‘स्वदेशको अन्तिम प्रलय’

‘स्वदेशको अन्तिम प्रलय’


  • पुरुषोत्तम ढकाल

गएको निर्वाचनको साक्षी म
भएको निर्वाचन पनि देखेँ
धेरै वर्षपछि
उम्मेदवारी किनेको पनि देखेँ
बिक्रीमा कार्यकर्ता र मतको लिलाम बढाबढ पनि देखेँ
राजतन्त्र सकियो भन्थे
टोलका गुण्डाहरू राजाको भेषमा
धिक्कार छ मेरो स्वदेशलाई
दानवहरू मतदानबाट नेपाल आइडल हुने
मेरो स्वदेशको निर्वाचनमा
यसपटक, म फड्के किनारको साक्षी छैन ।

हिजो पनि हामी बेइमान थियौँ
चिनिया घुमन्ते दार्शनिकले भनेजस्तै
भारतवर्षमा बंश सखाप हुँदा
पहाडतिर भागेका हामी
बंशनास गर्नेका सन्तानलाई राजा भन्थ्यौँ
मनमौजी गुलामीमा रमाउने हामी
मीनाबजारमा किशोरी छोरी बेचेर
खानलाई शाह भन्दै
राजाको जय-जय गाउने हामी
लुट्छौँ आफ्नै स्वाभिमान
र सेरिएर फकल्याण्डको टापुमा
नाति जलपको एक चिर्कटो भिरेर
सलाम ठोक्छ, वसुधैव कुटुम्बकम् नासेर मेरो स्वदेश ।

स्वदेश अचेल
हिमाल, पहाड र तराइको भूगोलसँगै
मनहरूमा बाँडिएको छ
भेष, भुषा र भाषामा भाँडिएको छ
यो पुस्ता यसरी नै बित्ने भो
सपना पनि नेदेखेरै बित्ने भो
म फर्किनु नफर्किनु के अर्थ रह्यो र ?
धर्ति चिरेर कित्ताकाट गर्दा पनि भोकोपेटका
मेरो स्वदेशका बन्धुहरू
दिनदहाडै, मेरो आँखाकै सामुन्ने
मतको मूल्य रुपियाँ माग्छौ
तरुण तन्नेरीहरू
लाग्छ तिमीहरू अपाङ्ग हौ
सिंहदरबारलाई धिक्कार्दै
मासुभात डकारेर
छोटेराजाहरूसँग एक लिटर तेल माग्छौ
धिक्कार छ बन्धुहरू हो
नौजवान भनौँ जिउँदो लास
तिमीहरू अचेल स्वतन्त्र शब्दको नाउँमा
एक प्याला मदिराको भाग पाउन
एक थाल मासुभात हत्केलोले मुछ्न
र एउटा नदीको प्रकृति दोहन गर्न
विद्रोह गर्दै पेट्रोल पम्प धाउँछौ रे
स्वदेशको अन्तिम प्रलय निम्त्याउँदै ।

पक्का हो, निर्धक्क भन्न सक्छु म
प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो
तर मदिरामा मग्न मस्त लठेब्रोको नाउँमा
प्रजातन्त्रको मेरुदण्ड
एउटा जहाँनियाको रगत बोकेकी दुर्मुखाले
सुम्सुम्याउँदै गला, स्वतन्त्रताको गीत गाउनु,
एउटा बगरेले मान्छे छप्काएको
झल्झली याद आउँछ
आज पनि त्यो जल्लादलाई
अनुमोदन गर्ने चुनावमा
मन्त्रमुग्ध मेरो स्वदेश
गाइजात्रे प्रहसन हो, जस्तो यसपटकको निर्वाचन ।

(र, अन्त्यमा चुनावको चटारोमा पनि, सम्झेको छु भन्दिनु है, आइफोनसंग सुटुक्क लिभिग टुगेदर सौदागर सुन्दरी सखीलाई, करोड चन्दा दानमा उम्मेदवारी बक्सिने नेता अलिकति अभिनेतालाई, तपाईंको हकभोग हो, अलिकति हेर्नुपर्‍यो भन्नुहुने, मालपोते महोदयहरूलाई र केही थान हजार खामको नोटसहित देशीमल र गिट्टी-बालुवामा बिक्री हुने छिमेकीहरूलाई)

  • क्यालिफोर्निया, संयुक्तराज्य अमेरिका