राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड

राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड


चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । कांग्रेस नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजनजिक रेडक्रस चोकमा बुधबार तोडफोड भएको हो ।

उनको बा३च २०५० नं को गाडीमा इँटा प्रहार भएको हो । सँगै रहेको प्रदेश ३–०१–२४ च ९०६१ नंको गाडीमा समेत इँटा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकलमा चढेर आएका ५/६ जनाको समूहले इँटा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

दुवै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । श्रेष्ठको गाडीको भाइजरसमेत फुटेको छ ।

गाडीमाथि आक्रमण निर्वाचन बहिष्कार समूहबाट भएको आशङ्कामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले बताए ।