राजाको नाम लिँदालिँदै आत्महत्या

राजाको नाम लिँदालिँदै आत्महत्या


राजसस्था पुन:स्थापित हुने कुनै विश्वासिलो आधार नभेटिएको भएपनि एकथरी नेपाली राजसंस्था फर्काउने अठोटका साथ सडक-राजनीतिमा सक्रिय देखिन्छन् । कहिले जुलुस, धर्ना र सभा तथा मोटरसाइकल र्‍याली गरेर त कहिले अन्तरक्रियात्मक सभा रचेर राजसंस्था पुन:स्थापनाको माग गर्दै युवाहरू सडकमा उत्रिएका हुन्छन् । त्यस्तै अभियन्तामध्ये एकले राजसंस्था पुन:स्थापनाको नारा लगाउँदा लगाउँदै गतसाता आत्महत्या गरेका छन् ।

सिन्धुपाल्चोकका हेमविक्रम सिलवालले गतसाता विष सेवन गरेर प्राण त्याग गरेका हुन् । त्यसरी विष सेवन गर्नुअघि सिलवालले निकै मार्मिक स्ट्याटस फेसबुक पेजमा लेखी आफूले अत्महत्या गर्नुको कारण खुलाएका छन् । ललितपुरस्थित एक माटोको कच्चीघरको छिँडीमा एउटा कोठा भाडामा लिएर बस्दै आएका हेमविक्रम सिलवाललाई राजसंस्था पुन:स्थापना आभियानका सर्वाधिक क्रियाशील ब्यक्तिका रूपमा लिइन्थ्यो । उनले आत्महत्या गर्नुअगाडि फेसबुक स्ट्याटसमा लेखेको ब्यहोरा आम पाठकको जानकारीका लागि जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ-

जीवनमा मैले ठुलो भुल गरेँ !

मैले राजनीति गर्नु राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुअधिराज्य भनेर देश र जनता भनेर हिँड्दा मेरो सबैथोक सकिएछ ! मेरो पितापुर्खाको नासो भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छोड्यो । १४ वर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मुल्याङ्कन गरेनन् । भीमसेन थापाले पनि त्यसै आत्महत्या गरेको होइनरहेछ । मल्लकालमा भीम मल्लको श्रीमतीले त्यसै सराप दिएको होइनरहेछ । नेपालमा देश र जनता भन्नेहरूको हालत यस्तै हुँदारहेछन् ! हामी जस्तो जन्मिनु नै बेकार रहेछ ! देश भन्नु त मर्नुपर्ने रहेछ, जिउँदै मर्नुपर्ने रहेछ । यहाँको बुद्धिजीवी, पत्रकार आमनागरिक चुनाव आएपछि मासुभात पैसामा बिक्दारहेछन् ! मलाई स्व. पूर्वमन्त्री खुमबहादुर खड्काले भन्नुहुन्थ्यो- ‘भाइ.. नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे.. मैले पत्याइनँ, तर हो रहेछ ! जनतालाई देश होइन मासुभात, दारु, पैसा भएपछि केही नचाहिँदो रहेछ !’ चुनाव नआउन्जेल नेतालाई गाली-बेइज्जति गर्ने, चुनाव आएपछि मासुभात पैसामा भोट हाल्ने ! हाम्रो समाज कसरी विकास निकासको बाटोमा हिँड्नु ! १२ वर्ष रामायण सुनाए सीता कसको जोइभन्दा रावणको भनेझैँ भयो ! राजसंस्था, हिन्दुराज्यको मुद्दा लिएर हिँड्दा सबैको तारो ! तर राजाको सचिव मलाई राजा भेट्न दिँदैनन् ! नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन राजाको सचिव सागर तिमल्सिना र डा. फणिन्द्र पाठक लागेका छन् ! राजाको नजिक भएर राजसंस्था खतम पार्ने ! राजालाई हामीले राम्रो सबै मिलाइराछौँ भनेर झुठो आश्वासन दिने ! जसले देश बुझेको छ उसलाई राजासँग भेटघाट नगराउने, आफ्नो आफन्त आसेपासे, आफ्नो भजनमण्डलीलाई भेटाउने, राजाको भन्दा पनि आफ्नो गीत गाउन लगाउने ! यस्तो पाराले नेपालमा राजसंस्था र हिन्दुराज्य कहिल्यै आउँदैन ! ‘जसको बिहे हेर्नै नदे’ भनेझैँ ! मैले राजासँग भेटेर कुरा गर्न खोजेको ४ वर्ष भयो । सागरलाई भन्यो डाक्टर फणिन्द्र पाठकलाई देखाउँछ ! यो कुमाई र जैसीले मलाई बिरालोले मुसा खेलाएझैँ खेलाए ! जैसी र कुमाई यति खराब हुँदारहेछन् ! मेरो जाहाज डुबाइदिए मेरो १४ वर्ष स्वतन्त्र नागरिक समाज स्थापना गरेर मुलुकलाई राजसंस्था र हिन्दुअधिराज्य मेरो पुर्खाको धर्म.. म सिपाहीको सन्तान.. भनेर मैले कमाएको पैसा १४ वर्षमा आन्दोलन, धर्ना विचार गोष्ठी, विरोध प्रदर्शन र नेपाल सरकारलाई ज्ञापनपत्र दिएर जागरण कार्यक्रम गरेर सकेँ, आज म पैसा सकिएर जोगी भएँ तर मलाई एकपटक राजासँग कुरा गर्ने वातावरण मिलाई देउ न भन्दा उसले उ र उसले उ देखाएर मलाई बेवकुफ बनाए ! म पहिला मरे त ठिकै छ तर मभन्दा राजा ज्ञानेन्द्र पछि मरे भने आर्यघाटमा फुलमाला चडाउँला, राजाको निजी सचिव सागर तिमल्सिनाले मलाई म राजा ज्ञानेन्द्रको निजी सचिव रहुन्जेल तँलाई राजा भेट्न दिन्नँ भने । मेरो त राजासँग आस्था मात्र हो ! मेरो बाटो छेकेर मलाई के फरक पर्छ र, मैले देशको लागि राजसंस्था र हिन्दुराज्य हुनुपर्छ भनेर सत्याग्रह गरेँ, मेरो घरमा चामल नभए र भोको बस्या हो ? नेपाली समाजलाई मेरो प्रश्न– १४ वर्षमा मैले कमाएको पैसा ४ करोड ५० लाख सिध्याएँ, तर मेरो आस्थामा चोट राजाका सचिव सागर तिमल्सिना र डाक्टर फणिन्द्र पाठकले गरे, तर धर्तीमा कली छ.. केही छैन ! यिनीहरूको हिसाबकिताब यमराजले गर्लान् ! मैले गल्ती गरेको भए मलाई गर्लान् ! एउटा युवा देश जलिरहेछ राम्रो सबैको होस् भनेर अघि बढ्छ भने सके साथ दिनु नसके खुट्टा तान्ने काम नगर्नु । मलाई के फरक पर्छ र देशलाई हानी नौक्सानी नहोस् ! जय गुरु गोरख !!!