीसम्म भेटिन्छ । कलकत्तामा रहँदा उनले बंगाली श्रीमती विवाह गरेका थिए । ती बंगाली श्रीमती र उनीबाट जन्मेको सन्तान सबै कलकत्तामा नै छोडेर लण्डन गएका थिए । त्यसपछि मोतिलालको आफ्नो श्रीमती र छोराछोरीहरूसँग सम्पर्क भएको देखिँदैन । बेलायतमा जंगले भेट्दा पनि उनी एक्लै नै थिए । उनको कुनै अन्य महिलासँग विवाह भएको भन्ने उल्लेख कतै भेटिँदैन । तर मोतिलालले कलकत्ता छोडेको करिव ३० वर्षपछि कलकत्ता गजेटको १८७२, जुन २९ मा शेयर बिक्री गर्नेमध्ये दुई नाम रामलाल सिङ र रुङलाल सिङ (Ram Loll Sing and Rung Loll Sing) देखिँदा मोतिलालले कलकत्ता बस्दा नै नामको हिज्जे परिवर्तन गरेको र गजेटमा छापिएको नाम उनको सन्तति हुन सक्ने आँकलन गर्न सकिन्छ ।