साइकलमा महिला

साइकलमा महिला


  • सुनिल उलक

सन् १८१८ मा साइकलको पहिलो स्वरुप आए पनि पूर्णरूपको सुरक्षित साइकल बन्न भने करिव ७२ वर्ष लाग्यो । सुरक्षित साइकल नहुँदासम्म महिलाहरूले साइकल चलाउन नै खोजेनन् । सन् १८९० को दशकमा बल्ल महिलाहरूले पनि साइकल चलाउन थालेका थिए । यसरी यूरोप र अमेरिकी सडकमा महिलाहरूले साइकल कुदाउने आमरूपमा देखिन थाल्यो । तर, महिलाले पनि साइकलमा पृथ्वीलाई नै एक चक्कर लगाउने कार्य भने सन् १८९४ मा भयो ।

अमेरिका बसोबास गर्ने एनी लंडनडेरी नाम गरेकी एक ल्याटिभियन महिलाले ख्यालठट्टामा नै बाजीको लोभमा साइकलमा विश्व भ्रमण गरेकी थिइन् । सन् १८९४ को जुन २७ अर्थात् वि.सं. १९५१ असार १४ गते दिनको ११ बजे बोस्टनको बेकन हिलबाट साइकलमा विश्वयात्रामा निस्केकी उनलाई सिकागोमा स्टर्लिङ साइकल वक्र्सले नयाँ साइकल दिँदै उनको यात्राको खर्चको जिम्मेवारी लिएको थियो । सिकागोबाट भने उनको यात्रा निश्चित रूपमा कसैको लागि भएको थियो । न्यूयोर्कबाट पेरिस तथा योकोहामाबाट सानफ्रान्सिस्कोसम्म भने पानीजहाजमा यात्रा गरेकी थिइन् । अन्तत: उनले तय गरिएको मिति एक वर्ष भन्दा १४ दिनअगाडि सिकागो पुगेर १० हजार डलर पुरस्कार प्राप्त गरिन् ।

यसरी एक ल्याटिभियन अमेरिकी महिलाले साइकलमा विश्व भ्रमण गरिसक्दा पनि भारत तथा नेपालमा भने साइकल नै देखेका थिएनन् । सन् १९१० मा भारतमा साइकलको प्रवेशपछि नेपालमा पनि साइकलको आगमन भयो । तर यो केवल धनाड्य र राणा शासकहरूबीच सीमित थियो । यस्तैमा प्रथम विश्वयुद्धले संसारलाई नै आघात पुर्‍याइरहँदा अन्य विकास निर्माण तथा आविष्कारका कुरा सबै हराए । सबैलाई युद्धबाट कसरी जोगिने भन्नेमा नै तल्लिन हुन थाले ।

प्रथम विश्वयुद्धको समयमा भएका नयाँ आविष्कारहरू युद्धसँग सम्बन्धित थिए । हतियार, गोला, बारुद तथा युद्धक विमानको साथ सम्झनलायक केही अन्य आविष्कार पनि भएका थिए । ब्लडबैंक र रक्त संकलनका कुरा त्यही बेला शुरु भएको हो । घाइतेको रगत बग्ने क्रिया रोक्न बनाइएको प्याडबाट नै अहिलेको महिलाहरूको लागि महत्वपूर्ण स्यानिटरी प्याडको आविष्कार भएको थियो । क्रोमियम भन्ने धातुलाई पगालिएको फलाममा मिसाएर बलियो धातु स्टीलको आविष्कार पनि भएको थियो । सैनिकहरूको पोशाकमा सुरक्षित साथ उनिहरूको पैसा राख्न सहज बनाउन जिप (चेन)को आविष्कार भएको थियो । साथै हातमा लगाउन मिल्ने हाते घडीको आविष्कार पनि भएको थियो ।

युद्धको समाप्तिपछि नेपालको आर्थिक रूपले भने केही सबल भएको थियो । युद्धले बिसौँ हजार नेपालीको मृत्यु भएको थियो, जसमा कतिपय नेपाली अज्ञात थिए । जसका परिवारको कुनै नाम ठेगाना नै भेटिएन । अङ्ग्रेज सरकारले ती अज्ञात नेपालीहरूको मृत्युबापत प्राप्त हुने रकमलाई वार्षिक दश लाख रुपैयाँ नेपाललाई सहयोग गर्ने बाचा गर्‍यो । जुन रकमले चन्द्रशम्शेरले त्रिचन्द्र अस्पताल (सैनिक अस्पताल), रोपवे तथा रेलवे जस्ता विकासका कामहरू गरेका थिए । युद्धको समाप्तिपछि फर्केका नेपाली जवानहरूले करिव १५ करोड नेपाली रुपैयाँबराबरको कम्पनी भारु भित्र्याए । जसले गर्दा आम नेपालीमा पनि आर्थिक कारोबारको शुरुवात भयो । साधारण नेपालीले पनि आफ्ना आवश्यकताका सामग्री किन्न सक्ने हैसियत बनाए । साइकल पनि राणा परिवार र उच्च सभ्रान्त परिवारबाट आम नेपालीसम्म पुग्यो ।

यसरी आम नेपालीले पनि साइकल चढ्न थालेको देखेपछि वि.सं. १९८१ तिर काठमाडौं कमलाक्षीका ब्यापारी अष्टनारायणले साइकलको पसल नै खोले । नेपालमा पहिलो महिला साइकलचालकको रूपमा यिनै अष्टनारायणकी छोरी सरोजिनी मानन्धरको नाम आउँछ । खुला विचारधारा भएको परिवारमा वि.सं. १९९४ मा जन्मेकी सरोजिनीलाई उनका बाबु अष्टनारायणले नेपालमा नै पहिलो पटक वि.सं. २००२ सालमा खुलेको छात्र तथा छात्रा एकसाथ पढ्ने शान्ति निकुञ्ज स्कूलमा भर्ना गरिदिएका थिए । जुन स्कूल स्थापना गर्न अष्टनारायणले पनि सहयोग गरेका थिए । छोरा र छोरीमा भेदभाव नराख्ने अष्टनारायणले छोरीलाई पनि छोरासरह नै स्कूल पठाएका थिए । यसरी पढाइमा परिवारका साथ पाएकी सरोजिनीले साइकल चलाउन पनि छुट पाइन् । देशमा प्रजातन्त्रप्राप्तिको समय उनले सडकमा साइकल कुदाउन थालिसकेकी थिइन् । सामाजिक कार्यमा लागेका सरोजिनी काङ्ग्रेसी नेता गणेशमानसिंहका पत्नी मंगलादेवी सिंहद्वारा स्थापित नेपाल महिला संघको सक्रिय कार्यकर्ता पनि थिइन् । १६ सालतिर डिल्लीबजारको कन्या स्कूल (हालको पद्मकन्या)मा पढाउन थाल्दा पनि उनी साइकल चढेर नै कलेज पढाउन पुग्थिन् । विवाहपछि पनि उनको साइकल यात्रा रोकिएन ।

हुन त सरोजिनीको नाम पहिलो महिला साइकल चालकको रूपमा आउने गरिए पनि राम्ररी इतिहासलाई केलाएर हेर्ने हो भने युवराज्ञी इन्द्र राज्यलक्ष्मीका तथा बडामहारानी रत्नका बहिनी किशोरी राज्यलक्ष्मीले बागदरबारभित्र तथा सेरोफेरोमा वि.सं. १९९९ तिर नै साइकल दौडाउन थालिसकेका थिए । जुद्धशम्शेरका नातिनी तथा हरिशम्शेरकी छोरी किशोरी राज्यलक्ष्मीको प्रसङ्ग केही कम नै उल्लेख हुने गर्दछ । वि.सं. १९८७ मा जन्मिएका किशोरी राज्यलक्ष्मीले केवल १२ वर्षको उमेरमा नै बागदरबारको कम्पाउण्डभित्र साइकल कुदाउन थालिसकेकी थिइन् । वि.सं. २००७ सालमा मोहनविक्रम शाहसँग विवाह हुनुअगाडिसम्म उनले साइकल चलाएर काठमाडौंका मुख्य ठाउँहरू पुग्ने गरेकी थिइन् । उनकै नातिनी सुप्रिया शाहको चर्चा केही समयअगाडि निकै चल्ने गरेको थियो । युवराज दिपेन्द्रको प्रेमिकाको सूचीमा सबैभन्दा पहिलो नाम नै सुप्रिया शाहको थियो । दुवैका हजुरआमाहरू राजी भए पनि यो विवाह हुन सकेन । कुमारी नै बसिरहेकी सुप्रियाले केही समयअघि मात्र ५० वर्षको उमेरमा विवाह गरेकी छन् ।

वि.सं. २०३० सम्म आइपुग्दा साइकल चलाउने महिलाहरूको संख्या मनग्गे बढिसकेको थियो । तर पनि साइकल महिलाहरूको दैनिकी भने बन्न सकेको थिएन । विवाहपछि नयाँ घरमा सासुससुराबाट साइकल चलाउन बन्देज लगाउने तथा साइकलमा बजार जाँदासमेत छरछिमेकीहरूले गलत नियतले हेर्ने समस्या ३० को दशकसम्म साइकल चलाउने हरेक महिलाले झेलेको समस्या थियो । ३० कै दशकतिरबाट भने तराईतिर महिलाले साइकललाई दैनिकी कामकाजको लागि पनि उपयोग गर्न थालिसकेका थिए । बजारमा दुधदही बिक्री गर्न तथा नजिकै वनमा घाँसदाउरा बटुल्न पनि साइकलको उपयोग हुन थाल्यो । जसले गर्दा विवाह गर्दा दाइजोको रुपमा साइकल दिने शुरुवात पनि भयो । पहाडी भूभागमा साइकल चलाउन केही कठिनाइ हुने हुँदा महिलाहरू अति आवश्यक समय साइकल कुदाउँथे तर तराइको समथरमा भने दैनिकी नै बनेको थियो । बिहानै दुधदही बिक्रीको लागि होस् वा कार्यालय समयमा विद्यालय जान तथा कार्यालय जान होस्– साइकलको उपयोग महिलाबाट पनि हुन थाल्यो ।

यसरी नै साइकलको उपयोगबाट साहसी कार्य गर्न एक बालिकामा डेढ वर्षअगाडि १३ वर्षकी ज्योतिकुमारीको चर्चा विश्वभर फैलिएको थियो । कोरोनाको कारण विश्वको अधिकांश भाग ठप्प हुँदा भारतमा पनि पूर्णरूपमा यातायात तथा दैनिक जीवन बन्द भएको थियो । घरभित्र थुनिन बाध्य त्यस दु:खद समयमा उपचार नपाएका घाइते बाबुलाई भारतीय राजधानी दिल्लीनजिकै गुरुग्रामबाट १२०० किमी लामो यात्रा ८ दिन लगाएर साइकलमा आफ्नो गाउँ दरभंगासम्म लिएर आएकी थिइन् । यो यस्तो विवश नारीको अदम्य साहसको कथा हो, जसले गुरुग्राममा बसेर न उनले बाबुको आवश्यक उपचार गर्न सक्थिन् न त दैनिक भोजनको ब्यवस्था नै गर्न सक्थिन् । समाजमा फैलाइएको अनावश्यक त्रासले एकअर्कोमा सहयोगको भावना पनि त्यस समय मरिसकेको थियो । सबैमा केवल आफू कसरी बाँच्न सकिन्छ भन्ने एउटै ध्याउनामा आफ्नो परिवारभन्दा बाहिरका लागि घरको ढोका नै बन्द गरिएको थियो । यो जायज थियो या थिएन भविष्यमा यसको निक्र्योल होला तर अहिले यस विषयमा विरोध जनाउनेहरूलाई गलत सावित गर्नेहरूको नै बाहुल्य छ ।

खैर ! उनले साहसका साथ बाबुलाई गाउँ लिएर जाने अठोट गरिन् । कोरोना राहतबापत बाबुको नाममा प्राप्त एक हजार रुपैयाँबाट साइकल किन्ने सोचिन् । बल्लबल्ल भेटिएको साइकलको मुल्य पनि रु १२०० थियो । तर उनले साइकल बिक्री गर्नेँंग अनुनय विनय गरेर रु ७०० पछि दिने गरी मनाइन् । बाँकी रु ५०० बाटोमा घर पुग्ने खर्चको रूपमा राखिन् । अन्तत: मोटाघाटा बाबुलाई पछाडि राखेर १३ वर्षकी दुब्लीपातली बालिकाले साइकल कुडाउन थालिन् । उनको यो साहसी यात्राको चर्चा भारत मात्र होइन विश्वभर फैलिएको थियो । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा समेत चर्चा हुन पुगेको यो माया र प्रेमको यात्राको कथाको प्रशंसा तत्कालिन राष्ट्रपति ट्रम्पकी छोरीले समेत ट्वीटमा गरेकी थिइन् । एक गरिव महिलाको विवशताले चालिएको साहसी कदम थियो । यो बाबुप्रति छोरीको सच्चा माया थियो । धनीहरूको माझ उनलाई एक मुट्ठी चामल पाउने आशासमेत नरहेपछि बाध्य भएर गाउँसम्मको लामो यात्रामा निस्केकी थिइन् । यदि गुरुग्राममा नै बसेकी भए भोकले बाबु गुमाउने थिइन् भने आफ्नो जीवनको पनि कुनै ग्यारेन्टी हुँदैनथ्यो ।

प्रस्तुत तस्बिरमा नेपालकी पहिलो महिला साइकल चालक किशोरी राणाको साथ अर्को तस्बिरमा रहेकी महिला देवकुमारी सर्लाहीकी सामाजिक कार्यकर्ता हुन् । उनलाई साइकलवाली भनेर चिनिन्छ । लैङ्गिक हिंसाविरुद्ध सामाजिक चेतना फैलाउँदै उनी साइकलमा गाउँ-गाउँ डुल्छिन् । उनले पनि निकै सम्मान पाइसकेकी छन् । यसरी साइकलका कारण आफ्नो पहिचान र प्रतिष्ठा बढाउने खोज्दै जाने हो भने धेरै महिला भेट्न सकिन्छ ।