बनाउँदै गरेको बम विष्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

बनाउँदै गरेको बम विष्फोट, विप्लवका दुई कार्यकर्ता घाइते


नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो । सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोटन भएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो । स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए । प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ ।