महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड !

महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड !


  • अमर सुनार, दैलेख

कार्यस्थलमा महिनावारी हुँदा सरसफाइ सजिलोको लागि महिला म्यादी प्रहरीलाई दैलेख प्रहरीले सेनेटरी प्याड वितरण गरिएको छ ।

गएको स्थानीय निर्वाचनमा असजिलो भोगेको भन्ने गुनासोको आधारमा यस पटक प्रवन्ध गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताउनुभयो ।

दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरी समेत तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इञ्चार्ज असई सुशीला भुसालले जानकारी दिनुभयो ।

‘अघिल्लो निर्वाचनमा महिला म्यादी प्रहरीहरुले फिल्डमा गएको बेला महिनावारी भएकाहरुले कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गर्‍यौँ’ असई भूसालले सुनाउनुभयो ।

कार्यस्थलमा खटिएको महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको सानो काम सहयोग भावनात्मक हिसावले ठूलो सहयोग हो महिला सशक्तिकरण मञ्च दैलेखका पूर्व अध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिनुभयो ।

निर्वाचनको कामले विकट गाउँमा पुगेको बेला महिनावारी हुँदा यी प्याड उपयोगी हुने र यसले महिला म्यादी प्रहरीलाई दत्तचित्तका साथ काममा खट्न मनोसामाजिक सहयोग पुग्ने पूर्व अध्यक्ष चन्दले भन्नुभयो ।

महिला म्यादी प्रहरीहरुलाई कार्यस्थलमा खटिएको बेला सजिलोको लागि दैलेख प्रहरीले दिइएको सेनेटरी प्याड नेपालमै यो पहिलो हो । दैलेख प्रहरीले उच्चतम् मानवीयता देखाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले बताउनुभयो ।