तिम्रै समीप

तिम्रै समीप


– दुर्गाकिरण तिवारी

जिन्दगीको युद्धबाट थाकेर
शिथिल हुँदा म
चाह सकिएर
खुसी दक्षिण हुँदा मेरा
वसन्त उजाडिएर शिशिर हुँदा मन
छिया-छिया परेकी म
विक्षिप्त मन बोकेर
तिम्रै समीप आएकी थिएँ
दुई थोपा आँसु बिसाउँला भनी
कुनै स्वार्थ थिएन ममा
सायद !
तिमीले गलत अर्थ लाइदियौ र,
परै बस भन्यौ !
यो घाइते मन बोकी
तिम्रा सामु आएकी थिएँ
तिम्रै काखमा निर्धक्क
यी मूल्यहीन नुनिला आँसु खसालुँला भनी
मात्र तिम्रो काख मागेकी थिएँ
एक छिन सुस्ताउनका लागि
रुनकै लागि र,
बह बिसाउनकै लागि
अरू पटक्कै स्वार्थ छँदैथिएन ममा
सायद !
तिमीले गलत अर्थ लगाइदियौ
र पर बस भन्यौ !
म खुसी सकिएर ओइलाएकी मान्छे
झर्न ठिक्क परेको फूलजस्तै
त्यसैले थाकेर म
तिम्रै समीप आएकी थिएँ
म रित्तिएकी थिएँ केवल रित्तो
बिना चाहनाकी
बन्द भइसकेका थिए मेरा रहरहरू
न उषा देख्थेँ न क्षितिज
खाली थिए आँखामा सपनाहरू
र त अस्ताइसकेकी म
तिम्रै काखमा टाउको बिसाउन चाहन्थेँ
यी दुई थोपा आँसु बगाउन चाहन्थेँ
कुनै स्वार्थ थिएन ममा
सायद !
तिमीले गलत अर्थ लगाइदियौ
र परै बस भन्यौ !
मेरो नि:स्वार्थ भावको
परिभाषा नै बदलिदियौ तिमीले
स्वयम् शरद्को फूल म
कहरमा फुल्दै-फुल्दै सुक्दै थिएँ
कल्पनाहरू
यथार्थमा रूपान्तरित भएनन् कहिल्यै
रङ्ग हराएका कोरा भइसकेका थिए
म बगर
सेती बगरको पनि पत्थर भैसकेकी थिएँ
मात्र छाल आएर हुत्याउन बाँकी थियो
मात्र उसैसँग लीन गराउन बाँकी थियो !
त्यसैले
म विलीन हुनुअघि
तिम्रै काखमा टाउको बिसाउन चाहन्थेँ
परेली रुझाउने ताता आँसुले
तिम्रो काख भिजाउन चाहन्थेँ
सदा धुमिलिएको मन मात्र अन्तिम पटक हलुङ्गो
बनाउन चाहन्थेँ
अरू कुनै स्वार्थ थिएन ममा
सायद !
तिमीले गलत अर्थ लगाइदियौ
र त परै बस भन्यौ !!