प्रचण्ड सहभागी हुने चुनावीसभा नजिक बम विस्फोट

प्रचण्ड सहभागी हुने चुनावीसभा नजिक बम विस्फोट


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी हुने चुनावीसभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थलनजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

बिस्फोटमा परेर भोजपुर चरंविका सुमन श्रेष्ठ घाइते भएका छन् । बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो ।

‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।