जापानमा नेपाली महिलाको हत्या अभियोगमा आचार्य पक्राउ

जापानमा नेपाली महिलाको हत्या अभियोगमा आचार्य पक्राउ


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको गुन्मा प्रिफेक्चरमा बस्ने ४२ वर्षीया नेपाली महिलाको हत्यामा संलग्न भएको आशंकामा गुन्मा प्रहरीले बिहीबार (१७ तारिख) एक ३७ वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ।

खबरमा उल्लेख भएअनुसार गुन्मा प्रिफेक्चरको इसेसाकी शहरकै एक कम्पनीमा कार्यरत रहेका नेपाली नागरिक ३७ वर्षीय विश्वराज आचार्यलाई हिजो राति इसाकी शहरबाट पक्राउ गरिएको हो ।

ती व्यक्तिलाई यहि १६ नोभेम्बर राति जापानको गुन्मा प्रिफेक्चरको इसेशाकी शहरमा बस्ने ४२ वर्षीया लक्ष्मीकुमारी बस्नेत अधिकारीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आशंकामा अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

ती व्यक्ति मृतकको चिनजानका व्यक्ति भएको र हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा पक्राउ गरिएको हो । यद्यपि उनले प्रहरीसँगको बयान आफूले उक्त हत्याको घटना नघटाएको बताएको उल्लेख गरिएको छ ।

रगताम्य अवस्थामा अस्पत्ताल पुर्‍याइएको लक्ष्मीको १६ तारिखमा नै अस्पत्तालमा मृत्यु भएको थियो । श्रीमानसँगै बस्दै आएकी उनलाई अन्य कुनै तेस्रो व्यक्तिले के कति कारण हत्या गर्‍यो भन्नेबारे भने अझै अनुसन्धानकै क्रममा रहेको छ ।