दक्षिण कोरियामा क्वारेन्टाइनबाट चिनियाँ यात्रु फरार भएपछि…

दक्षिण कोरियामा क्वारेन्टाइनबाट चिनियाँ यात्रु फरार भएपछि…


दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको र त्यसपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । मंगलबार अबेर सियोलनजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट बेपत्ता भएको कोरियाली स्वास्थ्य अधिकारीको भनाइ छ ।

पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु–योङले बताएका छन् । संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन् । उनलाई देशनिकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइने बताइएको छ ।

मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो । कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन् ।

कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउँदै आएका सबै प्रतिबन्ध हटाएको थियो । प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ । एउटै शहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ ।