रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो

रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो


  • नारद कोहार, तौलिहवा

कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मंगलबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमबार रातिदेखि नै हजारौँ भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन् ।

रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानका श्रद्धालु समेत आएका थिए । भक्तजनहरू रातभर भजनकीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । रामघाट मेला जिल्लाको सबैभन्दा पुरानो मेला हो ।

त्रेतायगुमा भगवान् राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्बदन्ती छ । रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरू बताउँछन् ।

कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको शिवराज नगरपालिका ११ का राजेन्द्र उपाध्यायले बताउनुभयो ।

प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व बाकेको श्रद्धालु भक्तजनहरू बताउँछन् । कपिलवस्तु नगरपालिका–६ थुम्हवाबाट रामघाट आएका भुत्ता चौहानले यस वर्ष पनि गौ, अन्नपातसहित पैसा दान गर्नुभयो ।

‘हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौँ,’ उहाँले भन्नुभयो ‘बाजे बज्यैको पालादेखिको परम्परालाई कायम राखेका छौँ, जसले गर्दा हामीलाई पारिवारिक शान्ति र सुख मिलेको छ ।’