गल्ती प्रमाणित भए पद जाने !

गल्ती प्रमाणित भए पद जाने !


रविको पक्षले आफू शुद्ध भएको पुष्टि गर्नतिर नलागी सुजाता कोइराला र मीनेन्द्र रिजाललगायतको नागरिकतामाथि छानवीन गर्न माग गरेको छ । सुजाता, मीनेन्द्र आदिको नागरिकता फर्जी भए उनीहरूमाथि समेत कारवाही हुनेमा शङ्का गरिँदैन, तर उनीहरूले गल्ती गरे, त्यसैले मेरो गैह्रकानूनी हरकतलाई पनि ‘सही’ करार गरिनुपर्छ भन्ने शैलीको प्रचारबाजी गरेका छन् ।


पूर्व सञ्चारकर्मी एवम् स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामछानेमाथि राज्यलाई छलेको आरोपमा छानवीन शुरु भएको छ । लामिछानेले अमेरिकी नागरिकता ग्रहण गर्ने क्रममा त्यागिसकेको नेपाली नागरिकताको प्रतिलिपि प्रयोग गरी काम पट्याउने गरेको भन्ने उजुरी परेपछि उनीमाथि छानवीन शुरु भएको हो ।

हालै सम्पन्न संसदीय निर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेविरुद्ध उनको उम्मेदवारी खारेज गर्ने मागसहित उजुरी परेको थियो, तर आयोगले तत्काल छानवीन गरी यथार्थ बुझेर निष्पक्ष निर्णय लिनेभन्दा पनि त्यसलाई पन्छाएर जाने प्रयास गर्‍यो । नागरिकतासम्बन्धी विषय गृहले हेर्ने भएकोले परेको उजुरीका आधारमा छानवीन गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला प्रहरी परिसरलाई जिम्मेवारी दिएको छ ।

रविबाट कानून उल्लङ्घन नभएको भए उनले सफाइ मात्र पाउने छैनन्, जीवनमा लागेको एउटा गम्भीर दाग सदाका निम्ति पखालिने छ । नेपालको नागरिकता त्यागेर मात्र अर्को मुलुकको नागरिकता प्राप्त गर्न सकिने हुँदा उनले अमेरिकाको नागरिकता प्राप्त गर्ने क्रममा नेपाली नागरिकता त्यागेको स्वत: स्पष्ट हुन्छ । अहिलेको छानवीन रविले अमेरिकी नागरिकता कानूनसम्मत ढङ्गले त्याग गरेको या नगरेको र, त्यसपछि कानूनी प्रक्रिया पुर्‍याएर नेपालको नागरिकता लिए/नलिएको भन्ने प्रश्नमा केन्द्रीत हुनेछ । त्यसैगरी उनले कुन हैसियतमा नेपालको राहदानी प्राप्त गरेका हुन्, त्यस सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यदि यस प्रकरणमा रवि कसुदरदार ठहरिए भने उनलाई कम्तिमा एक लाख रुपैयाँ जरिवाना या पाँच वर्ष कैद या दुवै सजाय हुने कानूनी व्यवस्था छ । यीमध्ये कुनै पनि सजाय भएमा रविको सांसद पद भने खारेज हुनेछ र, चितवन-२ मा उपनिर्वाचन गराउनुपर्ने हुन्छ ।

गल्ती नगर्ने मानिसका निम्ति यसप्रकारको छानवीन आफूलाई सही प्रमाणित गर्ने अवसर बन्ने गर्दछ र, रवि निर्दोष छन् भने उनका लागि यो सुवर्ण अवसर हो । तर रविका तर्फबाट आएका अभिव्यक्ति र स्यालहुइयाँले उनमाथि सन्देह बढाएको छ । आफू शुद्ध भएको पुष्टि गर्नतिर नलागी सुजाता कोइराला र मीनेन्द्र रिजाललगायतको नागरिकतामाथि छानवीन गर्न उनको पक्षले माग गरेको छ । सुजाता, मीनेन्द्र आदिको नागरिकता फर्जी भए उनीहरूमाथि समेत कारवाही हुनेमा शङ्का गरिँदैन, तर उनीहरूले गल्ती गरे, त्यसैले मेरो गैह्रकानूनी हरकतलाई पनि ‘सही’ करार गरिनुपर्छ भन्ने शैलीको प्रचारबाजी गरेका छन् । यसले थप सन्देहको स्थिति पैदा गरेको छ ।