बेल्जियममा तमु समाजद्वारा प्राध्यापक गुरुङको सम्झना

बेल्जियममा तमु समाजद्वारा प्राध्यापक गुरुङको सम्झना


  • सनत आचार्य, बेल्जियम

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव एवम् मानवशास्त्री प्राध्यापक डा. ओम गुरुङको ४९औँ पुण्य तिथिको अवसरमा तमु समाज बेल्जियमले शोकसभा आयोजना गरेको छ ।

तमु समाज बेल्जियमका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष होम तमुले डा. गुरुङको कार्यकालको स्मरण गरे र महासंघलाई उहाँबाट भएको योगदानको उच्च सम्मान गर्नुभयो ।

उपाध्यक्ष तमुले स्वर्र्गीय गुरुङ ब्यक्तिगत प्रतिफल नखोज्ने प्रकृतिका व्यक्ति भएको स्मरण गर्दै मानव विकासका क्षेत्रमा उहाँले गरेको अध्ययन, अध्यापन र खोज सबैका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

तामाङ्ग समाज बेल्जियमका अध्यक्ष राम लामाले मानव चेतनाको पाठ सिकाउनुहुने डा. गुरुङ्ग शिक्षाविद्, विशेषज्ञ र अनुसन्धानकर्तालगायत बहुप्रतिभाका धनी भएको तर्क प्रस्तुत गर्नुभयो । आदिवासी जनजातीहरूको हक–अधिकार स्थापनाका लागि स्वर्गिय गुरुङको योगदान अतुलनीन र अविस्मरणीय रहेको उहाँको भनाइ थियो ।

यस्तै, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरले प्राध्यापक गुरुङ आफ्ना गुरु भएको र आजसम्म पनि वहाँले देखाउनुभएको बाटोमा आफू हिँडिरहेको जिकिर गर्दै स्वर्गिय गुरुङ लोभलालचामा नफसी कसैसँग सम्झौता नगर्ने, शिक्षाको प्रेरणा, सिद्धान्तको पक्षधर र स्वार्थभन्दा माथि उठेर समाज र देशलाई उच्चतम बिन्दुमा पुर्‍याउने सोचमा अडिग रहेको विचार व्यक्त गर्नुभयो । रानाले डाक्टर गुरुङको मृत्युले जनजातिहरूले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभयो ।

कास्की समाजका अध्यक्ष जीवन तमुले डाक्टर गुरुङले आफ्नो जिन्दगी आदिवासी उत्थानको लागि अर्पण गर्नुभएकोले उहाँ ब्यक्ति मात्र नभइ सिंगो एक दस्तावेज नै भएको तर्क गर्नुभयो ।

आमा समाजकी अध्यक्ष श्रीमती बबिता गुरुङले डाक्टर गुरुङको मृत्युले सिङ्गो देशलाई नै घाटा परेको बताउनुभयो भने पर्वत समाज बेल्जियमकी अध्यक्ष श्रीमती नन्दकुमारी तमुस्योले डा. गुरुङ पढाउने/सिकाउने गुरु मात्रै नभइ लोक संस्कृतिको पारखी हुनुहन्थ्यो भन्नुभयो ।

कार्यक्रममा सिक्लेस पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष ओमप्रसाद तमु, महासचिव सूर्यबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो भने स्वर्गिय गुरुङको संक्षिप्त जीवनी महासंघका सल्लाहकार नन्दराज घलेले प्रस्तुत गर्नुभएको थियो ।