पाठकीय दृष्टिमा ‘तुषानल’

पाठकीय दृष्टिमा ‘तुषानल’


महाभारतमा कुन्तीसहित पाण्डवलाई समाप्त पार्न कलात्मक रूपमा बनाइएको लाक्षगृहको निर्माण गर्ने योजनाकार दुर्योधनका मन्त्री पुरोचन थिए । उनले आफू बस्नलाई लाक्षगृहसँगै सुरक्षित घर बनाएका थिए । जब लाक्षगृहमा आगो लगाइयो, त्यसबाट पुरोचनको घर पनि जोगिएन । उनी जलेर भष्म भए । जो प्रयोग हुन्छ अन्तत: उसको नियति पनि पुरोचनको नै हुनेछ । तुषानलमा प्रयोग भएका विभिन्न पत्रहरूको नियति के पुरोचनको भन्दा भिन्न छ र ? बुझेर अहिले पनि प्रायश्चित र पश्चातापको रापमा छन् ती बबुराहरू ।
  • सङ्गीता दाहाल

वरिष्ठ पत्रकार तथा लेखक एवं विश्लेषक देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ नेपाली राजनीतिको अन्तर्य कृति पैरवी प्रकाशनले बजारमा ल्याएको छ । यसभन्दा अगाडि लेखकको ‘प्रलय प्रारम्भ’ र ‘महानिशा’ नामका पुस्तक प्रकाशित भइसकेको छ ।

प्रस्तुत कृति ‘तुषानल’ (जसको अर्थ हुन्छ भुसको आगो) ले नेपालको राजनीति पात्र-प्रवृति प्रत्यक्ष वा परोक्ष निमित्तनायक, दृश्य वा अदृश्यका पटकथा राजनीतिक संयन्त्रसँ सम्वद्ध-असम्वद्ध पक्ष (अन्तरिक वा वाह्य) आदि थुप्रै विषयवस्तुलाई उजागर गरेको छ । यी बाहेक पनि गर्भभित्र रहेका तपसिलका थुप्रै विषयवस्तु समेटिएका छन् । प्रजातन्त्र लोकतन्त्र अग्रमन, क्रान्तिकारी सङ्घीयता, समावेशी आदि । विविध शब्दवालीको अन्तर्य कुरा छन् । त्यसैलाई एउटा जिम्मेवार पत्रकारले आफूले भोगेको, सुनेको र देखेको तथ्यहरूलाई कृतिमार्फत सार्वजनिक गरेका छन् । ‘सतहमा जे देखिएको छ त्यो होइन, जे देखिएको छैन त्यो हो’ तुषानल को सार ।

राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’, दुर्गा सुवेदीको ‘विमान विद्रोह’का साथै ‘तुषानल’ आद्योपान्त पढेपछि बाल्यकालीन क्षणको सम्झना भयो । पहिले–पहिले पनि राजनीतिक टिप्पणी वा विश्लेषण गर्दा हुने गर्दथ्यो । अहिले गाउँघरमा त्यो चलन छ वा छैन वा लोप नै भइसक्यो थाहा छैन । सम्भवत: हिँउदको समय हुनुपर्छ, कुशले घर–घरमा पुतली नचाउन आउने गर्थे । ढुङ्ग्री, मुन्द्री, बुलाकीका साथै पोतेले झपक्क ढाकेकी पुतली छमछम नाचेको हेर्न हामी केटाकेटी घरको दलान, आँगन, पर्खाल मा बस्ने गथ्र्यौं । वक्क न पक्क परेर हेर्ने गथ्र्यौं, आँखा नझिमकाइकन । अन्तिममा पुतलीले नमस्ते गरेको दृष्यले अझ पुलकित बन्थ्यौँ । अभिभावकले धान, चामल र पैसा दिएर कुशलेलाई सम्मान साथ बिदा गर्नुहुन्थ्यो । हामी केटाकेटी भएभरका टालाटुली बटुलेर त्यस्तै पुतली बनाउने प्रयास गथ्र्यौंै । सियोमा कालो धागो उनेर पुतलीको आँखा र कपाल बनाउँथ्यौँ । जति गरे पनि कुशलेको जस्तो पुतली बन्दै बन्दैन थियो । त्यस्तै पुतली चाहियो वा बनाइदिनु भनेर आमासँग घुर्काए वा के गरे त्यो थाहा छैन । त्यो पुतली आफै नाचेको होइन, कुशलेको हातको पन्जाले न नचाएको हो भनेर आमाले रहस्य खोलिदिनुभएको थियो ।

त्यसबेला आमाले दिएको ज्ञानले सतहमा देखिएका सबै कुरा सत्य नहुन पनि सक्छ, त्यसको भित्री पाटो बुझ्नलाई त्यसको अन्तर्य थाहा पाउनैपर्छ भन्ने लाग्छ । यसै लय र मेसोमा त्रिपाठीको कृतिलाई बुझेँ । त्यो भन्दा बढी थप टिप्पणी गर्नुपर्छ जस्तो लागेन । सूचना पत्रकारसँग नै हुन्छ । त्यसलाई के–कति काँटछाँट गरेर सर्वसाधारण मा पुर्‍याउने भन्ने हिसाबकिताब पत्रकारले नै गरेको हुन्छ किनकि सूचना प्रवाहको कारणले कतिपय पत्रकारको जीवन जोखिममा परेको थुप्रै उदाहरण छन् । विचार तथा लेखनको सम्मान गरिनुपर्छ । सैद्धान्तिक रूपमा भन्ने गरेको भए पनि व्यवहारमा त्यस्तो पाइँदैन ।

२०४८ सालदेखिका राजनीति गतिविधि जुन रूपमा सर्वसाधारणले हेर्ने र बुझ्ने गरेका छन् । त्यो केटाकेटीमा हामीले हेरेको पुतलीनाचको बिम्बभन्दा फरक छैन भन्ने सन्देश तुषानलले प्रवाह गरेको छ । लेखक स्वयंले ‘राजनीतिको सतहभन्दा भित्रपट्टि हुने घटना नै राजनीतिको वास्तविक रूप हुँदोरहेछ भन्ने ज्ञान विभिन्न अस्वाभाविक घटनाको साक्षी रहेर मैले प्राप्त गरेको छु’ भन्ने अभिव्यक्तिले त्यसैलाई इङ्गित गर्दछ । त्यसैले तुषानल चश्मदित गवाहले जनसमक्ष ल्याएको बकपत्र हो ।

नेपालले युद्ध ब्यहोरेको थियो, बाह्य देशसँग । नेपाल भोट युद्ध, नेपाल अङ्ग्रेज युद्ध तर स्वाधीनताको लडाइँ लड्नु परेको थिएन । त्यसैले माटो र आफ्नो धर्तीको महत्व बुझेनौँ । त्यसले पनि यो हदसम्म्मको सत्ता, व्यक्ति र गुटकेन्द्रित राजनीति भएको हो कि भन्ने लाग्छ । सुधार आउनको लागि यो या त्यो मानसिकतामा रहेका जनता मात्र सचेत भएर पुग्दैन । राजनीतिक दलका विशेषत: भातृसङ्गठनका युवा पङ्क्तिहरू सजग हुनुपर्ने हो, भोलिको लागि आफ्नै धर्ती सुरक्षित राख्नको लागि । जिन्दावाद र मुर्दावादको नारा लगाउनुभन्दा पहिले, तर कार्यकर्तामा आस र त्रास हुन्छ । भनिएको, अह्राएको काम गर्नमै अभ्यस्त भइसकेका हुन्छन् । त्यसैले जबसम्म यान्त्रिक मानवभन्दा माथि कार्यकर्ता उठ्दैनन् तबसम्म तुषानलले खोलेको अवस्थामा परिवर्तन आउँदैन । बाँकी सबै नियति र नियन्ताको हातमा हुनेछ । महाभारतमा कुन्तीसहित पाण्डवलाई समाप्त पार्न कलात्मक रूपमा बनाइएको लाक्षगृहको निर्माण गर्ने योजनाकार दुर्योधनका मन्त्री पुरोचन थिए । उनले आफू बस्नलाई लाक्षगृहसँगै सुरक्षित घर बनाएका थिए । जब लाक्षगृहमा आगो लगाइयो, त्यसबाट पुरोचनको घर पनि जोगिएन । उनी जलेर भष्म भए । जो प्रयोग हुन्छ अन्तत: उसको नियति पनि पुरोचनको नै हुनेछ । तुषानलमा प्रयोग भएका विभिन्न पत्रहरूको नियति के पुरोचनको भन्दा भिन्न छ र ? बुझेर अहिले पनि प्रायश्चित र पश्चातापको रापमा छन् ती बबुराहरू ।

जहाँ राजनीतिक शक्ति र सत्ता हुन्छ, त्यहाँ मन्थरा र शकुनी पनि हुन्छन्, यो क्रमश: रामायण र महाभारतले दिएको सन्देश हो । अझ भनौ जहाँ तेस्रो पक्षको अन्तरिक मामलामा अहम् भूमिका हुन्छ, त्यो देश सङ्कटमा पर्छ । रामायणका पात्र भरतले मन्थरालाई परख गर्न सके, रामको वैधानिक अधिकारको सम्मान गरे, अयोध्या बच्यो । महाभारतमा त्यो भएन, सकुनीको नियतलाई धृतराष्ट्र, दुर्योधन र उनका पक्षधरले बुझेनन् । अन्तत: युद्ध भयो । धृतराष्ट्रका सय भाइ बचेनन् । अभिमन्युलगायत पाण्डव पुत्र पनि रहेनन् । अन्तत: वनप्रस्थानमा रहेका धृतराष्ट्र, गान्धारी र कुन्तीसमेत वनको डढेलोमा परेर नस्ट भए । महाभारतमा अन्तरिक कलह र निषेधको राजनीति थियो, त्यसैले विनाशको बाटोतिर हस्तिनापुर गयो । रामायणमा अन्तरिक समझदारी कायम भयो, अयोध्या बच्यो ।

नेपालकै इतिहासमा पनि राजा राजेन्द्रको कान्छी माहारानी राज्यलक्ष्मीले जेठी माहारानी साम्राज्यलक्ष्मीका छोरा युवराज सुरेन्द्रको वैधानिकतालाई स्वीकार्न चाहिनन् । आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउन चाहिन्, जसले गर्दा कोतपर्व, भण्डारखाल, अलौपर्व जस्ता घटना घटित भए । राणासाशनको अभ्युदय भयो । राजा राजेन्द्रले ३४ वर्ष कैदजीवनपछि अन्तिम सास फेरे । गलत कार्यको परिणाम सुखद हँुदैन । एकाधिकार र निषेधको मानसिक प्रवृत्ति (राजनीतिक) प्रशस्त मात्रामा तुषानलमा पाइन्छ । कृष्णप्रसाद भट्टराईको पराजय, एमाले विभाजन आदि । अनित औरस पुत्र पाखा लाग्दै जान्छन्, दत्तकपुत्र प्राथमिकतामा पर्छन् ।

सबै राजनीतिक निर्णयको औचित्यको पुष्टि पनि हुँदैन । औचित्यता कायम होस् भन्न नियन्त्रण र सन्तुलन राजनीतिक दलभित्र पनि हुनुपर्छ । त्यो भएको पाइँदैन । एकल निर्णयले घात ब्यहोरेको छ । प्रतिवाद, बहस, पैरवीको हिम्मत कार्यकर्तामा हुँदैन । टिम्बुरबोटे काण्डमा नेपाली काङ्ग्रेसका कति उम्दा, अब्बल र भविष्यमा थुप्रै सम्भावना बोकेका राम लक्षमण लगायत थुप्रै युवाको ज्यान गयो । सप्तरीमा जन्मेर, हुर्केर मोरङमा पढ्दै गरेका भर्खरका ती युवालाई सोलुखुम्बु, ओखलढुङ्गाको उकाली, ओराली भीरपाखा, लेकबेसी, देउरालीको ज्ञानसमेत थिएन । युवाजोशमा क्रान्तिको भ्रममा परे । उनीहरू जस्तै थुप्रैको जगमा खडा भएको काङ्ग्रेसले कहीँकतै अहिले उनीहरूको सम्झना गरेको पाइँदैन । त्यसैले तुषानल जस्ता कृतिले युवाचेत ब्युँझाउन केही मात्रामा सक्यो भने राजनीतिक सुद्दीकरणमा निकै मद्धत पुग्ने थियो । कतिपय राजनीतिक निर्णय व्यवहारिक पनि हुँदैनन् । विद्यार्थी हुँदाको कुरा सम्झन्छु, नेपाल ल क्याम्पसमा पढदाको अखिल पाँचौंको केन्द्रीय सदस्य नेपाल ल क्याम्पसमा पढने दिदी र पुल्चोक क्याम्पसमा पढ्ने अखिल पाँचांैको महासचिवको बीचमा प्रेम हुन्छ । विवाह गर्न पार्टीको स्वीकृतिको चाहिन्थ्यो । उनीहरूले पार्टीमा आफ्नो कुरा राखे, पार्टीले सर्तसहित स्वीकृति दियो । ल क्याम्पसमा पढ्दै गरेकी दिदीकी आमा मन्त्री भएकाले दशैँमा टीको लगाउन जान नपाउने शर्त दलले तोक्यो । त्यसबेला खासखुस रूपमा सुनेको थिए ।

त्यसबेलाको दलको अनुदार र अव्यवहारिक त्यो निर्देशन उनीहरूले पालना वा अवज्ञा के गरे ? थाहा छैन, माइत र ससुराल दशैँमा जान निषेधित त्यो जोडीको अवस्था अहिले के–कस्तो छ, अज्ञात छु । देशको सवालमा यस्तै अव्यावहारिक र असङ्गत निर्णय भए के हुन्छ ? आफ्नो समीक्षा पनि राजनीतिक सङ्गठनले गर्नुपर्छ । तुषानलले राजनीतिक शक्तिलाई आत्मसमीक्षा गर्न पनि उत्प्रेरणा दिएको छ ।

दलभित्रको अन्तरिक प्रतिष्पर्धा, घात-प्रतिघातको कुरा तुषानलमा आएको छ, त्यसले कुनै बेलाको झलनाथ खनालको नियतिलाई सम्झना गराएको छ । २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेले तेस्रो दलको हैसियत प्राप्त गरेको थियो । निर्वाचनपछि प्रचण्ड, माधव नेपाल क्रमश: प्रधानमन्त्री भए । नेपालले राजीनामा दिएपछि झलनाथ खनाललाई एमालेले प्रधानमन्त्रीको उम्मेदवार बनायो, शर्तसहित उनले दुई तिहाइको समर्थन पाउनुपर्छ भनेर, तेस्रो दलको त्यो शर्त अनौठो लाग्यो । त्यसैले ‘दन्त्यकथाको नियतिमा राजनीतिक पात्र’ भन्ने लेख लेखेको थिएँ । खनाल स्वयम्ले त्यो पढ्न पाए वा पाएनन् थाहा भएन । तुषानल पढ्दा लाग्यो त्यो त सामान्य घटना रहेछ । आम सर्वसाधारणले अनुमानसमेत गर्न नसक्ने, त्यस्ता भित्री रहस्य र पाटा थुप्रै छन् भनेर । तारानाथ रानाभाटलाई प्रधानमन्त्री बन्न कसरी रोकियो भन्ने कुराका साथै खुमबहादुर खड्काप्रतिको सामाजिक बुझाइभन्दा उनको यथार्थ भिन्न छ । नेपथ्यमा रहेका अमरेश सिंहको भूमिका लगायत थुप्रै पाटालाई तुषानलले खोलेको छ । त्यसैले राजनीतिक इतिहासको सोध, अनुसन्धान र अध्ययनमा लागेकाहरूको लागि गतिलो सन्दर्भ सामग्री हुन सक्छ ।

कृष्णप्रसाद भट्टराईको पराजय, एमाले विभाजन, सुरक्षा संयन्त्र, गणतन्त्र, बाह्रबुँदे, सम्झौता, संविधानसभा आदि विविध विषयमा आमरूपमा सतहमा देखिएका भन्दा भिन्न कुरा ‘तुषानल’मा छन् । हर तप्का र क्षेत्रका पक्षहरूले पढ्नुपर्ने खालको कृति छ । त्यसमा पनि युवाको लागि अझ पठनीय र सङ्ग्रहणीय छ किनकि अब देशको भविष्य युवाको हातमा छ । भौगोलिक दृष्टिले सानो, आर्थिक रूपले कमजोर तर रणनीतिका दृष्टिले महत्वपूर्ण भूमिका रहेको नेपालका युवाले नै सकुनी, मन्थरा आदि लाई चिनेर आफ्नै वाद र दर्शन विकास गर्नको लागि राजनीतिक शक्तिमा रहेकाहरूलाई दबाब दिन सक्छन् । जनता त अमुर्त कुरा हो, उ असङ्गठित छ । थाहा पाएर, बुझेर पनि केही गर्न सक्ने अवस्था हुँदैन/छैन उसको ।