‘काठमाडौं ९’ का स्वतन्त्र उम्मेदवार पाठकमाथि सांघातिक आक्रमण

‘काठमाडौं ९’ का स्वतन्त्र उम्मेदवार पाठकमाथि सांघातिक आक्रमण


मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रप्रसाद पाठकमाथि सांघातिक हमला भएको छ ।

मंगलबार राति ११ बजे चुनावी घरदैलो तथा प्रचारप्रसार गरी निवासतर्फ फर्किंदै गर्दा कीर्तिपुर वागभैरव नजिक तीन-चार जनाको अज्ञात समूहले उम्मेदवार पाठकमाथि सांघातिक आक्रमण गरेका हुन् । आक्रमणलगत्तै आक्रमणकारीहरु भागेका र लाठी प्रहारका कारण आफू घाइते भएको उनले जानकारी दिएका छन् ।

खर्पन बोकेको मान्छे चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनको मैदानमा होमिएका पाठकले काठमाडौं ९ मा आफ्नो प्रभाव बढाउँदै लगेका छन् । नेपाली कांग्रेसका पूर्व कार्यकर्ता रहेका राजेन्द्र पाठक कांग्रेस नेतृत्वले आफ्नो विचार, सिद्धान्त छोडेर माओवादीको पथमा हिँडेपछि साढे तीन दशक सो पार्टीमा गरेको समस्त लगानी परित्याग गरी स्वतन्त्र बनेका हुन् ।

कानुन व्यवसायीसमेत रहेका पाठक लेखन, पत्रकारिताका साथै सामाजिक सेवामा समेत जुझारु ढंगले लागिपरेका युवा हुन् । चुनावी मैदानमा उनको प्रभाव बढ्दै गएपछि प्रतिद्वन्द्वी समूहबाट सांघातिक आक्रमण गराइएको हुन सक्ने अनुमान गरिएको छ ।