स्वस्थानी ब्रतकथा र हामी

स्वस्थानी ब्रतकथा र हामी


– सुनिल उलक

मसँग दुईवटा विद्यावारिधि गरेका थेसिसका कपीहरू छन् । एउटा लिण्डा लुइस इलटिसको, जसले युनिभर्सिटी अफ् विस्का‘न्सिन मैडिसनबाट विद्यावारिधि गरेकी थिइन् । उनको विषय थियो- ‘स्वस्थानी ब्रत: नेपालमा नेवा: महिला र संस्कार’ । उनको विद्यावारिधिको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन् १९८५ मा विद्यावारिधि गरेको करिव २५ वर्षपछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो युनिभर्सिटीबाट स्वस्थानी ब्रतकथाको विषयमा विद्यावारिधि गरिन् । उनको विषय थियो- ‘स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरूमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन’ ।

यसरी लामो अन्तरालमा दुई अमेरिकी महिलाले स्वस्थानी ब्रत र स्वस्थानी ब्रतकथामा विद्यावारिधि गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिँदैन । जेस्सिकाले भने पछि पुस्तक पनि छपाइन्, Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । यसरी दुई विदेशी महिलाले नेपालमा मात्र प्रचलित स्वस्थानी ब्रतकथाको गहन अध्ययन गरेका थिए ।

स्वस्थानी शब्दको अर्थ हो- ‘स्व’ अर्थात् आफ्नो, अनि ‘स्थान’ अर्थात् ठाउँ हो । तसर्थ, स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरूले पूज्ने अष्टमात्रिकाको रूप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश- साँखु हो । साथै यही साँखुमा बस्ने एक महिला ‘गोमयजु’को जीवनका सुख दु:ख, आँसु हाँसो तथा सम्पन्नता विपन्नताका बीच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो ।

सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत् ६९३ (वि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । साथै सो समय यो ब्रत केवल २ दिन १ रात अर्थात् केवल दुई दिनको हुने देखिन्छ । तर यसको केवल ३० वर्षपछि लेखिएको स्वस्थानी ब्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । वि.सं. १६५९ देखि मात्र स्वस्थानी ब्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरूबीच स्वस्थानी ब्रतकथा ब्यापक हुन थालेपछि वि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तीपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए ।

यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको ब्रतकथा गोरखालीले काठमाडौं विजय गरेपछि वि.सं. १८६६ मा मात्र नेपालीमा लेखिएको थियो । यसपछि अन्यले पनि यसलाई अंगिकार गरेको मान्न सकिन्छ । शुरुमा वनारसबाट छापिने नेपाली भाषाका स्वस्थानी ब्रतकथाका पुस्तक धेरै पाइन्थ्यो । जसले गर्दा भाषागत रूपमा अशुद्धता धेरै भेटिन्थ्यो । अचेल भने नेपाली प्रकाशकका पाइन्छन् । जसले गर्दा केही कम नै अशुद्ध भेटिन्छ । साथै कथामा धेरै नेपालीकरण र ब्राम्हणीकरण धेरै भेटिन्छ ।

शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो किताव बनेको थियो । शुरुका करिव २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै यसको कथामा पनि समय–समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा १८ पुराण मध्यको पुराण स्कन्द पुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्द्रविन्दु बनाएर यो कथा लेखिएको छ ।

पुराणका कथामा प्रमुख पात्र भने स्थानीय विभिन्न नाममा राखिएको छ । यस कथाभित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिँदा गोमा ब्राम्हणीको रूपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती । तीन पात्रसँगै तीन चरित्र रहेको छ । गोमयजु- शान्त, जस्तै दु:खमा पनि नआत्तिने, नवराज- आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । तेश्रो चन्द्रावती- स्वार्थी स्वभावको । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दु:ख पाइन् ।

यस कथाको मुख्य विषयवस्तु नै महिलाकेन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाहपछि पतिको घरलाई स्विकार्नुपर्ने तथा नयाँ घरमा जस्तै विषम परिस्थिति रहे तापनि खुशीसँग रहनुपर्छ भन्ने देखाइएको छ । गोमयजुले विवाहपछि पुगेको पति शिवदत्तको घरको दयनिय अवस्था र चन्द्रावतीले विवाहपछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिँदैन । दुवै गरिव थिए । साथै धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।

आखिर को हुन् त गोमयजु वा को हुन् त नवराज ? यो प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुल्दुली हुने गर्दछ । यी पात्र केवल काल्पनिक हुन् वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् ? स्वस्थानी ब्रतकथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसँग छ ? के यसमा हरेक अध्यायमा भनिए जस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि अर्थात् कुमारले भन्ने र अगस्त्य मुनिले लेखेकै हो त ? यि सबै अनुत्तरित प्रश्नहरू छन् । सबैभन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पिठहरू पौराणिक कथाहरूसँग मिल्दैन ।

यो कथामा महिलामाथि अन्याय भएको बढी देखिन्छ । तर महिलाको सहनशीलता र उसको धैर्यले गर्दा जीवनमा सुख–सुविधा सबै प्राप्त हुन्छ । यस कथामा दैवीशक्तिको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने भन्ने देखाइएको छ । यसको कथाबस्तुले भगवानको छलकपट देखाएको छ । भगवानमाथि प्रश्नचिन्ह लगाइएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्य झैँ स्वार्थी पनि हुने गर्छ भन्ने देखाइएको छ ।

यसको ब्रत बस्दा सोचेको पूरा हुन्छ भनिन्छ । तर यसको दैवीशक्तिले होइन यसका कथाबस्तुले महिलामा आत्मविश्वास वृद्धि गर्छ । कार्यमा लगनशीलता बढाउँछ । जसले गर्दा आफ्नो लक्ष्यप्राप्ति गर्दछ ।

यस स्वस्थानी ब्रतकथामा शालीनदीको वर्णन रहेको हुँदा शालीनदीमा ब्रत बस्ने तथा नुहाउनेहरूको भिड लाग्ने गर्दछ । तर पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिव २०० वर्ष अगाडिबाट मात्र शालीनदीको उल्लेख गरिएको भेटिएको छ । तसर्थ शालीनदीमा ब्रत बस्ने चलन पनि बढीमा २०० वर्ष मात्र भएको अनुमान गरिएको छ । साथै यही स्वस्थानी ब्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुई जात्रा दुई ठाउँमा लाग्ने गर्दछ । चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुवै जात्रालाई धेरै पुरानो जात्रा मानिँदैन । माधवनारायणको कठिन एक महिना लामो व्रत बस्ने गरिन्छ ।