यातायात व्यवसायीलाई पीडित पार्नेले प्रहरीको छवि बिगारे

यातायात व्यवसायीलाई पीडित पार्नेले प्रहरीको छवि बिगारे


‘सत्य सेवा सुरक्षणम्’, ‘मुस्कानसहितको प्रहरी’ जस्ता आदर्श वाक्य नेपाल प्रहरीको सन्दर्भमा निकै लोभलाग्दो शब्द हो । प्रहरीले जनताको सेवा राम्रोसँग गरुन् र जनमानसमा नेपाल प्रहरीको छवि स्वच्छ र सुन्दर बनोस् भन्ने हेतूले यी आदर्श वाक्यको परिकल्पना गरिएको हुनुपर्छ । तर, बालाजुको बसपार्कमा कार्यरत ट्राफिक इन्सपेक्टर सन्तोष श्रेष्ठ जस्ता प्रहरी अधिकृतको रवैयाका कारण नेपाल प्रहरीको छविमा धब्बा लाग्नुबाट रोक्न सम्भवत: कसैले सक्दैन ।

काठमाडौंको माछापोखरी चोकमा रोव-रवाफका साथ उपस्थित हुँदै इन्सपेक्टर श्रेष्ठले पैसाको लागि कस्तोसम्म हर्कत गर्छन् भने खासगरी यातायात व्यवसायीहरू उनको व्यवहारका कारण पीडित र आश्चर्यचकित बनेका छन् । ट्राफिक प्रहरीले अनधिकृत पैसा उठाएर अनावश्यक दु:ख दिन्छन् भनेर व्यापक गुनासो आउनु र समग्र रूपमा प्रहरीको आलोचना हुनुमा सन्तोष श्रेष्ठ जस्ता पात्रका कारण रहेछ भन्ने कुराको पुष्टि भएको छ ।

बालाजुस्थित माछापोखरीमा सडकभन्दा बाहिर एकतिर जमिन भाडामा लिएर धादिङ जाने बसको टिकट काउण्टर राखिएको छ भने वारिपट्टि सडकमा नुवाकोटको काउण्टर रहेको छ । धादिङको काउण्टर ब्यवस्थित रूपमा जग्गा भाडामा लिएर गाडीहरू पार्किङ गर्ने गरिए पनि नुवाकोटका गाडीहरू सडकपेटीमै रोकिने गरेका छन् । इन्सपेक्टर श्रेष्ठले अनधिकृत ‘नजराना’ बुझ्ने गरेकै कारण सडकपेटीमा रोकिने नुवाकोटको गाडी सहज रूपमा सञ्चालन हुन दिन्छन् भने धादिङको काउण्टर यातायात व्यवसायीहरू स्वयमले ब्यवस्थित रूपमा राखेका कारण प्रहरीलाई महिनावारी बुझाउँदैनन् । महिनावारी रकम नआउने भएकैले पार्किङभित्र पस्दै गरेका र सडकपेटीभन्दा तलको भित्र ट्र्याकमा राखेका धादिङको गाडीलाई ‘कारवाही’ गर्ने र रोडमै राखिएका नुवाकोटका गाडीलाई छुट दिने गरिएको छ ।

‘यस्तो पक्षपात किन ?’ भनी सडकमा उभिएका ट्राफिक प्रहरीसमक्ष प्रश्न राख्दा ‘आफूसँग भनेर नहुने बरु इन्सपेक्टरसँग भनेर कुरा मिलाउनुपर्ने’ जवाफ दिन्छन् । यसरी इन्सपेक्टर श्रेष्ठका कारण पीडित बनेका यातायात व्यवसायीको मर्का कसले बुझ्ने ?

  • पीडित यातायात व्यवसायीहरू