नेपालमा हवाई सेवा

नेपालमा हवाई सेवा


इतिहास

  • सुनिल उलक

भारतको उडिसा प्रान्तमा रहेको मयुरभञ्ज राज्यका राजकुमार प्रदीप चन्द्र भञ्जदेवसँग राजा त्रिभुवनको कान्छी छोरी भारती राज्यलक्ष्मीको कलकत्तामा दरभंगाका राजा कामेश्वर सिंहको पहलमा उनकै महल दरभंगा हाउसमा २००८ माघ २५ गते (सन् १९५२ फेब्रुअरी ८)मा भएको थियो ।

नेपालको राजघराजासँग गाँसिएपछि सम्पन्न र शक्तिशाली राज्यका राजकुमारलाई राजा महेन्द्रले आफ्ना ज्वाइँ प्रदीपचन्द्र भञ्जदेवलाई नेपालमा नीजि विमानसेवा सञ्चालनका लागि अनुरोध गरेका थिए । राणाशासनबाट मुक्त भए पनि देशमा आएको प्रजातन्त्रको राम्रो सदुपयोग त्यसबेलाका नेताहरूले गर्न सकेका थिएनन् । आपसी द्वन्द्वले कुनै पनि सरकार लामो समयसम्म टिक्न पनि सकेका थिएनन् । जसले गर्दा देशको आर्थिक अवस्था सुदृढ हुन सकेको थिएन । यसर्थ, भर्खरै राजा बनेका महेन्द्रले भारतको शक्तिशाली र सम्पन्न राजा प्रतापचन्द्र भञ्जदेवका छोरा राजकुमार प्रदीपचन्द्र भञ्जदेवलाई अनुरोध गरेका थिए ।

राजकुमार मानसिक रूपले तैयार भएपछि राजा महेन्द्रले त्रिपुरेश्वरमा रहेको अतिथिगृहमा राजकुमारलाई बस्ने प्रबन्ध मिलाइ विमानसेवा स्थापनाका लागि विभिन्न अनुष्ठान गर्ने ब्यवस्थासमेत राजा महेन्द्रले मिलाइदिएका थिए । तन्त्रमा विश्वास गर्ने राजकुमारले उडिसाबाट केही तान्त्रिक ल्याएका थिए भने राजा महेन्द्रले काठमाडौंमा रहेका गुभाजुहरूलाई पनि अनुष्ठानका लागि खटाएका थिए ।

श्वेतभैरवको साधना गरी विमान सेवाको शुभारम्भ गरेको हुँदा श्वेतभैरवलाई नै विमानको चिन्हको रूपमा राखियो । साथै मयुरभञ्जको राजकीय परिवारबाट स्थापना भएको हुँदा Royal Nepal Airlines नाम दिइएको विमान कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व थियो भने राजकुमार प्रदिपचन्द्रको ४९ प्रतिशत स्वामित्व थियो । वास्तवमा Royal शब्द उनको राजघरानाका रूपमा राखिएको थियो । तर पछि यो नाम नेपालीकरण गर्दा शाही नेपाल वायुसेवा निगम भयो । नेपालमा डिसी ३ विमान ल्याइयो । पहिलो उडानमा पाइलट थिए- बंगाली बेलायती पाइलट बब डब्लु चाटर (चटर्जी), को-पाइलट थिए- टिएस जान्लट, रेडियो अफिसर पिके सोम तथा परिचारकका रूपमा पुरी नाम गरेका थिए । एयरलाइन्सको जनरल मेनेजर भने राजकुमार प्रदीपचन्द्र भञ्जदेव नै थिए । विमान कम्पनीको विधिवत उद्घाटन २०१५ असार ४ गते रोयल नेपाल एयरलाइन्सको पहिलो ब्यवसायिक उडान पटनाको उडानबाट भएको थियो । दोश्रो उडान असार ५ गते गरेको थियो भने ६ गते भैरहवा र बिराटनगरको दुई उडान गरेको थियो । यसरी रोयल नेपाल एयरलाइन्सको शुरुवात भएको थियो । यसअगाडि पनि विमानले सेवा दिन थालिसकेको थियो ।

यसको करिव एक वर्षपछि देशमा प्रजातान्त्रिक सरकार बन्यो यातायातमन्त्री बने गणेशमान सिंह । गणेशमानकै कार्यकालमा भारतबाट पाइलट पढेर भर्खरै आइपुगेका बद्रीकृष्ण श्रेष्ठले पाइलटका लागि रोयल नेपाल एयरलाइन्समा निवेदन दिन गए । तर जनरल मेनेजर रहेका राजकुमार प्रदीपचन्द्रले अस्विकार गरि फिर्ता पठाए । यो कुरा यातायातमन्त्री रहेका गणेशमान सिंहसम्म पुग्यो । गणेशमानले तत्कालै नियुक्तिका लागि राजकुमारलाई नेपालीमा लेखिएको चिट दिएर पठाए । तर राजकुमार प्रदीपचन्द्रले उल्टै मन्त्रीलाई अंग्रेजीमा अनुवाद गरेर पठाउनु भनेर चिट फर्काइदिए । यसपछि गणेशमानसिंहले रिसाउँदै तत्कालै क्याबिनेटको बैठक बोलाएर नेपाल एयरलाइन्स राष्ट्रियकरण भएको निर्णय गराए । केही दिनपछि राजकुमार प्रदीपचन्द्रलाई नेपाल एयरलाइन्सबाट सदाका लागि छ्ट्टी दिइयो । यसको केही समयपछि अमेरिकी सरकारले अरु तीन वटा विमान नेपाल सरकारलाई नि:शुल्क दियो ।

यसरी लगानी गर्ने समय पैसा नभएर मयुरभञ्जका राजकुमार प्रदीपचन्द्रलाई लगानी गर्न लगाइ रोयल नेपाल एयरलाइन्सको स्थापना गरियो । अन्तमा प्रजातान्त्रिक सरकारका मन्त्रीले पाइलटमा जागीर नदिएको झोंकमा विदेशीले स्थापना गराइदिएको एयरलाइन्सलाई राष्ट्रियकरण गरिदिए ।

अमेरिकी सरकारलाई दोश्रो विश्वयुद्धको समाप्तिपछि आफूसँग रहेको ३००० भन्दा बढी रहेको युद्धकालमा सामग्री ओसार्ने विमान डिसी ३ जहाजलाई के गर्ने भन्ने चिन्ता लाग्न थालेको थियो । अन्तमा ती विमानहरूको ब्यवस्थापनका लागि एउटा योजना अघि बढ्यो जसका अनुसार अमेरिकी सरकारले सस्तोमा र उपहारमा जहाज बेच्न र बाँड्न थाले । कतिपय भारतीय नवधनाड्य तथा राजा-रजौटाहरूले पनि डिसी ३ खरिद गरे । यही डिसी ३ नेपालकै लखेटिएका राणा महाविर शम्शेरले पनि खरिद गरेर नेपालमा हिमालयन एभियशन नामबाट हवाइ यातायात सञ्चालन गरेका थिए ।

त्यस्तै दरभंगामा महाराजा कामेश्वर सिंहले पनि नेपालमा दरभंगा एभिएशन नामबाट हवाइ यातायात चलाएका थिए । नेपालमा पनि नेपालको शाही परिवारको ज्वाइँ (राजकुमारी भारतीका श्रीमान्) तथा भारतको मयुरभञ्जका राजकुमार प्रदीपचन्द्र भञ्जदेवले विमानसेवाको शुरुवात गरिदिएका थिए ।

प्रस्तुत तस्बिरमा देखिएको कुनै दुर्गम गाउँमा भर्खर सञ्चालित ट्रकमा सफर गर्न बाध्य यात्रु होइन । यो त्यही डकोटा विमानभित्रको दृश्य हो । विमानको दुईतर्फ मानिस बस्न मिल्ने बेञ्च झैँ सिट राखिएको छ । बीचमा यात्रुका सामग्रीलाई थुपारेर राखिएको छ । कतै झुण्डिएर यात्रा गर्नुपर्ला भनेर लामो डोरी पनि बाँधिएको छ ।