म पुनर्जन्म चाहन्छु

म पुनर्जन्म चाहन्छु


  • डिल्ली अम्माई / बेल्जियम

जब म जीवनको अन्तिम पलमा हुनेछु
मेरो बोलीबाट शब्द निस्कने छैन
मेरो जीवतत्व मुर्छित हुनेछ
त्यो बखत अप्रिय रोदन,
वा
कोलाहल र आँशु नझारियोस्
मैले सकेसम्म जीवनको समीक्षामा
मैले सकेसम्म दु:खको सम्झनामा
र मेरो कर्मको लेखाजोखामा
उत्रेका दिनहरु,
बिताएका क्षणहरु,
फर्काएर हेर्दै गरेको हुनेछु ।

मृत्यु कम पीडादायी भयो भने
सिथिल शरीरभित्र रहेको
मुर्छित जीवलाई उठाउन खोज्नेछु ।

तर त्यसको कुनै संकेत
मेरा औंलाहरू,
मेरो मुखाकृति र,
मेरो शरीरको कम्पनबाट बुझ्नु
मेरो मृत्युशैयाको सान्निध्यमा
मेरो दयनिय धुकधुकी चल्दाचल्दै
सबै सबै मेरा प्रियजनहरु
वरिपरि बसेर गफ गरुन् ।

तर मेरो मृत्यु तन्द्रालाई
मेरो चीर विश्रामको अवस्थालाई
बिथोल्ने कोशिश नगरुन्
मेरो प्रस्थान यात्रालाई
निराशाले नभरिदिउन्
मेरो सान्निध्यमा रहेका मित्रहरु
जीवनको सार्थकतामा
कर्मको उपादेयतामा
अन्तिम समीक्षामा
सहयोगी बनिदिउन्।
अनन्त विश्रामपछिको
समयको चापको मुक्तिपछिको
मेरो साकार पंचामहाभुत तत्व
पुन: जन्मेको हेर्ने इच्छा भए
मेरो अन्तिम स्वासको समाप्तिपछि
अर्थात् म निर्जीव भैसकेपछि
मेरो बारीको बीचमा
वा मेरो धरतीको एक अझक कुनामा
जिउभरिको नापोमा
एक गहिरो खाडल खानियोस्
उर्वर मलको ओच्छ्यान बनाएर
मलाई रसिलो माटोले छोपी
लामो आयु भएको रुख रोपियोस्
शिशु बिरुवालाई जलधाराले
मेरो नामबाट तर्पण गरियोस्
त्यो जल तर्पणले
बिरुवामा मेरो स्वास फर्कने छ
क्रमश: मेरो स्वास बढ्ने छ
मेरो आङ्ग तन्किने छ
पातहरुबाट प्राण संचार हुने छ
सबै जिवात्माको अन्तरहृदयमा
रक्तनालिका हुँदै
मेरो स्वास दौडिने छ
मेरा हरेक अंगबाट झरेका
पाँच तत्वहरु
त्यहि रुखमा फैलिने छ
मेरो शरीरमा रुख उभिने छ
रुखको जीवन रहेसम्म
मेरो स्मरण भैरहने छ
रुखभित्र मेरा जीवकोषहरु
हरिया हुँदै आकाशभरि
हावा बनेर फैलिने छन्
जमिन ढाकेर छायाले
शितलताको बौछार गर्नेछ।
मेरा सबै अंगहरु रुपमा अलग
तर तत्वमा उही रहने छन्
मेरो छायामुनि प्रेम फरक
तर शितलता उही रहने छ
मरो शरीरभरि प्राण उही
तर नाम फरक हुनेछ।
आफन्तहरु,
असहज होला कायाको संस्कार
आफन्तका क्रियाकर्मप्रतिको रुचि
मलामीका अपेच्छाहरु रोलान्
तर मेरो मृत्यु मैले चाहेको छैन
हरियालीको रुपमा पुनर्जन्म चाहेको छु
मेरो प्रेम धर्तिप्रतिको माया
सद्भाव र कर्तब्य
मृत्युपर्यन्त बाँकी छ जस्तो लाग्छ
त्यसैले म खरानीको सट्टा माटो बन्न चाहन्छु
मरुभूमिको सट्टा हरियाली चाहन्छु
फरक रुपमा पुनर्जन्म र
बोधिवृक्षको रुपमा अर्को जीवन चाहन्छु
मेरा बिजहरुले डाँडाकाँडा ढाकेको
विशाल वृक्षको शिरबाट हेर्न चाहन्छु
मैले पिपल बनेर संसारभरी
प्राणवायुको बौछार गर्न चाहन्छु,
मैले धरतीको लामो आयु चाहन्छु,
त्यसमा समस्त जीवात्मा खेलेको हेर्न चाहन्छु,
र संसारभर हरियाली चाहन्छु।