यिनलाई राष्ट्रपति बनाउँदा पदीय गरिमा कसो नबढ्ला !

यिनलाई राष्ट्रपति बनाउँदा पदीय गरिमा कसो नबढ्ला !


मुक्तिनाथ खनाल

यो देशमा अब पुनः राष्ट्रपतिको निर्वाचन गर्ने दिन नजिकिँदै छ । यसबीचमा अहिलेदेखि नै कसलाई राष्ट्रपति बनाउने भन्ने चर्चा चल्नु स्वभाविक हो । आ-आफ्नो पार्टीका उम्मेदवार बनाउन र जिताउन खोज्नु हरेक पार्टीको चाहना र प्रयास हुन्छ पनि । त्यसैअनुरुप अहिलेसम्म ठूलो पार्टी भनेको नेपाली काङ्ग्रेस छ । उसले कसलाई उम्मेदवार बनाउँछ हेर्न बाँकी नै छ । त्यस्तै, हाल सरकारमा सम्मिलित पार्टीहरूको चाहना के छ अहिले प्रकाशमा आएको छैन । यद्यपि अनुमान गर्नेहरूको ज्यादातर मतअनुसार नेपाली काङ्ग्रेसतर्फ वर्तमान प्रधानमन्त्री प्रचण्ड तत्काल काङ्ग्रेससँगको गठबन्धनमा रहँदासम्म आफूलाई काङ्ग्रेसबाट प्रधानमन्त्रीको सिफारिस भएमा आफूले पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको निमित्त सिफारिस गर्ने आपसी सम्झौता भएको थियो भन्ने सुन्नमा आएको थयो । यदि त्यस्तो सम्झौता थियो भने काङ्ग्रेससँगकै सिफारिसमा उहाँ प्रधानमन्त्री नबने पनि पछि दिइएको विश्वासको मतले प्रष्ट्याउँछ कि प्रचण्डप्रति काङ्ग्रेसको सिफारिस पहिला पनि थियो र आज पनि छ भन्ने विश्वास लिनुपर्छ/बुझ्नुपर्दछ ।

त्यसोभए माओवादी पार्टीले नेकाको वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको निमित्त किन सिफारिस नगर्ने त ? राजनीतिक फाइदा पनि इमानदारीपूर्वक लिनुपर्छ, झुटमुटको काम/व्यवहार गर्दा पछिसम्मलाई अविश्वासिलो बन्न पुगिन्छ । त्यसैले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारी, समर्थन र विजय गराउन माओवादी पार्टीको धर्म र कर्म हुन जान्छ ।

भनिन्छ, बन्दुकको गोली र ठूलाको बोली फिर्ता हुँदैन । यो साँचो कुरा त बन्दुक चलाउनेलाई बढ्ता थाहा होला । हाम्रो देशको प्रधानमन्त्री त झन् यस्ता कुराको विशेषज्ञ नै हुनुहुन्छ । सुनिन्थ्यो, प्रधानमन्त्री नहुँदै हाम्रा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफू देशको प्रधानमन्त्री भएमा देशको राष्ट्रपतिको सम्मान दिएर उच्च सिंहासनमा राख्ने बाचा कबुल गर्नुभएको थयो । अब त्यो दिन नजिक आउँदै छ ।

यही आशामा पनि नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर परिपक्व बनायो । यदि काङ्ग्रेसले साँच्चै नै अविश्वासको मत दिने विचार एवम् प्रयास गरेको भए सम्भवतः सफल हुन्थ्यो, वा नहुन पनि सक्थ्यो, तर त्यसो गरेन । के त्यो गुण अब प्रधानमन्त्रीले तिर्नु नपर्ला ?

हिजो रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनुपर्छ भनी नेपाली काङ्ग्रेसभित्रै प्रस्ताव राख्दा आफ्नै पार्टीभित्र पनि उहाँलाई पदको लोभमा सिद्धान्त नै त्याग्न सक्ने अभियोग लाग्ला जस्तो भयो । तर उहाँले आफूलाई पद पाउनुको निमिम्त्त मात्र नभई गठबन्धन बचाउने र काङ्ग्रेसले सरकार बनाउन सकोस् भन्ने उद्देश्यले त्यसो भन्नुभएको होला भन्ने बुझाइमा कमी आयो होला ।

हिजो आज देशको राजनीति कसरी सञ्चालन गरी विकास गर्नेभन्दा पनि सरकारको गठबन्धनभित्र आ-आफ्नै पार्टीको कसलाई राष्ट्रपति बनाउने होडबाजी चलेको बुझिन्छ । सरकारको गठबन्धनभित्र एमालेको वर्चश्व छ र मूल साँचोको झुत्तो केपी ओलीसँग छ । उहाँले जसलाई चाह्यो त्यसलाई उभ्याउन खोज्नुहुन्छ । उहाँले उभ्याउने व्यक्ति धेरैले अनुमान गरेका पनि छन्, तर के नेपाली काङ्ग्रेसमा २००९ सालदेखि प्रजातन्त्रप्राप्तिका लागि सशक्त आन्दोलन गर्दै ५-१० वर्ष जेल यातना भोगेका शिक्षित, कर्मठ व्यक्तिमा गनिनु हुने भूपू सभामुख एवम् गृहमन्त्री भइसक्नु भएका अनुभवी काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गर्दा के देशको इज्जत नबढ्ला र ? राष्ट्रपति पदको गरिमा नबढ्ला र ?