अन्तर्राष्ट्रिय खेलाडीको जमघटमा पोखरामा पाँचौँ पटक आइटीएफ टेनिस हुँदै

अन्तर्राष्ट्रिय खेलाडीको जमघटमा पोखरामा पाँचौँ पटक आइटीएफ टेनिस हुँदै


आगामी सोमबारदेखि पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर-५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लिन विभिन्न १० राष्ट्रका सयबढि टेनिस खेलाडीहरू पोखरा आइपुगेका छन् ।

आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पूरा भएको जनाकारी गराएको छ ।

सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरू सहभागी हुनेछन् ।

पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगितामा चाइनिज ताईपेईबाट पाँच जना, दक्षिण कोरियाबाट १० जना, रसियाबाट एक जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना, श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी जम्मा ६४ जना खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।

त्यसैगरी गर्ल्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरीकाबाट २ जना, दक्षिण कोरीयाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना गर्ल्स खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

संघ कास्कीका कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले पोखरामा यो प्रतियोगिता पाँचौ पटक आयोजना हुन लागेको जानकारी दिंदै यसले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गरे । प्रतियोगितामा अनुमानित कूल आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने बाँस्तोलाको भनाइ छ । पोखरा महानगरपालिकाले प्रवर्द्धकका रुपमा ५ लाख सहयोग गरेको छ ।

प्रतियोगितामा सिंगल्सतर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन् भने डवल्स प्रतियोगिता तर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ पोईण्ट, रनरअपले ४.५ पोईण्ट, सेकेण्ड रनरअपले २.२५ पोईण्ट, क्वाटर फाईनलिष्टले १.२५ पोईण्ट पाउनेछन । पत्रकार सम्मेलनमा संघ कास्कीका सदस्य भीष्मराज पौडेलले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।