कोसीमा गरिएको किशोरको हत्याबारे अनुसन्धान सुरु

कोसीमा गरिएको किशोरको हत्याबारे अनुसन्धान सुरु


सुनसरीको कोसी गाउँपालिका-२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी-२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार किशोरको शव बुधबार बिहान गाउँनजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो । मङ्गलबार दिउँसोदेखि एकाएक घरबाट लौकही गएको र हराएका किशोर रञ्जीतको शव बुधबार स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर नै फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको प्रहरीले जनाएको छ ।