दलेल कवाज सम्पन्न

दलेल कवाज सम्पन्न


  • विकाश रौनियार, धादिङ

श्री ६ नम्बर बाहिनी अड्डा बैरेनी ब्यारेकमा २०७८ फागुन २५ गतेबाट सञ्चालन भएको सि.सं. नम्बर १ को महिला सैन्य आधार तालिमरत ९४ जना सेनाको यही पौष २० गते सम्पन्न अन्तिम दलेल कवाज सम्पन्न भएको छ । सो बाहिनी अड्डाका बाहिनीपतिको प्रमुख सहायक रथी रामचन्द्र कार्कीको आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

बाहिनीमा पहिलो पटक सञ्चालित महिला सैन्य तालिममा रुकुमको रुकुमकोट गाउँपालिका ५ की सविना थापा मागर सर्वोत्कृष्ट भएकी छन् । उनले खुकुरी तथा प्रमाणपत्र प्राप्त गरिन् भने उनलाई बाहिनीपति सहायकरथी कार्कीले पुरस्कार प्रदान गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै बाहिनीपति कार्कीले तालिमे सैन्यहरुबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गरेका थिए । तालिमे सैन्य समूहलाई सम्बोधन गर्दै बाहिनीपति कार्कीले सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि हरदम तयार रहेर देश र जनताको सेवामा कटिवद्ध हुन निर्देशन दिए ।

कार्यक्रममा धादिङको निलकण्ठ, धुनिवेशी, तथा बेलकोटगढी नगरपालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।