आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने

आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने


आज (२४ पुष)देखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिएका छन् ।

यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो । वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने निर्णय गरेको थियो । साथै, देखिनेगरी सुधारका काम तत्काल आरम्भ गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालयलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएको थियो ।

सुर्खेत र धनगढीबाट पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु हुने प्रेस संयोजक शर्माले जानकारी दिएका छन् । त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।

यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नमिल्ने अवस्थाका कारण नागरिकहरु काठमाडौं आउनुपर्ने बाध्यता थियो । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको योजनाअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।