पार्टीमा व्यक्तिवाद हाबी भएको भन्दै लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्रीले त्यागिन् लोसपा

पार्टीमा व्यक्तिवाद हाबी भएको भन्दै लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्रीले त्यागिन् लोसपा


लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलीय तालमेललाई समर्थन गर्ने बताएकी छन् ।

भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवाद हाबी हुँदा पार्टी परित्याग गर्नुपरेको बताइन् ।

लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रुपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीनदलीय तालमेललाई समर्थन गरेका हुन् ।

तालमेललाई समर्थन गर्ने निर्णय लिएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरन्जन थापाले माला र खादा लगाइ स्वागत गरेका थिए ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त भएकी थिइन् ।

पार्टी परित्याग गरेकी पाण्डेले साम्प्रादायिक र व्यक्तिकेन्द्रित राजनीतिबाट टाढा रहि राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ रहने बताइन् । कुनै क्षेत्र समुदाय र व्यक्तिकेन्द्रितबाट मुक्त भइ आमनागरिकको हकहितमा लाग्ने उनले बताइन् ।