आज तोल ल्होसार पर्व

आज तोल ल्होसार पर्व


प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका समुदायले विभिन्न कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउँदैछन् ।

तोल ल्होसार सबैभन्दा पुरानो ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ र पश्चिम तिब्बतको मानसरोवर क्षेत्रका केही र भूटानका केही मानिसले आजको दिनमा धुमधामका साथ यो चाड मनाउने गर्दछन् ।

संस्कृतिविद् डा. जगमान गुरुङ पौष शुक्ल प्रतिपदामा मनाइने तोल ल्होसार थोरै मानिसले मनाउने भए पनि यो पुरानो भएको बताउनुहुन्छ । वर्षमा अरू चारवटा ल्होसार मनाउने गरिएको उहाँ बताउनुहुन्छ । प्रत्येक वर्ष पुस १५ गुरुङले तमु ल्होछार, माघ शुक्ल प्रतिपदामा तामाङ समुदायले सोनाम ल्होसार र फागुन शुक्ल प्रतिपदामा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउने गर्छन् ।

यसैगरी फागुन शुक्ल पूर्णिमाका दिन थकाली समुदायले तोरन्ल ल्होसार मनाउने गरेका छन् । यो चाडमा घरआँगन लिपपोत गरी चोखो पारिन्छ । मानिस बिहानै उठेर पनि नुहाएर पूजाआराधना गर्छन् । अनि लामा पुरोहितबाट वा घरको मूलीबाट पूजापाठ गराई गहुँको पीठो आकासतर्फ उडाएर देवताको विजय र भूतप्रेतको हार होस् भनी कामना गरिन्छ । मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमूल आदि खाने पनि गरिन्छ ।

ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ मिलेर ल्होसार शब्द बनेको छ । यसैले यसको सार नयाँ वर्ष मनाउनु हो भन्ने लाग्छ । हिमाली क्षेत्रमा यो पर्व भव्यरूपमा मनाउने गरिन्छ । सबैभन्दा पुरानो ल्होसार सुरु भएकै दिन अर्थात् पौष शुक्ल प्रतिपदाका दिन नयाँ वैदिक संवत्सर पनि फेरिन्छ ।