नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए

नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए


युगान्डाको राजधानीमा आइतबार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि भागदौड हुँदा ९ जनाको मृत्यु भएको र अन्य धेरै जना घाइते भएका त्यहाँका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जानकारी दिएका छन् ।

घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरियो । मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीको भनाइ छ । हतार तथा लापर्वाही गर्दा उक्त घटना भएको बताइएको छ ।

कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा यो नै पहिलो थियो ।