लुभेनवासी नेपालीले सामुहिक रूपमा मनाए नयाँ वर्ष उत्सव

लुभेनवासी नेपालीले सामुहिक रूपमा मनाए नयाँ वर्ष उत्सव


  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेन शहरमा बस्दै आएका प्रवासी नेपालीहरूले अंग्रेजी नयाँ वर्ष २०२३ लाई धुमधामका साथ स्वागत गरेका छन् ।

शनिवार लुभेनस्थित होटल मालोन तथा क्याफे डे लागारमा आयोजित नयाँ वर्ष इभ कार्यक्रममा उपस्थित नेपालीहरूले नयाँ वर्ष प्रारम्भ भएपछि एकापसमा शुभकामना आदानप्रदान गरे ।

कार्यक्रममा नेपालकी चर्चित गायिका सुनिता दुलालले आफ्ना लोकप्रिय गीतहरू सुनाएर उपस्थित नेपालीजनलाई भरपुर मनोरञ्जन गराएकी थिइन् । सुनिताले गीत गाउँदा बयोवृद्धदेखि युवाहरू समेत मन खोलेर नाचेका थिए ।

आयोजक होटल मालोन एवं क्याफे डे लागारका प्रोपराइटर लोकेन्द्र नेपालले आफूहरूले एकापसमा सामाजिक सद्भाव र शुभेच्छा आदानप्रदान गर्न प्रवासी नेपालीहरूको जमघट गरेको बताए ।

प्रोपराइटर नेपालले नेपाली-नेपालीबीच पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्ने वातावरण मिलाउन पाउँदा आफू खुसी भएको भावना व्यक्त गरे । नेपालले भने- ‘सबै नेपालीलाई समेट्न नसके पनि एउटा सामाजिक सद्भाव र भाइचाराको सन्देश दिनका लागि थोरैलाई भएपनि सहयोग गरेका हौँ ।’

अर्का प्रोपराइटर राजु गिरीले विदेशमा अन्य पर्व झैँ नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीहरू भेटघाट गर्नु, रमाइलो गर्नु र एकापसमा शुभकामना आदानप्रदान गर्नुको आनन्द नै बेग्लै हुने भएकोले आफूहरूले यसका लागि सानै भएपनि वातावरण श्रृजना गरेको बताए । गिरीले नयाँ वर्षको शुरुवातसँगै हात मिलाउँदै एकापसमा शुभकामना बाँडेको देख्दा आफू हर्षित भएको उल्लेख गरे ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले व्यवसायीको तर्फबाट सामाजिक सद्भाव र एकताका लागि यस्ता कार्यक्रमहरू अति नै उपयोगी हुने बताउँदै नेपाल र गिरीबन्धुले कार्यक्रम नि:शुल्क आयोजना गरेकोमा धन्यवाद दिए ।

गायिका सुनिता दुलालले प्रवासमा नेपाली दानवीरहरू देख्दा आफूलाई अत्यन्त खुसी लाग्ने बताउँदै प्रवासमा नयाँ वर्षमा सबै नेपालीहरू एकै ठाउँमा बसेर खानपिन गर्दा यसले बेग्लै रुपको सकारात्मक सन्देश प्रवाह गर्ने बताइन् ।

समाजसेवी राम लामाले विदेशमा नयाँ वर्षको सबैलाई शुभकामना दिँदै आगामी दिनमा सबै मिलेर बेल्जियममा नेपाली समाजलाई मजबुत बनाउनुपर्ने सल्लाह दिए भने अर्का सहभागी पूर्ण लिम्बुले सबै जना जम्मा भएर नयाँ वर्ष मनाउँदा पारिवारिक र सामाजिक वातावरण पैदा हुने र यसले सामाजिक एकताका लागि थप मद्दत पुग्ने बताए ।

लुभेनमा रहेका प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा खानपिनलाई होटल मालोन तथा क्याफे डे लागारको तर्फबाट नि:शुल्क उपलब्ध गराइएको थियो ।