तिम्रो र इच्छा

तिम्रो र इच्छा


– राजेन्द्र पाठक

तिमीलाई हिउँ खेल्ने इच्छा छ !
मलाई हिउँ झेल्ने बाध्यता छ !!
यता शरीर चुस्तदुरुस्त पार्नु छ !
त्यता दाना नपाएर छाक बार्नु छ !!

तिम्रो फेसनमा फाटेको लुगा छ !
मेरो बाध्यता हजार टालो हाल्नु छ !!
तिमी लहडमा फास्टिङ गर्दैछौ !
म कहरले भोकभोकै रात काट्छु !!

तिमी सप्ताहान्त मनाउन कटेज धाउँछौ !
कति बाध्यतामा हमेसा त्यसमै हुन्छन् !!
तिमी सात पुस्ताका लागि कमाउँछौ !
म त हरेक छाक-छाकमा रमाउँछु साथी !!

हामीले हरेकका लागि प्रजातन्त्र ल्यायौँ !
तिमी आफ्ना लागि मन्त्री भयौ साथी !!
हामीले देशका लागि कर तिर्‍यौँ महाशय !
तिमीले धनी बन्न देशको ढुकुटी रित्यायौ !!

तिमी हैसियत देखाउन विदेश धाउँछौ !
तिम्रो देश विदेशको विकास हेरेर रुँदैछ !!
जनताको अस्पतालमा तिम्रा कार्यकर्ता !
तिम्रो उपचार कहिले जापान कहिले जाकार्ता

तिमी नाम कमाउन हिमाल चढौला !
यता सामल टार्न म तिम्रो भारी बोक्छु !!
मलाई नामभन्दा ज्यान जोगाउनु छ !
तिमीलाई आफ्नो नाम मात्र भजाउनु छ !!

तिमीलाई धाक देखाउन कजाउनु छ !
यता मलाई बाँच्नका लागि कजिनु छ !!
तिमीलाई रमाउन ख्याल–ख्याल मात्र छ !
मेरो देशमा सुशासनको अनिकाल छ !!